११ औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध छुट्टै प्यानल बनाएका नेताको टिकट ‘होल्ड’ गरी त्यसलाई टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओली आफैंले लिएका छन् ।
What you should know
काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फमा एमालेले टिकट वितरणमा फरक मत राख्नेलाई निषेधको नीति लिइएको छ । ११ औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध छुट्टै प्यानल बनाएका नेताको टिकट ‘होल्ड’ गरी त्यसलाई टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओली आफैंले लिएका छन् ।
अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेका नेता ईश्वर पोखरेलको टिकट होल्ड भएको छ । उनी काठमाडौं ५ बाट उम्मेदवारका लागि एकल सिफारिस भए पनि केन्द्रीय सचिवालयले स्थगन गरेको छ । उनलाई टिकट/नदिने अधिकार ओलीलाई दिइएको छ ।
महाधिवेशनमा पोखरेल प्यानलबाट पदाधिकारीमा प्रतिस्पर्धा गरेकामध्ये उपाध्यक्षमा विजयी भएका गोकर्ण विष्ट मात्र गुल्मी २ का उम्मेदवार भएका छन् ।
पोखरेल पक्षबाट प्रतिस्पर्धा गरी विजयी भएका उपमहासचिव योगेश भट्टराईको टिकट खोसिएको छ । यसअघि उनले जितेको गृह जिल्ला ताप्लेजुङमा टिकट खोसिएको छ । सचिवालय बैठकमा उनले टिकट वितरण न्याय नगरेको भन्दै फरक मत राखेका थिए । ‘महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा टिकट वितरण भएको छ,’ उनले भने, ‘यसले फरक मत, विचार राख्नेहरूलाई न्याय गरेको छैन ।’
उनले स्पष्ट मापदण्ड नबनाई टिकट वितरण गरेको बताए । ‘निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार छनोट स्पष्ट मापदण्ड बनाइनु पर्दछ भन्ने मेरो मत छ । मापदण्ड नबनाई उम्मेदवार छनोट गर्दा योग्य क्षमता, बौद्धिकता, पार्टीप्रतिको निष्ठा तथा निरन्तरताभन्दा पनि नेतृत्वको इच्छा र पक्षधरतालाई आधार मानिएको देखिन्छ,’ उनले राखेको फरक मतमा भनिएको छ, ‘कुनै ठाउँमा त्यही विशेषताको व्यक्तिलाई उम्मेदवार बनाइएको भने अर्का ठाउँमा त्यस्तै विशेषताका व्यक्तिलाई छनोटबाट वञ्चित गरिएको छ । जसले गर्दा पार्टी निर्णयप्रति देशव्यापी रूपमा एकस्वरले समर्थनप्राप्त गरेको देखिँदैन ।’
उनले पार्टीभित्रको फरक मतलाई नजरअन्दाज गरिएकाले गम्भीर भूल भएको बताएका छन् ।
‘प्रतिनिधिसभाको उम्मेदवार (समानुपातिक र प्रत्यक्ष) मा प्रतिस्पर्धाका बेलाको पक्षधरता प्रस्ट रूपमा देखिन्छ । यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउँदछ । पार्टी भनेको विविधताबीचको एकता हो भन्ने कुरा उम्मेदवार छनोटका क्रममा पूरै नजरअन्दाज गरिएको छ,’ उनले भने, ‘यो आजको निर्णयको गम्भीर भूल हो ।’
भट्टराईले फरक विचार राख्नेहरूलाई टिकटबाट वञ्चित गरे पनि पार्टीका उम्मेदवार जिताउन लागिपर्ने बताए । ‘हामी पार्टीका उम्मेदवार जिताउन प्रतिबद्ध भएर लाग्नेछौँ,’ उनले भने ।
उनले आफू जित्न नेताहरुले निर्वाचन क्षेत्र परिवर्तन गर्नु गलत मात्र होइन, त्यसक्षेत्रका कार्यकर्तामाथि अन्याय भएको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘अहिले नेताहरू पुरानो क्षेत्र छोडेर सुरक्षित क्षेत्रतिर जाँदा एकातिर सकारात्मक सन्देश प्रवाह भएको छैन भने अर्कातिर पदीय हैसियत कम भएका स्वाभिमानी कार्यकर्तामाथि देखा–देख अन्याय भएको छ ।’
सचिव भानुभक्त ढकालले पार्टीले विधि र पद्धति अनुसार उम्मेदवार छनोट गरेको दाबी गरे । ‘जिल्ला, प्रदेशबाट भएका सिफारिसलाई ध्यान दिँदै प्रत्यक्षका उम्मेदवार छनोट गरिएको हो,’ उनले भने, ‘सबै आकांक्षीले टिकट पाउन सम्भव हुँदैन । त्यसैले केही गुनासा आएको हुन सक्छ ।’
महासचिवमा प्रतिस्पर्धा गरी पराजित भएका सुरेन्द्र पाण्डेलाई पनि प्रत्यक्षमा उम्मेदवार हुने बाटो छेकिएको छ । विगतमा चितवन १ बाट उठ्दै आएका उनलाई यसपटक टिकट दिइएन । उपाध्यक्षमा उम्मेदवार भएका अरुण नेपाललाई पनि प्रतिस्पर्धा गर्नबाट रोकिएको छ ।
महाधिवेशनमा सचिव पदमा उम्मेदवार दिएका अग्नि खरले, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, पुरुषोत्तम पौडेल, इन्द्रलाल सापकोटालाई टिकटबाट वञ्चित गरिएको छ । गत निर्वाचनमा खरेल झापा १ र गैरे पाल्पा २ मा उम्मेदवार भएका थिए । गैरेले चुनाव जितेका थिए । झापा १ रामचन्द्र उप्रेती र पाल्पा २ मा उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार बनाउने निर्णय शनिबार भएको थियो । तर आइतबार उनी रुपन्देही २ बाट चुनाव लड्ने निर्णय गरेका छन् ।
त्यस्तै, पोखरेल पक्षबाट सचिवमा प्रतिस्पर्धा गरेका गोकुल बाँस्कोटाको पनि टिकटको टुंगो लागेको छैन । गत निर्वाचनमा काभ्रे २ बाट निर्वाचित भएका उनी यसपटक पुनः उम्मेदवार हुन खोजेका छन् । ओलीले उनको टिकट पनि ‘होल्ड’ मा राखेका छन् । कुनै बेला ओलीको अति निकट भएका उनी फरक मत राखेकै कारण होल्डमा परेका छन् ।
काठमाडौं ९ को टिकटका आकांक्षी कृष्णगोपाल श्रेष्ठलाई पनि फरक मत राखेकै कारण उम्मेदवारबाट वञ्चित गरिएको छ । ११औं उपाध्यक्ष प्रतिस्पर्धा गरेका बिन्दा पाण्डे, सचिवमा प्रतिस्पर्धा गरेकी रचना खड्काले प्रत्यक्षमा पनि टिकट पाएनन् । उनीहरू समानुपातिक सूचीमासमेत अटेनन् ।
त्यस्तै, दैलेखबाट प्रत्यक्ष निर्वाचनका लागि भएको आन्तरिक निर्वाचनमा सबभन्दा धेरै मत ल्याएर सिफारिस भएका केन्द्रीय सदस्य विष्णु रिजाल उम्मेदवार हुनबाट वञ्चित भएका छन् । त्यस्तै, संस्थापन रहेर पनि पार्टीको तर्फबाट निर्वाचन आयोगमा काम गर्दै आएका अर्का केन्द्रीय सदस्य नीरज आचार्यको टिकट खोसिएको छ । गत निर्वाचनमा जाजरकोटबाट प्रतिस्पर्धा गरेका उनी यसपटक पनि आकांक्षी थिए ।
