कांग्रेस बदल्न जसले खेमा बदले

कृष्णप्रसाद सिटौलालाई ५२ वर्षदेखि अनवरत साथ दिएका झापाका सुधीर शिवाकोटीले यस पटक संस्थापनसँग विद्रोह गरे । पूर्वराष्ट्रिय सभाका सांसद धना खतिवडा, पूर्वसांसद तारामान गुरुङ, उमा शिवाकोटीले समेत सिटौलालाई छाडेर गगन–विश्वको टिममा आए । बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामा, सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र उदयशमशेर राणा पनि कुनै बेला देउवाका विश्वासपात्र मानिन्थे ।

माघ २, २०८२

कुलचन्द्र न्यौपाने

Those who change sides to change Congress

काठमाडौँ — कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगको ५२ वर्षको सहयात्रा तोडेर झापाका ७२ वर्षीय सुधीर शिवाकोटी विशेष महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य भएका छन् । उनी सिटौलाका राजनीतिक आरोह–अवरोहका साक्षी मात्रै थिएनन्, केन्द्रमा सिटौलालाई प्रभावशाली बनाउन भुइँ तहमा धेरै चुनौतीहरूको सामना गर्ने गर्थे । 

पहिलोपल्ट जिल्ला सभापति हुँदा तत्कालीन सशस्त्र द्वन्द्वको त्रास चरमोत्कर्षमा थियो । कार्यकर्ता जोगाउन र पार्टीको संगठन बचाउन निकै कठिन अवस्था थियो । दोस्रो कार्यकाल सभापति हुँदा भने पार्टी विभाजन नै भयो । राजाको प्रत्यक्ष शासनकाल सुरु भयो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा पक्राउ परेका उनलाई हिरासतमै चरम यातना दिइएको थियो ।

त्यसबापत उनले २०६४ मा पहिलोपल्ट संसदीय चुनावको टिकट पाए । तर, माओवादीसँगै चुनाव हारे । २०७० मा भने चुनाव जितेर पहिलोपल्ट सांसद भए । एक पटक सांसद हुनेबाहेक उनको राजनीतिक संघर्ष सिटौलालाई राजनीतिको धुरीमा पुर्‍याउन खर्चेका छन् । त्यो ५२ वर्षको कसिलो सम्बन्ध जेन–जी आन्दोलनपछि भने दुईतिर भएको छ ।

२३ र २४ भदौको जेन–जी विद्रोहलाई केही पनि होइन जस्तो गरेर लिन थालिएपछि आफू अलग भएको शिवाकोटी बताउँछन् । समयको गति र युवाहरूको चाहनालाई बुझ्न नखोज्दा आफूहरूबीचको ५२ वर्षको सहयात्रा टुटेको शिवाकोटीको भनाइ छ । 

‘यसबीचमा हाम्रो कहिल्यै मनमुटाव भएन । झगडा र रिस केही भएन । तर, सिटौलाजीले जेन–जी विद्रोहले दिएको सन्देश आत्मसात् गर्न नखोज्दा हामी अलग्गियौं,’ उनले भने ।

जेन–जी आन्दोलनपछि शेरबहादुर देउवासँग नलाग्नुहोस् भनेर आफूले धेरै पटक सम्झाउने काम गरेको उनको भनाइ थियो । ‘शेरबहादुरजीको पछि लागेर अब पार्टीलाई बचाउन सकिँदैन । यसले ठूलो नोक्सान पुर्‍याउँछ । शेरबहादुरजीको अनुहार लिएर चुनावमा जान सकिँदैन । हामीलाई गाउँ–गाउँबाट हाम्रै कार्यकर्ताले ढुंगामुढा गर्छन् भनेर धेरै पटक अनुरोध गरें, सुन्नु भएन । दुई/चार महिना पर्ख भन्दै बस्नुभयो,’ शिवाकोटी सुनाउँछन्, ‘म विशेष महाधिवेशनमा युवाहरूसँग आएँ । त्यहीँबाट पनि मैले तपाईं गलत घरमा बस्नुभएको छ । पार्टी बचाउने घर भृकुटीमण्डपको विशेष महाधिवेशन हो, आउनुहोस् भनें । पक्कै सुन्नुभएको होला ।’

नयाँ चेत र आवाजलाई नसुन्ने हो भने अब परम्परागत पार्टीहरू इतिहासमा हराएर जाने खतरा बढिरहेको शिवाकोटीले बताए । ‘तर पनि नेताहरू आफ्नो समय गएको किन चाल पाउँदैनन् । किन चेत्दैनन्, अचम्म लाग्छ ।’ शिवाकोटी मात्रै होइन, सिटौला समूहमा बस्ने धेरै नेताहरू उनीसँग लामो समय टिक्न सकेका छैनन् । दोस्रो विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित गगन थापा नै १३ औं महाधिवेशनमा सिटौला क्याम्पमा थिए । त्यहीँबाट महामन्त्रीको चुनाव लडे । त्यतिबेला हारे । 

थापा पछि सिटौलाबाट अलग भए । त्यसपछि १४ औं महाधिवेशनमा प्रदीप पौडेल सिटौलासँग जोडिएर महामन्त्रीको उम्मेदवार भए । उनी पनि हारे ।

अहिले पौडेल विशेष महाधिवेशनबाटै महामन्त्रीमा निर्वाचित भएका छन् । यति मात्रै होइन, सिटौला पक्षमा रहेका पूर्वराष्ट्रिय सभाका सांसद धना खतिवडा, पूर्वसांसद तारामान गुरुङ, उमा शिवाकोटी अहिले विशेष महाधिवेशनबाटै केन्द्रीय सदस्य भएका छन् । अर्का युवा नेता बलदेव तिमिल्सिनासमेत सिटौलालाई छाडेर गगन–विश्वको टिममा आएका छन् ।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापा विद्यार्थी जीवनदेखि नै विद्रोही नेता हुन् । उनले पार्टी सत्ता र प्रतिपक्ष दुवैमा हुँदा त्यही विद्रोह गर्दै आएका छन् । सडक र नागरिकका मुद्दा बोक्दै पार्टीभित्र संस्थापनको विरोधमा आवाज उठाउँदै आए । विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा नेविसंघको अध्यक्ष हुँदा थापा उपाध्यक्ष थिए ।

१४ औं महाधिवेशनपछि थापा र शर्माबीचको राजनीतिक सम्बन्ध गाढा बन्न पुग्यो । पार्टीले जनभावना नबुझिरहेका बेला थापालाई पार्टीको नेतृत्व मात्रै होइन, भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्छ भन्ने मुद्दा पनि शर्माले बोकेका थिए । जेन–जी आन्दोलनपछि पार्टी सुधारको एजेन्डा उठाएर विद्रोह गरेका गगन–विश्वको जोडीले अहिले कांग्रेसमाथि ठूलो आशा र भरोसा जगाएका छन् ।

कांग्रेसको इतिहासमा पुष्पा भुसाल दोस्रो महिला उपसभापति भइन् । यसअघि शैलजा आचार्यले उपसभापति भएकी थिइन् । भुसाल पहिला खुमबहादुर खड्का समूहमा थिइन् । त्यसपछि उनी देउवा नेतृत्वको संस्थापन पक्षमा गइन् ।

जेन–जी आन्दोलनदेखि भने उनी गगन–विश्व टिममा आएकी हुन् । संस्थापनमा हुँदै उनले २१ फागुनको निर्वाचन अगाडि नै महाधिवेशन गराउने अभियानमा सक्रिय थिइन् । उनीसहित संस्थापनका ३० केन्द्रीय सदस्य यो अभियानमा जोडिएका थिए । तर, भृकुटीमण्डपको विशेष महाधिवेशनमा करिब २५ जना केन्द्रीय सदस्य गएका थिए ।

गगन महामन्त्री हुँदा नेविसंघको अध्यक्ष थिए गुरु घिमिरे । २०५९ मा घिमिरे अध्यक्ष र गगन महामन्त्री हुँदा राजतन्त्रविरुद्ध बोलेको भनेर राजद्रोहको मुद्दा पटक–पटक खेपेका थिए । संयोग, अहिले थापा पार्टी सभापति र घिमिरे महामन्त्री भएका छन् । कोइराला परिवारको राजनीति छायामा माथि आउन नसकेरहेका बेला घिमिरे विशेष महाधिवेशनबाट महामन्त्री भएका छन् ।

घिमिरे यसअघि शेखर कोइरालासँग नजिक थिए । विशेष महाधिवेशन बोलाउन गरिएको हस्ताक्षरमा सुरुमा शेखरको पनि समर्थन थियो । तर, आफैंले समर्थन गरेको एजेन्डा छोडेर शेखर संस्थापनसँग जोडिएपछि घिमिरे गगन–विश्व टिममा जोडिए । यसअघि शेखरकै पक्षमा रहेका देवराज चालिसे पार्टीको प्रवक्ता भएका छन् । चालिसे पनि हस्ताक्षर अभियानका अभियन्ता हुन् । त्रिविवि स्ववियुका सभापतिसमेत भएका चालिसे परिवर्तनको मुद्दा बोकेर एकाएक केन्द्रीय राजनीतिमा उदाएका छन् ।

गगन र विश्वपछि कांग्रेसको अर्को अनुहार हुन्, प्रदीप पौडेल । १४ औं महाधिवेशनमा सिटौला समूहबाट अघि सारिएका पौडेल शेरबहादुर देउवासँगको प्यानलबाट महामन्त्रीका उम्मेदवार थिए । थापा र शर्माले महामन्त्री जित्दा पौडेल पराजित भएका थिए ।

त्यसपछि उनी सिटौला समूह छाडेर गगनसँग जोडिएका हुन् । थापा नेतृत्वको टिममा सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला पन्त पनि तत्कालीन संस्थापन पक्षतिर थिइन् । बदलिएको समयसँगै नेतृत्व परिवर्तनको मुद्दा बोकेर अघि बढेकी थिइन् । बागमतीका तत्कालीन मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामा कुनै बेला देउवाको भित्रिया मानिन्थे । तिनै लामा अहिले नेतृत्व परिवर्तनको पक्षमा उभिए । विशेष महाधिवेशनबाट जनजातितर्फको क्लस्टरबाट सहमहामन्त्री भएका छन् ।

खस आर्य क्लस्टरबाट सहमहामन्त्री भएका उदयशमशेर राणा पनि देउवाका विश्वासपात्र थिए । तर, जेन–जी आन्दोलनपछि राजनीतिक अवस्था बदलिएको भन्दै उनी पनि गगन–विश्वकै टिममा जोडिएका छन् । थारू क्लस्टरका अर्का सहमहामन्त्री योगेन्द्र चौधरी संस्थापन पक्षका बलियो खम्बा थिए । उनले पहिला विजयकुमार गच्छदारसँग लामो सहयात्रा गरेका थिए । गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) २०७४ को चुनाव अगाडि कांग्रेसमा विलय भएपछि देउवासँग नजिक भए । दाङका चौधरी संस्थापन पक्षभित्र २१ फागुनको चुनाव अगाडि महाधिवेशन गर्नुपर्ने अडानमा थिए ।

कोइराला परिवारसँग राजनीतिको लामो सहयात्रा गरेका फरमुल्लाह मन्सुर यसअघि पनि पार्टीका सहमहामन्त्री नै थिए । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि मन्सुर देउवासँग जोडिएका हुन् । मुस्लिम क्लस्टरबाट सहमहामन्त्री निर्वाचित मन्सुरले पनि भदौ २३/२४ को घटनापछि विचार बदलेका हुन् ।

केन्द्रीय कार्यसमितिमा पहिलोपल्ट थापालाई भावी प्रधानमन्त्री र पार्टीको नेतृत्व सुम्पिनुपर्ने धारणा राखेर उनी पुरानो संस्थापनबाट टाढिएका थिए । डोल्पाका नेता कर्णबहादुर बुढा पिछडिएको क्लस्टरबाट सहमहामन्त्री भएका छन् । उनी २०७६ मा राप्रपाबाट कांग्रेस प्रवेश गरेका थिए । राप्रपामा सहमहामन्त्री भएका बुढाले प्रतिनिधिसभा चुनाव भने जित्न सकेका छैनन् । 

विशेष महाधिवेशनमा आएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ देउवाका कुनै बेलाका कोर समूहका नेता थिए । जेन–जी आन्दोलनपछि पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिइसकेपछि पुनः राजनीतिमा सक्रिय भएर शक्ति अभ्यास गर्न थालेको भन्दै आक्रोशित हुँदै विशेष महाधिवेशनमा आइपुगेका थिए । अहिले उनी केन्द्रीय सदस्य छन् ।

त्यस्तै संस्थापन पक्षमा रहेका चिनकाजी श्रेष्ठ, भरत शाह, सुरेन्द्रप्रसाद चौधरी, अमृत अर्याल, ध्रुव वाग्ले, विनोद चौधरी, मोहन आचार्य, देवप्रसाद तिमिल्सिना, जयराम लामिछाने सबै अहिले विशेष महाधिवेशन भृकुटीमण्डपबाट पार्टीको केन्द्रीय सदस्य भएका छन् । 

पार्टीको पुरानै विधानअनुसार विशेष महाधिवेशनबाट १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । निर्वाचित केन्द्रीय कार्यसमितिको बिहीबार पहिलो बैठक बसेर चुनावको घोषणापत्र तयार पार्नेदेखि पार्टी परिचालन गर्न उपसभापति शर्माको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको केन्द्रीय सदस्य सुवास पोखरेलले बताए । घोषणापत्रको जिम्मेवार भने सभापति थापा आफैंले लिएका छन् । थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको अद्यावधिका लागि बिहीबार नै निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

कुलचन्द्र न्यौपाने

Link copied successfully