दलहरूले उम्मेदवारको टुंगो लगाउन थालेपछि जिल्लामा चुनावी सरगर्मी पनि बढेको छ ।
जुम्ला — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका पाँच राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन् । उम्मेदवारको टुंगो लागेका दलका उम्मेदवार मनोनयनका लागि जुम्ला आइपुगेका हुन् ।
जिल्लामा क्रियाशील ठूला मानिएका तीन दलका साथै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादीले समेत उम्मेदवारको टुंगो लगाएको हो । नेपाली कांग्रेसले दीपबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । पूर्वजिल्ला सभापतिसमेत रहेका शाहीलाई संसदीय बोर्डले टिकट प्रदान गरेको हो । शाहीले २०७९ को निर्वाचनमा जुम्ला १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिए पनि पछि फिर्ता लिएका थिए ।
नेकपा एमाले जुम्लाले उम्मेदवारका लागि अध्यक्ष शान्तिलाल महतको एकल नाम सिफारिस गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष महतलाई नै टिकट दिए । उनी मनोनयनका लागि सोमबार जुम्ला आइपुगेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पत्रकार मनऋषि धितालको नाम टुंगो लागेको छ ।
नेपाल कम्युनिष्ट पार्टीबाट नरेश भण्डारीले टिकट पाएका छन् । केन्द्रीय सदस्यसमेत रहेका भण्डारीसहितका चार जनाको नाम उम्मेदवारका लागि सिफारिस भएको थियो । तर यहीबीचमा कार्यदलको बैठक बसेर एकल सिफारिस गर्यो । उनी पनि सोमबार जुम्ला पुगिसकेका छन् । उनलाई नेपाली कम्युनिष्ट पार्टीका नेता-कार्यकर्ता स्वागत गर्न विमानस्थल पुगेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले विनीता कठायतलाई मैदानमा उतारेको छ । उनी २०७९ सालमा समानुपातिक सांसद समेत हुन् । नेकपा माओवादीका बिर्खबहादुर शाहीले टिकट पाएका छन् । दलहरूले उम्मेदवारको टुंगो लगाउन थालेपछि जिल्लामा चुनावी सरगर्मी पनि बढेको छ ।
