नेता श्याम घिमिरेका अनुसार कार्यबाहक सभापति खड्काको नेतृत्वमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग भेट्न समय मागिएको छ ।
काठमाडौँ — कांग्रेसको शेरबहादुर देउवा पक्षका कार्यबाहक सभापति पूर्णबहादुर खड्का पनि निर्वाचन आयोग पुगेका छन् ।
पार्टीमा देखिएको विवाद आयोगमा पुगेको सम्बन्धमा छलफल गर्नका लागि कार्यवाहक सभापति खड्का आयोगमा गएका हुन् ।
कांग्रेसका नेताहरू विमलेन्द्र, रमेश रिजाल, श्याम घिमिरे, एनपी साउद, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत आयोग कार्यालय पुगिसकेका छन् । कार्यबाहक सभापति खड्का आयोग पनि पुगेका छन् ।
नेता श्याम घिमिरेका अनुसार कार्यबाहक सभापति खड्काको नेतृत्वमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग भेट्न समय मागिएको छ ।
‘पार्टीको समसामयिक विषयमा जानकारी गराउनका लागि कार्यबाहक सभापति खड्काको नेतृत्वमा हामी निर्वाचन आयोगमा आएका छौं । कार्यबाहक सभापति पूर्णबहादुर खड्का र पदाधिकारीहरू यहाँ आएका छौं,’ घिमिरेले भने, ‘महाधिवेशनको बारेमा ब्रिफिङ गर्ने र पार्टीको अहिलेको समसामयिक विषयमा यथार्थ कुराहरू निर्वाचन आयोगमा बुझाउन आएका हौं ।’
विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा बिहीबार निर्वाचन आयोग पुगेका थिए । थापाले नयाँ नेतृत्वको कागजात अद्यावधिक गरिदिन निवेदन दिएका छन् । थापा नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गर्नका लागि निर्वाचन आयोग पुगेको भोलिपल्टै देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।
