कांग्रेसका ११ नेता जसले उम्मेदवार नहुने घोषणा गरे

कांग्रेसका केही नेताहरुले जे–जी आन्दोलनको एजेन्डा र पुस्तान्तरणका लागि भन्दै आफू उम्मेदवार नहुने घोषणा गरेका छन् । हालसम्म नेपाली कांग्रेसका ११ नेताहरुले आफू प्रतिनिधिसभाको निर्वाचनमा सरिक नहुने र जेन–जी युवाहरुलाई अवसर दिने घोषणा गरेका छन् ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

11 Congress leaders who announced they would not run

काठमाडौँ — नेपाली कांग्रेस फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार टुंग्याउने अन्तिम कसरतमा छ । अन्य दलहरुले प्रत्यक्षतर्फ उम्मेदवार हुने व्यक्तिहरुको नाम टुंग्याएर निर्वाचन क्षेत्रमा पुगे पनि कांग्रेस भने आन्तरिक विवादमा कारण छलफलमै रहेको हो । विशेष महाधिवेशन पक्ष र देउवा पक्षमा विभाजित भएको कांग्रेस एक ढिक्का भएर निर्वाचनमा जाने तयारी पनि गरिरहेको छ । यसकै लागि संसदीय बोर्डको बैठक बोलाइएको छ ।

साझा उम्मेदवार तय गर्न आइतबार रातिहदेखि कांग्रेसका थापा पक्ष, देउवा र शेखर कोइराला पक्षका नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् । पार्टी यसरी छलफलमा जुटिरहँदा कांग्रेसका केही नेताहरुले भने भदौ २३ र २४ गते भएको जे–जी आन्दोलनको एजेन्डा र पुस्तान्तरणका लागि भन्दै आफू उम्मेदवार नहुने घोषणा गरेका छन् । हालसम्म नेपाली कांग्रेसका ११ नेताहरुले आफू प्रतिनिधिसभाको निर्वाचनमा सरिक नहुने र जेन–जी युवाहरुलाई अवसर दिने घोषणा गरेका छन् ।

विश्वप्रकाश शर्मा

यसरी घोषणा गर्नेमा पहिलो नम्बरमा पर्छन् उपसभापति विश्वप्रकाश शर्मा । विशेष महाधिवशेनवाट पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका शर्माले पुस १० गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै आफू उम्मेदवार नहुने सार्वजनिक घोषणा गरेका थिए । उनले तीन पटकसम्म उम्मेदवार भइसकेको भन्दै अब नहुने जानकारी आफ्नो क्षेत्रमा गराएको घोषणा गरेका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा शर्माले एमालेका अग्नि खरेललाई पराजित गरेका थिए । शर्माले ३९ हजार ६ सय २४ मत ल्याएका थिए भने प्रतिस्पर्धी खरेलले २५ हजार ३ सय ४९ मत ल्याएका थिए ।

राजेन्द्रकुमार केसी  

काठमाडौं क्षेत्र नम्बर १० बाट लगातार तीन पटकसम्म निर्वाचन जितेका राजेन्द्रकुमार केसीले पनि आफू यस पटक निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरे । पूर्वमन्त्री तथा तत्कालीन संसद्का सदस्य रहेका कीर्तिपुर निवासी राजन केसी(६७)ले कुनै समय नेकपामा संयोजक पुष्पकमल दाहाललाई पनि पराजित गरेका थिए । ०६४ बाट संसदीय राजनीतिका लागि चुनावी मैदानमा उत्रिएका केसीले भने आफू प्रत्यक्षतर्फ मात्रै नभएर राष्ट्रिय सभा, समानुपातिक कतै पनि र कहिल्यै पनि चुनावी मैदानमा नउत्रिने बताए ।

२०७९ मा भएको निर्वाचनमा केसीले १४ हजार ४ सय ६३ मत ल्याएर जितेका थिए  । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७ सय ९१ मत ल्याएका थिए । 

पूर्णबहादुर खड्का

कांग्रेसका निवर्तमान कार्यवाहक सभापति रहेका पूर्णबहादुर खड्का पनि २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार नहुने भएका छन् । विशेष महाधिवेशनपछि शेरबहादुर देउवा पक्षमा उभिएर निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म पुगेका उनी यस पटक उम्मेदवार नहुने भएका हुन् ।

रुख चुनाव चिह्नबाहेक सोच्न र कल्पना पनि गर्न नसक्ने भन्दै उनले नयाँ पार्टी खोल्ने वा स्वतन्त्र उमेदवारको रुपमा नउठ्ने भन्दै पार्टीका सबै साथीहरू, शुभेच्छुकहरु र  मतदाताहरुमा अनुरोध गरेका छन् । २०७९ सालको निर्वाचनमा उनी सुर्खेत १ बाट विजयी भएका थिए । सुर्खेत १ मा उनले ४२ हजार ६ सय ७ मत ल्याउँदै जित हात पारेका थिए भने उनका प्रतिस्पर्धी एमालेका धुव्रकुमार शाहीले ३० हजार ९ सय ८८ मत पाएका थिए ।  

रामनाथ अधिकारी

धादिङबाट निर्वाचन लड्दै आएका रामनाथ अधिकारीले पनि यस पटक आफू उम्मेदवार नहुने घोषणा गरेका छन् । धादिङ क्षेत्र नम्बर–२ क्षेत्रीय कार्यसमितिको बैठकमा उनले २१ फागुनका लागि हुने निर्वाचनका लागि आफ्नो दाबी नरहने घोषणा गर्दै जेन–जीको भावाना सम्बोधन गर्ने साथीहरुले तयारी गर्नुस् भनेका थिए ।

कृषि तथा पशुपन्छी विकासमन्त्रीसमेत भएका अधिकारीले ६४ वर्षमै यस्तो घोषणा गरेका थिए । २०७९ को निर्वाचनमा उनले एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेर प्रतिनिधिसभामा निर्वाचित भएका थिए । अधिकारीले ३४ हजार ७ सय ३६ मत ल्याएका थिए भने लोहनीले २४ हजार १ सय ९० मत ल्याएका थिए ।

दिलेन्द्रप्रसाद बडू

कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले पनि आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उनले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेको पत्र जिल्ला कार्य समितिमा पठाएका थिए ।

मंसिर २५ र २६ मा बसेको कांग्रेस जिल्ला कार्य समिति दार्चुलाको बैठकले नेता बडूलाई सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा एकल सिफारिस गरेको थियो । तर बडूले बैठकमा मुलुकको विकसित राजनीतिक परिस्थिति र विशेषगरी भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र प्रदर्शनले सिर्जना गरेको राजनीतिक तथा सामाजिक अवस्थाका कारण आफू उम्मेदवार नबन्ने इच्छा राखेका थिए ।

मंसिर २५ र २६ गते बसेको जिल्ला कार्य समिति बैठकमा पूर्वमन्त्रीसमेत रहेका नेता बडूले आफू चुनावमा उठ्ने मनसाय नभएको भन्दै नयाँलाई पालो दिने बताएका थिए । बडूले पुस २२ गते चुनाव नलड्नेसम्बन्धी पत्र बुझाएकामा २४ गते दर्ता गरिएको थियो ।  २०७९ को निर्वाचनमा बडु २८ हजार ५ सय १५ मत ल्याउँदै विजयी भएका थिए । उनले एमालेका गणेशसिंह ठगुन्नालाई पराजित गरेका थिए ।

हृदयराम थानी

हृदयराम थानीले पनि भदौ २३ र २४ को जेन–जी आन्दोलनपश्चात मुलुक थुप्रै अप्रत्यासित राजनीतिक घटनाक्रम भएको भन्दै उम्मेदवार नहुने घोषणा गरे । चुनाव नलड्ने घोषणामा भने उनले स्वास्थ्यको कारण भनेका छन् ।

‘मेरो प्रतिकूल स्वास्थ्य अवस्थाको कारण यही माघ ६ गते रहेको मनोनयन दर्तामा उपस्थित र तत्पश्चात सक्रिय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु,’ उनले सूचना नै निकालेर भनेका छन् । उनको नाम सुर्खेत क्षेत्र नम्बर २ सिफारिस भएको थियो ।

करिब २ महिनादेखि खुट्टामा देखिएको नसासम्बन्धी समस्याले गर्दा सहजरुपमा हिँडडुल गर्न समेत नसकिरहेको उल्लेख गर्दै यस्तो घोषणा गरे ।

६५ वर्षीय थानी २०५६ सालमै संघीय सांसद भइसकेका थिए । २०५६ मा प्रतिनिधिसभा सदस्य भएका उनी ३४ हजार ६ सय २५ मत ल्याएर जितेका थिए । उनले एमालेका अमृतबहादुर बुढा क्षेत्रीलाई पराजित गरेका थिए ।

उनी २०७० मा संविधान सभा सदस्य भएका थिए । २०७९ मा पनि प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०४३ देखि २०४८ सम्म नेपाल विद्यार्थी संघ केन्द्रीय समिति उपाध्यक्ष भएर काम गरे । २०५९ देखि २०६१ सम्म कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतको सभापति भएका थिए ।

१३ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य भएका थिए ।  

बलबहादुर केसी

नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पनि आसन्न प्रतिनिधिसभाको चुनावमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोलुखुम्बुबाट जिल्ला समितिले प्रत्यक्षतर्फ १ नम्बरमा सिफारिस गरेका नेता केसीले चुनाव नलड्ने घोषणा गरेका हुन् ।

२०४८ सालदेखि निरन्तर सोलुखुम्बुबाट चुनाव लड्दै आएका केसीले ४ वटा चुनाव जितेका छन् भने ३ वटामा हार बेहोरेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी एमाले नेता मानवीर राईसँग पराजित भएका थिए । राईले १९ हजार ३ सय २४ मत ल्याउँदा केसीले १६ हजार ५ सय ४५ मत ल्याएका थिए । कांग्रेसभित्र विवाद देखिएपछि उनले आफू 'रुख र चारतारे झन्डा जता छ त्यतै लाग्ने' बताएका थिए भने हालै उम्मेदवार नहुने घोषणा पनि गरेका थिए ।

पटकपटक मन्त्री भइसकेका कांग्रेसका प्रभावशाली नेता केसीले चुनाव नलड्ने घोषणा गरेसँगै सोलुखुम्बुमा नयाँ उम्मेदवारका लागि मार्गप्रशस्त भएको छ ।

नारायण खड्का

पूर्व परराष्ट्रमन्त्रीसमेत भएका नारायण खड्काले पनि आफू उम्मेदवार नहुने घोषणा गरेका छन् । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका खड्काले उम्मेदवार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध पनि गरेका थिए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा प्रस्तावित उम्मेदवारहरूको सूचीमा परेका खड्काले आफ्नो नाम हटाउन भनेका थिए ।

‘नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य २०८२ को लागि उम्मेदवारहरूको प्रस्तावित सिफारिस सूचीमा मेरो पनि नाम राखिएकोमा मेरो नाम सो सूचीबाट हटाइदिनु हुनका लागि केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई मेरो यो पत्रको जानकारी गराई दिनहुन अनुरोध गर्दछु,’ खड्काले सार्वजनिक रुपमै यस्तो आग्रह गरेका छन् ।

२०५६ को प्रतिनिधिसभामा पहिलोपटक भाग लिएर पराजित भएका खड्का २०६४, २०७०, २०७४ र २०७९ मा जितेर पटकपटक मन्त्रीसमेत भएका छन् । २०७९ मा खड्काले ३१ हजार २ सय ७० मत ल्याउँदै एमालेकी मञ्जुकुमारी चौधरीलाई पराजित गरेका थिए ।

बद्री पाण्डे

नेपाली कांग्रेसका निर्वतमान सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधिसभाको चुनावमा उम्मेदवार नहुने घोषणा गरेका छन् ।

२०७९ सालमा बाजुराबाट ३१ हजार ७ सय ८६ ल्याएर प्रत्यक्षमा निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने भनेपछि उनको नाम नै सिफारिस गरिन् ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय गरेको बताए ।

‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ,’ पाण्डेले भने ।

प्रतिनिधिसभाको प्रत्यक्ष/समानुपातिक एवं राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि इच्छा नभएको पाण्डेले बताए । जेन–जी आन्दोलन हुँदा पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा मन्त्री थिए । सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढंगले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको भएको उनले बताए । सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रिपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।

जिपछिरिङ लामा

दोलखाबाट प्रतिनिधिसभा उठ्दै आएका जिपछिरिङ लामाले आफू यस पटक उम्मेदवार नहुने घोषणा निर्वाचनको मिति घोषणा गरेलगत्तै गरेका थिए ।  २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी उम्मेदवार भएका थिएनन् । लामा कन्ट्रक्सन नामको निर्माण कम्पनी चलाउँदै आएका उनी २०६४ सालमा संविधान सभा सदस्य भएका थिए भने २०७० मा उनी दोलखाबाट प्रत्यक्षमा उम्मेवार भएपनि पराजित भए ।

राजु थापा

स्याङ्जाका जिल्ला सभापति राजु थापाले पनि आफू यस पटक प्रतिनिधिसभाको उम्मेदवार नहुने घोषणा गरेका छन् । स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा २०७९ सालको निर्वाचनमा निर्वाचित भएका उनले जेन–जी युवाहरुलाई अवसर दिने भन्दै नउठ्ने घोषणा गरेका छन् । २०७९ सालको निर्वाचनमा उनले ३१ हजार ९ सय ९९ मत ल्याएर नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गरेका थिए । ‘यसअघि तीन पटक लगातार उम्मेदवार भएँ । अब यस पटक उम्मेदवार नहुने निर्णय गरेको छु,’ थापाले भने, ‘यस पटक नयाँ साथीहरुलाई अवसर दिँदै सहयोग गर्ने भूमिकामा सक्रिय हुन्छु । ’

मिनबहादुर विश्वकर्मा

२०४९ सालदेखि कांग्रेसमा सक्रिय भएका मिनबहादुर विश्वकर्मा पनि उम्मेदवार नहुने भएका छन् । यस पटक उनलाई सुनसरी १ बाट उम्मेदवार सिफारिस गरिएको थियो । नेपाल दलित संघको केन्द्रीय अध्यक्ष भएका उनी २०७० सालमा संविधान सभा सदस्य थिए । उनी वाणिज्यमन्त्री समेत भए । १२ र १३ महाधिवेशनमा उनी पार्टीको केन्द्रिय कार्यसमिति सदस्यसमेत भएका थिए । पार्टी सभापति रहेका शेरबहादुर देउवा निकट रहँदै आएका उनी यसअघि प्रत्यक्षतर्फ २०७९ सालमा सुनसरी १ बाट सिफारिस भएका थिए । ‘मलाई मन पराएर, माया गरेर सुनसरी १ बाट उम्मेदवार बन्न सिफारिस गर्ने, माग गर्ने, मलाई उठ्न प्रेरित गर्ने र टिकट दिलाउन प्रयत्न गर्ने सबै प्रियजनप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु,’ उनले भने, ‘अहिलेको विश्व राजनीति र विशेष गरी नेपाल र नेपालीले चाहेको नवीन ढाँचाको राजनीति र जन प्रतिनिधित्व गर्न अहिलेकै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने व्यक्तिगत निर्णय गरेको छु ।’

कान्तिपुर

Link copied successfully