कम्युनिस्ट : दल कि दह ?

कम्युनिस्ट पार्टीहरूमा कहिले युवा हस्तक्षेप बढ्छ ? कम्युनिस्ट पार्टी नामका जमेका पोखरीहरू कहिले नदीमा परिणत हुन्छन् ? विद्रोहका कथा भन्ने कम्युनिस्ट साहित्य पढेका नेताहरू किन त्यसको अनुसरण गर्न सकिरहेका छैनन् ?

माघ ४, २०८२

किशोर दहाल

Communist: party or ten?

What you should know

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल यही मंसिरदेखि ७२औं वर्षमा प्रवेश गरेका छन् । ७२ को ठीक आधा अर्थात् ३६ वर्ष भने उनले पार्टीको नेतृत्वमै रहेर बिताइसकेका छन् ।

२०४३ वैशाखमा तत्कालीन नेकपा मशालद्वारा रचित ‘सेक्टर काण्ड’ को असफलतासँगै पार्टीमा बढेको विवादपछि २०४६ कात्तिकमा बसेको केन्द्रीय समिति बैठकबाट उनी पार्टीको प्रमुखमा चयन भएका थिए । अनेकौं एकता र विभाजनबाट उनी नेतृत्वको पार्टीको नाम मशाल, एकता केन्द्र, माओवादी, एनेकपा माओवादी, माओवादी केन्द्र, नेकपा, पुनः माओवादी केन्द्र हुँदै नेपाली कम्युनिस्ट पार्टी भयो । तर नेतृत्वमा उनी अविच्छिन्न छन् ।

नेतृत्वमा पुगेपछि अनेकौं तिकडमबाट सधैं त्यहीँ टिकिरहन खोज्ने प्रवृत्तिको बलियो उदाहरण हुन्, दाहाल । उनकै जस्तो प्रवृत्ति नेपालका सबैजसो कम्युनिस्ट पार्टीका नेतृत्वले अपनाइरहेका छन् ।

केपी शर्मा ओली एघारौं महाधिवेशनबाट तेस्रो पटक एमालेका अध्यक्ष निर्वाचित भए । ओली तत्कालीन झापा जिल्ला कमिटीको प्रमुखका रूपमा २०२९ सालमै सचिव भइसकेका थिए । पछिल्लो पटक २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट एमाले अध्यक्ष निर्वाचित भएका उनी निरन्तर अध्यक्ष नै छन् । २०७५ जेठदेखि २०७७ फागुनसम्मको नेकपामा पनि उनी अध्यक्ष नै थिए ।

८५ वर्षीय नारायणमान बिजुक्छे त्यस्तै नेता हुन् । उनकै नेतृत्वमा २०३१ सालमै गठन भएको नेपाल मजदुर किसान संगठन कालान्तरमा नेपाल मजदुर किसान पार्टी बन्यो तर नेतृत्वमा उनी नै अविच्छिन्न छन् । पछिल्लो पटक २०८१ फागुनमा सम्पन्न पार्टीको आठौं महाधिवेशनले पनि उनलाई नै अध्यक्ष चुनेको थियो । ९० वर्षीय मोहनविक्रम सिंह अहिले नेकपा मसालका महामन्त्री (पार्टी प्रमुख) हुन् । उनी पनि ३० को दशकदेखि एकाध वर्षबाहेक निरन्तर फरकफरक पार्टीको नेतृत्वमा छन् ।

२०५४ मा एमाले विभाजन भएर माले बन्यो । २०५८ मा त्यसको एउटा हिस्सा पुनः एमालेमै फर्कियो । बाँकीलाई सीपी मैनालीले नेतृत्व गरिरहेका छन् । ७४ वर्षीय मैनालीले पुनर्गठित मालेको नेतृत्व गर्न थालेकै २४ वर्ष पुगिसकेको छ । त्यसो त उनले २०२९ मै पनि तत्कालीन झापा जिल्ला कमिटीको नेतृत्वकर्ता ओलीमाथि ‘कु’ गरेर नेतृत्व लिएका थिए । पछि उनी पक्राउ परेर जेल गए । नख्खु जेल ‘ब्रेक’पछि पार्टीमा फर्केर उनले तत्कालीन मालेको नेतृत्व गरे । झापा जिल्ला कमिटी, अखिल नेपाल कोअर्डिनेसन कमिटी (कोके) र मालेको औपचारिक/अनौपचारिक नेतृत्वमा उनी निरन्तर रहे । २०३९ मा मात्रै उनलाई नेतृत्वबाट हटाइएको थियो ।

यतिबेला नेतृत्वमा देखिएकाबाहेक कम्युनिस्ट पार्टीका ठूला नेता मानिने माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, चित्रबहादुर केसी, वामदेव गौतम, मोहन वैद्य, नेत्रविक्रम चन्द जस्ता नेताहरू पनि लामो समयदेखि नेतृत्व वा नेतृत्व हाराहारीकै हैसियतमा छन् ।

हालै कांग्रेसका युवा नेताहरूले विशेष महाधिवेशनमार्फत वृद्ध नेताको कब्जामा रहेको पार्टीको नेतृत्व खोसेर लिएपछि सो पार्टी जमेको पोखरीबाट बगिरहेको नदीमा परिणत भएको विश्लेषण भइरहेको छ । र, सँगसँगै प्रश्न उठेको छ– कम्युनिस्ट पार्टीहरूमा कहिले युवा हस्तक्षेप बढ्छ ? कम्युनिस्ट पार्टी नामका जमेका पोखरीहरू कहिले नदीमा परिणत हुन्छन् ? विद्रोहका कथा भन्ने कम्युनिस्ट साहित्य पढेका नेताहरू किन त्यसको अनुसरण गर्न सकिरहेका छैनन् ?

किन सधैं नेतृत्वमा ?

उनै व्यक्तिहरू वर्षौंवर्ष नेतृत्वमा रहिरहन सक्नुमा कम्युनिस्ट पार्टीभित्रका केही विशिष्ट प्रवृत्ति छन्, केही सबै राजनीतिक दललाई लागू हुने साझा प्रवृत्ति छन् ।

त्रिभुवन विश्वविद्यालय एवं नेपाल खुल्ला विश्वविद्यालयमा राजनीतिशास्त्र एवं अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त प्राध्यापनरत डा. सन्जिब हुमागाईं भन्छन्, ‘कम्युनिस्ट पार्टीहरूमा जनवादी केन्द्रीयताको अभ्यास गरिन्छ । जहाँ निर्णय गर्ने बेलामा छलफल गरिए पनि कार्यान्वयनका क्रममा भने पार्टी नेतृत्वले भनेको मान्ने गरिन्छ । त्यसैले उनीहरू बढी जसो नेतृत्व केन्द्रित हुन्छन् ।’

नेपालका कम्युनिस्ट पार्टीहरूको सिकाइ सोभियत संघको कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रभावित छ । कुनै समय नेपालका कम्युनिस्ट पार्टीलाई रुसपन्थी वा चीनपन्थी भनेर ‘ट्याग’ नै लाग्ने गर्थ्यो । त्यहाँ लामो समय नेतृत्वमा रहने अभ्यास थियो । राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘नेपालका कम्युनिस्ट पार्टीहरूले पनि पार्टीको निर्माण शैली र सञ्चालन पद्धति त्यतैबाट सिकेका हुन् ।’

सामाजिक मनोविज्ञानले पनि दोषी छ । नेपाली समाजले पद र शक्तिमा रहेको व्यक्तिलाई पुज्ने र चाकडी गर्ने गरेको पाइन्छ । पद र शक्तिबाट अलग्गिएको व्यक्ति समाजको चासोबाटै बाहिर पुग्छ । पदमा हुँदा आफूले प्राप्त गरिरहेको विशेष सुविधा, सम्मान वा चाकडीबाट विमुख हुन नचाहने मानसिकता नेतृत्वपंक्तिमा छ । अर्कोतर्फ, सामन्ती परिवारमा हुर्केकाहरू सिधै कम्युनिस्ट पार्टीको नेतृत्वमा पुगेका कारण उनीहरूमा पनि सामन्ती चिन्तन धारा जबर्जस्त रहेको सुवेदी बताउँछन् । त्यस्तै चिन्तनका कारण आफू पार्टीको प्रमुखमा रहिरहेँ भने मात्रै मेरो वरपर बसेर नमस्ते गर्नेहरू हुन्छन्, मैले उनीहरूलाई केही दिन सक्छु, दिएका कारण मप्रति अनुग्रहित हुन्छन्, त्यसैले त्यस्तो शक्ति आफूले राखिरहनुपर्छ भन्ने ठान्छन् ।

‘नेपालका कम्युनिस्ट पार्टीका नेतृत्वले बोक्ने सामन्ती चिन्तन समाजवादी विचारसँग पनि मिल्दैन, मार्क्सवादसँग पनि मिल्दैन,’ सुवेदी भन्छन्, ‘कम्युनिस्टहरूले भन्ने गरेको सर्वहारा नैतिकतासँग पनि मिल्दैन । किनकि, सर्वहारा नैतिकताले त सामूहिकताको वकालत गर्छ ।’

एउटै व्यक्ति नेतृत्वमा रहिरहँदा सम्भावित नयाँ नेतृत्वको विकासमा अवरोध भएको छ । नियमित ढंगबाट नेतृत्व परिवर्तन हुँदै जाने हो भने नयाँ नेतृत्वका लागि नयाँ नेताहरू तयार हुँदै जान्थे । त्यसका लागि आफूलाई काबिल बनाउँथे । समय र समाज सुहाउँदो नीति र कार्यक्रमका लागि मेहनत गर्थे । अध्ययन गर्थे । जनसम्पर्क बढाउँथे । तर, नेतृत्वमा वर्षौंवर्ष उही नेतृत्व रहँदा बाँकीको नेतृत्वमा आउने बाटो नै बन्द हुन्छ । कम्युनिस्ट पार्टीको टुटफुटको शृंखला पनि यहाँ सान्दर्भिक हुन आउँछ । तत्कालीन नेकपाको २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनपछि कम्युनिस्ट पार्टीमा विभाजन शृंखला सुरु भयो । २० र ३० को दशकभर नेपालमा दर्जनौं कम्युनिस्ट पार्टीहरू गठन भए । फरकफरक पार्टीमा गरेर धेरै नेतृत्व जन्मिए । तिनले अन्य पार्टीसँग मिलेर तल्लो पदमा बस्नुभन्दा सानै पार्टीको भए पनि नेतृत्वमा बसिरहन उचित ठाने । त्यस्ता पार्टीहरू फक्रिन पनि नसक्ने, मासिएर पनि नजाने स्थिति बन्यो । त्यहाँ स्थापित नेताहरू दशकौंसम्म नेतृत्वमै रहिरहे । त्यस्तै, खुला राजनीतिक गतिविधि बन्देज रहेको पञ्चायतकालको हुर्किएका कम्युनिस्ट पार्टीहरूले त्यतिबेला नेतृत्वलाई प्राधिकार जस्तो बनाएर हुर्काए । खुला राजनीतिमा आइसक्दा पनि त्यतिबेलाको स्वभाव यथावत् नै रह्यो । देखावटी लोकतान्त्रिक अभ्यास अपनाइए पनि निर्णयमा नेतृत्वको विशेष अधिकार हटेन । चुनावमा टिकट बाँड्दा होस् वा अन्य पार्टीसँग वार्ता गर्दा, अन्तिम निर्णय लिने अधिकार अध्यक्षलाई दिने प्रचलन त यथावत् नै छ ।

नेपाली राजनीतिमा ‘एक्जिट पोलिसी’ को अभ्यास प्रचलनमा नरहँदा पनि एउटै नेतृत्व लामो समयसम्म कायम रहन सम्भव भएको छ । यो सबैजसो पार्टीमा लागू हुन्छ । किनकि, संवैधानिक र कानुनी रूपमा पार्टी नेतृत्वको कार्यकालबारे कतै उल्लेख छैन । त्यसैले पनि निश्चित अवस्थामा पार्टीको नेतृत्व त्याग्नुपर्ने बाध्यता छैन । एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानलाई विधानमै राखेर अभ्यास पनि गर्‍यो । तर यसै वर्ष ७३ वर्षीय ओलीलाई तेस्रो पटक अध्यक्ष बनाउन ती प्रावधान नै हटाइयो । अर्कोतर्फ, आफू नेतृत्वको पार्टीले चुनावमा पराजय बेहोर्‍यो भने, पार्टीले अन्य दुर्घटना बेहोर्‍यो वा पार्टी नेतृत्वमाथि नै गम्भीर आरोप लाग्यो भने पनि नैतिक जिम्मेवारी लिएर पदत्याग गर्ने अभ्यास अत्यन्तै सीमित छ । २०६४ चैतमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पार्टी तेस्रो स्थानमा पुगेपछि एमाले महासचिव माधवकुमार नेपालले राजीनामा दिएका थिए । तर, एकीकृत समाजवादीको अध्यक्ष भएको बेला आफूमाथि भ्रष्टाचार आरोपमा मुद्दा दायर हुँदा र विशेष अदालतबाट धरौटीमा रिहा हुँदा पनि उनले राजीनामा दिएनन् । किनकि, यसबीचमा उनले बुझे– एक पटक पार्टी नेतृत्वबाट अलग्गियो भने पुनः फर्किन कठिन हुँदोरहेछ ।

पार्टी नेतृत्वमा रहनु भनेको कुनै पनि बेला प्रधानमन्त्री, मन्त्री वा कुनै किसिमको राजकीय पदमा पुग्ने सम्भावना बलियो बन्नु हो । त्यस्तो पदसँगै शक्ति अभ्यास गर्न पाइन्छ । आर्थिक खेलोफड्को गर्न पनि पाइन्छ । त्यही सम्भावना जीवित राख्न पनि नेतृत्व नछाड्ने प्रवृत्ति छ । ‘हरेक मान्छे आफ्नो सामाजिक अस्तित्वका लागि लडिरहेको हुन्छ । अस्तित्वको पहिचानमध्ये नेपालमा राजनीतिक वा दलीय पहिचान बलियो भएको छ । त्यसका लागि दलमा रहनुपर्ने र दलमा पनि जति माथि पुग्यो, उति नै बढी सामाजिक पहिचानलाई स्थापित गर्ने भएकाले नेतृत्वमा रहिराख्ने संस्कार बनेको छ,’ हुमागाईं भन्छन् ।

के असर परेको छ ?

एउटै व्यक्ति निरन्तर नेतृत्वमा रहँदा सम्भावित नयाँ नेतृत्व, पार्टी, समाज र देशका लागि सकारात्मक प्रभाव पारेको छ भन्न नसकिने हुमागाईं बताउँछन् । ‘बरु प्रणालीप्रतिको विश्वासलाई कमजोर बनायो,’ उनी भन्छन्, ‘मानिसलाई ‘लोकतन्त्र भनेकै निश्चित मान्छेले रजगज गर्ने प्रणाली होइन र ?’ भन्ने अवस्थामा पुर्‍याएको छ ।’

कम्युनिस्ट पार्टीभित्रको कमजोर लोकतान्त्रिक अभ्यासले पनि एउटा व्यक्तिलाई नेतृत्वमा टिकिरहन सम्भव तुल्याएको छ । नेतृत्वको देवत्वकरण गर्ने र नेतृत्वमाथि चुनौती दिन खोज्नेहरूलाई हतोत्साहित गर्ने, पार्टीबाट निकाल्ने वा निस्किन बाध्य पार्ने प्रवृत्ति छ । एमाले र माओवादीमै त्यस्तो उदाहरण प्रशस्तै छन् । जसले गर्दा नेतृत्व थप शक्तिशाली हुने, उनीसँग असहमत हुनेहरू बाहिरिने वा निष्क्रिय बस्नुपर्ने स्थिति छ ।

एउटै व्यक्ति नेतृत्वमा रहिरहँदा सम्भावित नयाँ नेतृत्वको विकासमा अवरोध भएको छ । नियमित ढंगबाट नेतृत्व परिवर्तन हुँदै जाने हो भने नयाँ नेतृत्वका लागि नयाँ नेताहरू तयार हुँदै जान्थे । त्यसका लागि आफूलाई काबिल बनाउँथे । समय र समाज सुहाउँदो नीति र कार्यक्रमका लागि मेहनत गर्थे । अध्ययन गर्थे । जनसम्पर्क बढाउँथे । तर, नेतृत्वमा वर्षौंवर्ष उही नेतृत्व रहँदा बाँकीको नेतृत्वमा आउने बाटो नै बन्द हुन्छ । असन्तुष्टिका माझ पनि पार्टीमै रहनुपर्ने वा छोडेर हिँड्नुपर्ने बाध्यता पर्छ । धेरैले पार्टी विभाजन गर्न नचाहने हुँदा त्यही पार्टीभित्र खुम्चिएर बस्नुपर्ने बाध्यता हुने गरेको छ ।

नेतृत्वमा परिवर्तन नहुँदा उनीभन्दा तलका नेता त्यहीं रोकिन्छन् । उसले फेरि आफूभन्दा तलको नेतालाई रोक्छ । क्रमशः नेताहरूलाई आफूभन्दा तलका नेतालाई रोक्दै जान्छन् । यस्तो अवस्थामा नयाँ नेतृत्व र गतिशीलता मर्छ । अध्यक्ष नै हुने क्षमता भएकाहरूको पनि क्षमता मर्दै जान्छ । त्यसले पार्टीलाई कमजोर बनाउँछ ।

एउटै व्यक्ति नेतृत्वमा रहिरहने अभ्यास अपनाएका पार्टीभित्र लोकतान्त्रिक अभ्यास खुम्चिएको छ । किनकि, त्यस्तो नेतृत्वले पार्टीभित्र आफ्नो गुट बलियो बनाएका हुन्छन् । आफूबाट लाभान्वित नेता तथा कार्यकर्ताको ठूलो पंक्ति तयार पारेका हुन्छन् । जसले नेतृत्वमाथि उठ्ने प्रश्नलाई कमजोर तुल्याउन भूमिका खेल्छन् । नियमित लोकतान्त्रिक अभ्यासलाई पनि अवरोध गरिदिन्छन् । परिणामतः आन्तरिक लोकतन्त्र नै शिथिल भएर जान्छन् ।

हुमागाईं भन्छन्, ‘समग्र पार्टीलाई नै ब्युरोक्रेटिक ढाँचाको बनाइएको छ । जसकारण तलका कार्यकर्तालाई के लाग्छ भने, मैले जति राम्रो काम गरे पनि माथि पुग्ने होइन । त्यसले गर्दा नवीनताका लागि मनोवैज्ञानिक वातावरण नै खुम्चिँदै जान्छ ।’

उही नेतृत्व र उही कार्य सञ्चालन पद्धति हुँदा समाजमा पार्टीहरूप्रति आकर्षण कम हुँदै जान्छ । जसले क्षति समग्र पार्टीले भोग्नुपर्छ । माओवादी, माले, जनमोर्चा, नेमकिपा जस्ता पार्टीहरू खुम्चिँदै जानुमा उनीहरूको नेतृत्व र नेतृत्वमार्फत आउने नीतिमा नयाँपन नहुनु पनि मुख्य कारण हो । माओवादीलाई हेरौं, २०६४ मा सबैभन्दा ठूलो दल बनेको यो पार्टी त्यसयताका निर्वाचनमा लगातार खुम्चिरहेको छ । जनमोर्चा र नेमकिपाहरू पनि एक दुई सिटका लागि संघर्ष गरिरहेका हुन्छन् । मालेको त संसद्मा प्रतिनिधित्व नै हुन छाडिसक्यो ।

‘पार्टी क्रान्तिमा रहेका बेलामा एउटा व्यक्ति निरन्तर नेतृत्वमा रहँदा पनि उसले क्रान्तिको प्राधिकारको प्रतिनिधित्व गरिरहन सक्छ, यदि क्रान्ति गतिशीलतामा छ भने । आन्दोलन गतिमा र त्यसले शक्ति आर्जन गरिरहेको छ भने एउटै व्यक्ति नेतृत्वमा रहँदा पनि फरक पर्दैन । किनकि, ऊ प्राधिकार जस्तो बन्दै जान्छ । अनुभव र ज्ञानले परिस्थितिलाई पार्टीको अनुकूलतातिर लैजान्छ,’ सुवेदी भन्छन्, ‘प्रतिस्पर्धाको राजनीतिमा समाजले व्यक्तिको परीक्षण गरिरहेको हुन्छ । यस अवस्थामा एउटै अनुहार लामो समय देखिरहँदा ऊप्रति नयाँ मान्छेको आकर्षण घट्छ । पार्टीमा नयाँ मान्छेको प्रवेश पनि घट्छ । त्यसपछि पार्टी स्वतः कमजोर भएर जान्छ । उही व्यक्तिको अनुहार र भाषणले पार्टीभित्र पनि दिग्दारी उत्पन्न हुन्छ ।’

समाजले पनि पार्टी नेतृत्वबाट नयाँपन, नयाँ आशा, नयाँ कार्यक्रम पाउँदैन । पुराना पुस्ताका नेतृत्वले समाजसँग संवाद गर्ने क्षमता नै गुमाइसकेका हुन्छन्, त्यसतर्फ उनीहरूको रुचि पनि हुँदैन । उनीहरूलाई थाहा हुन्छ– समाजको मन जितेर होइन, पार्टीभित्रको तिकडमबाट आफ्नो पद र शक्ति निरन्तर रहन सक्छ । परिणामतः समाजको आकांक्षा एकातिर, नेतृत्वको चासो र तिकडम अर्कैतिर भइरहेको छ । सुरुवातमा देखिने नयाँ नेतृत्वप्रति समाजमा आशा र आकर्षण हुने गरे पनि सत्तामा आउजाउ बढेसँगै नेतृत्वमा भ्रष्ट प्रवृत्ति हुर्किन्छ । सत्तामा रहनका लागि नेतृत्वले आसेपासे पोस्न थाल्छ । जसकारण समाजमा उसप्रतिको आकर्षण धुमिल हुँदै जान्छ । कतिपय सन्दर्भमा आक्रोश बढाउँछ । समाजमा नेतृत्वप्रति बेचैन उत्पन्न हुन्छ । दाहाल नै बलियो उदाहरण हुन् । २०६३ असारमा उनले लामो भूमिगत जीवन अन्त्य गर्दा उनीप्रति समाजको बृहत्तर वर्गमा जुन आकर्षण थियो, त्यो अहिले छैन । बरु सत्ता खेलाडी र भ्रष्ट राजनीतिको एक पात्रका रूपमा स्थापित भएका छन् ।

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully