रुकुम पूर्वमा एमाले 'अलमल'मा

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संयोजक पुष्पकमल दाहाललाई यहाँबाट उम्मेदवार बनाएपछि यस जिल्लामा क्रियाशील अन्य दलले उम्मेदवार उठाउने रुचि नदेखाएको हुन सक्ने आकलन र विश्लेषण पनि गर्न थालिएको छ ।

माघ ४, २०८२

महेश केसी

UML in chaos in Rukum East

What you should know

रुकुम पूर्व — नेकपा एमालेले आसन्न निर्वाचनमा देशभरबाट उठाउने उम्मेदवारको टुंगो लगाउन बाँकी जिल्लामा रुकुम पूर्व पनि परेको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रत्यक्षतर्फका १ सय ४० जना उम्मेदवारको टुंगो लगाउँदा रुकुम पूर्वसहित २५ क्षेत्र भने बाँकी रहेका हुन् ।

गत पुस २० गते बसेको एमाले रुकुम पूर्व जिल्ला कमिटीको बैठकबाट खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणी दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनार गरेर झण्डै आधा दर्जन नाम सिफरिस गरी पठाएको थियो । तर यी नाममध्येबाट को उम्मेदवार हुने भन्ने निर्णय गर्ने पार्टी केन्द्र नै 'अलमल'मा देखिएको छ ।

सामाजिक संजालमा खेममान खड्काको नाम सिफारिस भएको भन्ने विषय सार्वजनिक भए पनि त्यो आधिकारिक नभएको भन्दै केन्द्रीय सदस्य लिलामणी गौतमले हिजोको सचिवालय बैठकले कसैको नाम सिफरिस नगरेको बताए । ‘हामीले जिल्लाबाट आवश्यक सिफारिस गरेर प्रक्रिया पूरा गरिसकेका छौं । तर केन्द्रले नाम किन टुंगो लगाउन सकेन र होल्ड राख्यो भन्नेबारे जानकारी छैन,’ उनले भने, ‘उम्मेदवारी दिने दिनसम्म नामको टुंगो लाग्छ ।’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संयोजक पुष्पकमल दाहाललाई यहाँबाट उम्मेदवार बनाएपछि यस जिल्लामा क्रियाशील अन्य दलले उम्मेदवार उठाउने रुचि नदेखाएको हुन सक्ने आकलन र विश्लेषण पनि गर्न थालिएको छ ।

तर आफ्नो पार्टीबाट उम्मेदवार उठाएर जित्नका लागि अधिकतम् कोसिस गर्ने कुरामा शंका नरहेको नेपाली कांग्रेस रुकुम पूर्वका नेता प्रकाश केसीले बताए । दाहाल वा अरू जुनसुकै पात्र आए पनि आफ्नो पार्टीले मतदातासमक्ष आफ्ना निर्वाचन कार्यक्रम लिएर जाने उनले बताए । कांग्रेस रुकुम पूर्वले पूर्व सासंद कुसुमदेवी थापाको नाम सिफारिस गरी पठाएको छ । तर यस विषयमा पनि पार्टी केन्द्रले टुंगो भने लगाइसकेको छैन ।

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully