दलहरूलाई निर्वाचन घोषणापत्र लेख्न भ्याइनभ्याइ

पुराना दललाई नयाा मुद्दा अघि सार्ने चुनौती, नयाँ दललाई पुरानाभन्दा फरक र नौला मुद्दा अघि सारी मतदाताको मन जित्ने परीक्षा 

माघ २, २०८२

गंगा बीसी

Parties are struggling to write election manifestos

What you should know

काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई आकर्षित गर्ने मुद्दासहित प्रमुख राजनीतिक दल घोषणापत्र लेख्ने तयारीमा जुटेका छन् । नयाँ र पुराना दलबीच प्रतिस्पर्धा हुने भएकाले दलहरूले राम्रो घोषणापत्र लेख्न तीव्र तयारी थालेका हुन् । 

गत भदौको जेन–जी आन्दोलनपछि पुराना दललाई नयाँ मुद्दा अघि सार्ने चुनौती छ । नयाँ दललाई पनि पुरानाभन्दा फरक र नौला मुद्दा अघि सारी मतदाताको मन जित्ने परीक्षा छ । विगतका निर्वाचनमा निर्वाचन घोषणापत्रमा कार्यान्वयन हुन नसक्ने विषय राखेको भन्दै चर्को आलोचना भएकाले यस पटकको निर्वाचनमा पुराना दलले सचेततापूर्वक गर्न सक्ने ठोस कार्यक्रम मात्र राख्ने दाबी गरेका छन् । 

नयाँ दलले नयाँ नेपालको सपनासहित घोषणापत्र तयार गर्दै छन् । कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी आफूहरू पटकपटक सत्तामा भए पनि अपेक्षित रूपमा काम गर्न नसकेको स्विकार्दै घोषणापत्रमा विशेष कार्यक्रम समेट्ने गृहकार्यमा छन् ।

कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र लेख्ने निर्णय भएको छ । महाधिवेशनपछि बिहीबार बसेको पहिलो बैठकले थापाको नेतृत्वमा घोषणापत्र लेख्ने निर्णय गरेको केन्द्रीय सदस्य सुभाष थापाले जनाए । विशेष महाधिवेशनमा पारित तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका आधारमा घोषणापत्र लेख्ने तयारी भइरहेको उनको भनाइ छ । 

एमालेले पनि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र लेखन कमिटी गठन गरेको छ । गत निर्वाचनमा जस्तै ‘समृद्ध नेपाल : सुखी नेपाली’ को मूल नारालाई यस पटक निरन्तरता दिने उसको तयारी छ । निर्वाचनमा एमालेलाई ‘निर्णायक राष्ट्रिय शक्ति बनाउने’ संकल्पसहित घोषणापत्र लेख्न थालिएको नेता प्रदीप ज्ञवालीले बताए ।

‘लोकतन्त्रलाई कसरी लयमा फर्काउने र राज्यलाई कसरी बलियो बनाउने भन्नेबारे राजनीतिक विषय समेटिनेछ,’ उनले भने, ‘सुशासन, सरकारले दिने डेलिभरी, आर्थिक समृद्धि, जलवायु परिवर्तनको सामना, सूचना प्रविधिको विकास र यसको सहयोगले गर्न सक्ने उन्नतिमा घोषणापत्र केन्द्रित गर्नेछौं ।’ कार्यान्वयन गर्न सकिने विषय राखेर घोषणापत्र तयार गरिने उनको भनाइ छ । ‘विगतमा घोषणापत्रका कतिपय विषय लागू भएका छन् । कतिपय भएनन्, हामी लेखाजोखा गर्छौं’ ज्ञवालीले भने । 

अध्यक्ष ओलीको संयोजकत्वको घोषणापत्र लेखन कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । नेपाली कम्युनिस्ट पार्टीले मुख्य गरी आफ्नो सरकारका पालाका विषयलाई प्राथमिकतामा राख्दै सुशासन, सामाजिक न्याय र समृद्धिको प्रमुख मुद्दा बनाउने भएको छ । 

यसअघिको चुनावमा तत्कालीन माओवादीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दा उठाएको थियो । अहिले बनेको नेकपाले भने त्यसलाई स्पष्ट रूपमा अघि सार्ने विषय टुंगिएको छैन । तर शासकीय स्वरूपमा परिवर्तन गर्न संविधान संशोधनको विषय भने समेट्ने उसको तयारी छ । जेन–जी आन्दोलनको भावनालाई घोषणापत्रमा उतारेर त्यसको केही अंश स्वामित्व लिने उसको दाउ छ । 

नेकपाको घोषणापत्र लेखन समितिका सदस्य हरिबोल गजुरेलले यसअघि आफ्नो पार्टी नेतृत्वमा रहँदा गरेका सकारात्मक कामहरूलाई प्राथमिकतामा राखेर आगामी दिनमा गर्न सक्ने प्रतिबद्धता व्यक्त गर्ने बताए । ‘अबको आवश्यकताअनुसार हामीले निर्वाचन प्रतिबद्धतापत्र बनाउँदै छौं,’ उनले भने ।

राजनीतिक, आर्थिक विषय, सामाजिक क्षेत्र, प्रशासनिक विषयको उपसमूह बनाएर घोषणापत्र तयार गरिने घोषणापत्र लेखन समितिका अर्का सदस्य राजेन्द्र श्रेष्ठले जनाए । ‘राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र सामाजिक न्यायलाई मूल समेटेर जान्छौं । यथास्थितिवाद र प्रतिगमनविरुद्ध प्रतिबद्धता जाहेर गर्छौं,’ उनले भने ।

घोषणापत्र लेखन समितिमा नेता प्रमेश हमाल, भीम रावल, देव गुरुङ, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, हरिबोल गजुरेल, राजेन्द्र श्रेष्ठ, पम्फा भुसाल, रामचन्द्र झा, हरि चौधरी, हाकिकुल्ला खाँ, अजम्बर काङबाङ छन् । राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष मीनबहादुर श्रेष्ठ पनि समितिमा छन् । अन्य सदस्यमा पुष्प राजकर्णिकार, चन्द्रमणि अधिकारी, अचलराज पाण्डे, इन्दु आचार्य, डीपी ढकाल, बलराम बाँस्कोटा, युवनाथ लम्साल, प्रेम खनाल, जया कार्की, नहेन्द्र खड्का र गोकर्ण भट्ट छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा घोषणापत्र लेख्न थालेको छ । रास्वपालाई किन छान्ने खाकासहित घोषणापत्र लेखिने वाग्लेको भनाइ छ । ‘हामी रास्वपालाई किन छान्ने प्रस्ट आधार दिन्छौं । निषेधदेखि विस्फोटसम्म रास्वपाको उदयको कथा समेट्नेछौं,’ वाग्लेले भने, ‘अर्थराजनीतिक प्रस्ताव व्याख्या गर्छौं । क्षेत्रगत विषय त्यसमा पर्छन् । पूर्वाधार र परराष्ट्र सम्बन्धमा कहाँ पुग्ने, कहाँ जाने स्पष्ट खाका दिनेछौं ।’ काठमाडौंका मेयर बालेन्द्र शाहले गरेको कामको व्याख्या पनि रास्वपाको घोषणापत्रमा समेटिनेछ । ‘काठमाडौंमा बालेन्द्र शाह मेयर भएपछि भएका काम देखाउनेछौं,’ उनले भने । घोषणापत्रको मुख्य जोड सुशासन, रोजगारी र उत्पादनमुखी अर्थतन्त्र हुने रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले बताइन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत, उज्यालो नेपाल, नेकपा संयुक्तलगायत दल पनि निर्वाचन घोषणापत्र लेखनको तयारीमा जुटेका छन् ।

घोषणापत्र राम्रा भए पनि कमजोरी कार्यान्वयनमा छ

Parties are struggling to write election manifestosखिमलाल देवकोटा, पूर्वसांसद 

राजनीतिक दल निर्वाचन घोषणापत्र लेखनमा जुटेका छन्, गएको निर्वाचनका घोषणापत्र कार्यान्वयनको अवस्था कस्तो छ ?

गएका निर्वाचनमा मैले सबै दलका घोषणापत्र पढेको छु । संघीयता कार्यान्वयनको पाटोबाट हेरेको छु । तर पार्टीहरूमा इमानदारी देखिएन । घोषणापत्रमा बोल्ने एउटा, व्यवहार अर्को देखिएको छ । उदाहरणका लागि कांग्रेस–एमाले गठबन्धनको सरकारले संविधान संशोधनको विषय उठाए पनि उनीहरू कार्यान्वयनमा गएनन् । विगतमा कांग्रेस, एमाले, माओवादीको घोषणापत्र राम्रा थिए । आर्थिक समृद्धि, सुशासन, संघीयता कार्यान्वयन, निर्वाचन प्रणालीको सुधारका कुरा थिए । प्रदेश प्रहरी, कर्मचारी समायोजनलगायत विषय थिए । तर सरकारमा गएपछि आफ्नै चुनावी घोषणापत्र तिनले पल्टाएर पढेको पाइएन । 

आसन्न निर्वाचनमा मतदाताले घोषणापत्र पत्याउने आधार के हुन्छ ?

मतदाताले घोषणापत्र हेरेर पार्टीलाई भोट दिने हो । संविधान संशोधन गरेर सुशासन, भ्रष्टाचार निवारण र निर्वाचन प्रणाली सुधार गर्नुपर्नेछ । यी सबै विषय घोषणापत्रमा स्पष्ट आउनुपर्छ । जनताले घोषणापत्र हेरेर प्रश्न गर्नुपर्‍यो कि, विगतमा वाचा किन पूरा भएनन् । प्रधानमन्त्री कति पटक हुन पाउने हो, कार्यकाल तोक्नुपर्‍यो । मन्त्रीको कार्यकाल तोक्नुपर्‍यो । सांसदको कार्यकाल तोक्नुपर्‍यो । नेताहरूलाई एकै पटक रोक्न खोजियो भने तिनले संविधानको बार भत्काइदिन्छन् । त्यसैले बिस्तारै सुधार गरेर जानुपर्छ । 

गंगा

Link copied successfully