झापा-५ मा रञ्जित तामाङलाई नेकपाको टिकट

झापा-५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले पनि उम्मेदवारी दिने चर्चा छ ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

झापा-५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला नेकपा संयोजक पुष्पकमल दाहालले युवा नेता तामाङलाई पार्टीको टिकट दिएका हुन् । 

तामाङलाई शनिबार आफ्नो निवासमा बोलाएर दाहालले प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् । आफूलाई संयोजक दाहालले टिकट दिएको तामाङले बताए ।

आफू जन्मेहुर्केको र पढेबढेको तथा राजनीतिक यात्रा झापा-५ बाटै सुरु गरेको बताउँदै तामाङले चुनावमा प्रतिस्पर्धा गर्ने बताए । 'म झापा ५ को स्थानीय हो । जन्मिएँ, हुर्किएँ, राजनीतिक यात्रा यहाँबाट नै सुरु गरेको हो । कतिपय मान्छे कमल खोला र रतुवा खोला कता हो ? यो क्षेत्रको पूर्व-पश्चिम, उत्तर -दक्षिण थाहा नपाएका पनि यो क्षेत्रमा उम्मेदवार बन्न आइरहेका बेला म स्थानीय युवालाई पार्टीले तारा चुनाव चिह्नमा लड्न टिकट दिएको छ,' तामाङले भने, 'राजनीतिक यात्रा यो क्षेत्रबाट नै सुरु गरेको हो र राजनीतिमार्फत गर्ने सेवा पनि यहाँबाट नै गर्न चाहन्छु ।'

झापा-५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र रास्वपाका वरिष्ठ नेता तथा आगामी चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा छ । रास्वपाका शाहले झापा-५ मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । यस विषयमा नेकपाका उम्मेदवार तामाङले भने, 'प्रधानमन्त्री बन्दा तीनपटक  मुलुकलाई दुर्घटनामा पारेका पूर्वप्रधानमन्त्री र भावी प्रधानमन्त्री घोषणा गरिएकाहरू यो क्षेत्रमा आउने कुरा चलिरहेको छ । तर हाम्रो पार्टीले भने युवा र स्थानीय भएकाले मलाई चुनावी प्रतिस्पर्धामा पठाएको छ ।' 

झापा-५ का स्थानीयसँग घुलमिल भएको र स्थानीय विकास एवं संटकमा सँगै रहेकाले आफूलाई चुनावी अभियान चलाउन गाह्रो नभएको पनि तामाङको भनाइ छ ।

तामाङ अखिल क्रान्तिकारीका अध्यक्ष हुन् भने तत्कालीन माओवादी केन्द्रको तर्फबाट झापा जिल्लाको इन्चार्जको जिम्मेवारीमा रहिसकेका छन् । हाल उनी नेकपाको केन्द्रीय समिति सदस्य हुन् ।

कान्तिपुर

Link copied successfully