अध्यक्ष ओलीलाई उम्मेदवार छनोटको समीक्षा हुनुपर्छ भनेको छु : उपमहासचिव भट्टराई

'अध्यक्ष तपाई यो पार्टीको नेता हो, हामी सबैको सम्मानित नेता हो । तपाईले विशाल छाती बनाउनुस्, यतिबेला महाधिवेशनमा मलाई सहयोग गरे कि गरेन भन्ने आधारमा पक्कै पनि तपाई उभिनु हुनेछैन ।'

माघ ५, २०८२

कान्तिपुर संवाददाता

I have told Chairman Oli that candidate selection should be reviewed: Deputy Secretary General Bhattarai

What you should know

काठमाडौँ — एमाले उपमहासचिव योगेश भट्टराईले आसन्न प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार चयन गर्दा न्यायसंगत भयो कि भएन भन्नबारे समीक्षा हुनुपर्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार चयनबारे प्रतिनिधिसभा चुनावपछि समीक्षा गर्नुपर्ने माग गरेको उनले बताएका छन् । 

उपमहासचिव भट्टराईले सोमबार एक भिडियो सन्देश जारी गर्दै टिकट वितरणबारे समीक्षाको माग गरेको बताए । तर त्यो समीक्षा भने चुनाव पछि हुनुपर्ने उनको भनाइ छ ।

पार्टी अध्यक्ष केपी ओलीलाई भन्न चाहन्छु- आज पनि १६५ वटा निर्वाचन क्षेत्रमध्ये केहि क्षेत्रमा अहिले पनि उम्मेदवारहरूलाई मिलाउन सकिन्छ भने मिलाउनुस् ।'मैले पार्टी केन्द्रीय सचिवालयको बैठकमा उम्मेद्वारको छनोट सम्बन्धमा केहि फरक धारणा राखेको छु । त्यो फरक मतको रुपमा पनि दर्ता गरेको छु । आज म त्यस विषयमा चर्चा गर्न चाहन्न किनकि त्यसको अध्याय समाप्त भइसकेको छ । ती मैले राखेका फरक मतहरु कति ठीक छन् कति बेठीक छन्, त्यो आज समीक्षाको विषय अब होइन र म पनि त्यसलाई प्रमुख छलफलको विषय बनाउन चाहन्नँ । ती विषयहरु अब फागुन २१ पछि जब एमालेले सरकार बनाउँछ, एमालेको नेतृत्वमा हामी सशक्त ढंगले अगाडि बढ्छौं, त्यसपछि ठण्डा दिमागले त्यसको समीक्षा हुनुपर्दछ,' भट्टराईले भनेका छन्, 'मैले पार्टी अध्यक्षलाई भनेको छु कि त्यसको समीक्षा हुनुपर्छ । हामीले उम्मेदवार छनोट गर्दा न्यायसंगत ढंगले गर्यौ कि गरेनौं ? मापदण्डहरू बनायौ कि बनाएनौं ? जित्ने, लोकप्रिय, पार्टीप्रति निष्ठावान उम्मेद्वार दियौ कि दिएनौ ? यसको समीक्षा निर्वाचन पछि गरौंला ।'

पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने पनि भट्टराईको आग्रह छ । फरक मत हुँदा पनि पार्टीले अगाडि सारेका उम्मेदवारहरूलाई जिताउनका लागि पार्टीका नेता र कार्यकर्ताले लाग्नुपर्ने उनको भनाइ छ । 'म यतिबेला देशभरिका साथीहरूलाई कसले उम्मेदवारीको टिकट पाउनुभयो, कसले पाउनु भएन अब यो बहसलाई बन्द गरौं भन्न चाहन्छु । जे भयो सार्वजनिक भइसकेको छ । अब उहाँहरू हामी सबैको एमालेको उम्मेद्वार हो,' उनले भने ।

उम्मेदवारको टिकट अझै पनि परिवर्तन गर्न सकिने बताउँदै उपमहासचिव भट्टराईले अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । 'पार्टी अध्यक्ष केपी ओलीलाई भन्न चाहन्छु- आज पनि १६५ वटा निर्वाचन क्षेत्र मध्ये केहि क्षेत्रमा अहिले पनि उम्मेदवारहरूलाई मिलाउन सकिन्छ भने मिलाउनुस् । मैले मेरो लागि मागेको छैन । म स्पष्ट भइसके कि म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिए, तर पार्टी अध्यक्षले सार्वजनिक ढंगले निर्णय गरेर पठाइसकेपछि अब म त्यसमा कुनै किचलो गर्नेवाला छैन । उहाँले जसलाई उम्मेद्वार दिएर पठाउनु भएको छ, एमालेको सूर्य चिह्न ध्वजाबाहक ताप्लेजुङबाट उहाँलाई जिताउनु मेरो कर्तव्य हुन्छ म त्यसमा दृढताका साथ अघि बढ्छु,' भट्टराईको भनाइ छ, 'कतिपय ठाउँहरुमा साथीहरू माथि अलिकति न्याय भएन कि भन्ने गुनासो आएको छ । स्थानीय पार्टी कार्यकर्ताको समर्थकहरूको भावना बुझिएन कि भन्ने कुरा आएको छ । मैले देखे सचिवालयको बैठक पछाडि पनि दर्जनौ ठाउँमा उम्मेद्वार परिवर्तन भएको छ । त्यसकारण यो अन्तिम अवसरमा पनि म अध्यक्ष कमरेड केपी ओलीलाई भन्न चाहन्छु- देशभरिका यस्ता सात आठ वटा निर्वाचन क्षेत्र मैले देखिराख्या छु, त्यहाँ देखादेखि हाम्रो पार्टी कमजोर हुने हो कि भन्ने आशंका पैदा भएको छ ।'

अध्यक्ष ओलीले निष्पक्ष भएर टिकट वितरण गर्नुपर्ने भट्टराईको भनाइ छ । 'अध्यक्ष तपाई यो पार्टीको नेता हो, हामी सबैको सम्मानित नेता हो । तपाईले विशाल छाती बनाउनुस्, यतिबेला महाधिवेशनमा मलाई सहयोग गरे कि गरेन भन्ने आधारमा पक्कै पनि तपाई उभिनु हुनेछैन । यतिबेला एमाले जित्छ कि जित्दैन भन्ने नै मिसन हो । देशभरका सात आठ- नौ- दश वटा जति निर्वाचन क्षेत्रमा भोलि बिहानसम्म पनि मिल्छ भने उपयुक्त ढंगले उम्मेदवार प्रस्तुत गर्ने काममा म अध्यक्षको ध्यानाकर्षण गर्न चाहन्छु,' उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully