बैतडी कांग्रेसबाट क्यान अध्यक्ष चन्द उम्मेदवार

चतुरबहादुर चन्द संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार हुन लागेका हुन् ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

CAN President Chand is a candidate from Baitadi Congress.

बैतडी — नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।

कांग्रेस जिल्ला सभापति रहेका चन्द बैतडीबाट उम्मेदवार तय भएका हुन् । उनी टिकट लिएर सोमबार जिल्ला पुगेका छन् । 

पूर्वशिक्षकसमेत रहेका चन्द संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार हुन लागेका हुन् । 

शिक्षण पेसासँगै क्रिकेटको विकासमा सक्रिय रहेका चन्द २०७४ मा शिक्षकबाट अवकास लिएर सक्रिय राजनीतिमा आएका थिए । नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष हुँदादेखि उनी जिल्लाको राजनीतिमा प्रभाव राख्दै आएका छन् । 

यसपालि बैतडीमा एमालेबाट लगातार तीन पटक निर्वाचन जित्दै आएका पूर्वमन्त्री दामोदर भण्डारी, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वजिविस सभापति तथा एमाले बैतडीका संस्थापक रहेका परमानन्द भट्ट, रास्वपाबाट गत निर्वाचनमा प्रदेशसभा सदस्यमा स्वतन्त्र उठेका हरिमोहन भण्डारीलगायतले उम्मेदवारी दिने तय भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully