महान्याधिवक्ताको कार्यालय इतिहासकै लागि लज्जाको विषय बनेको छ । जनताको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्याधिवक्ता कार्यालयले तिर्छ ?’
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा संघर्ष गरेर ढाल्ने बताएका छन् ।
४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरु नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको स्पष्ट पारे ।
नेपालमा नेपालीको सरकार हुनुपर्छ भन्नेहरुका घर र पार्टी कार्यालय छानीछानी आगो लगाइएको, कार्यापालिका, न्यायपालिका र राष्ट्रका मुख्य संरचना तथा राष्ट्रिय उद्योगहरु जलाइएको उल्लेख गर्दै उनले अहिले थिति र विधिको शासन नभई जथाभावी शासन चलाइएको आरोप लगाए । 'अहिले दुनियाँमा भइरहेको शासनको प्रतिबिम्ब नेपालमा देख्न सकिन्छ । अहिले कसैको सम्पत्ति खाएको छ भने पनि मुद्दा लाग्दैन, हिजो लागेका अभियोग सच्याइन्छ र चुनावका लागि त्यस्ता मान्छेलाई हिरो बनाइन्छ,' उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्दा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयमा आपत्ति जनाउँदै ओलीले प्रश्न गरे, 'अहिले महान्याधिवक्ताको कार्यालय इतिहासकै लागि लज्जाको विषय बनेको छ । जनताको हिनामिना भएको पैसा कसले तिर्छ ? महान्याधिवक्ताको कार्यालयले तिर्छ ?’
