कांग्रेसभित्र गगन-विश्वको विद्रोह : जेन-जीको नयाँ आशा

जेन-जी अगुवाहरुले गगन-विश्वप्रकाशसँग सहकार्यको सम्भावनासमेत रहेको बताएका छन् ।

माघ १, २०८२

दया दुदराज

Gagan-Vishwa's rebellion within the Congress: Gen-G's new hope

What you should know

काठमाडौँ — नेपाली कांग्रेसभित्र गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेतृत्वको कार्यशैलीप्रति गरेको विद्रोहलाई जेन-जीले सकारात्मक रूपमा लिएका छन् । 

वर्षौँदेखि शीर्ष नेताहरूको पकडमा रहेको राजनीतिमा युवा नेताहरूको यो कदमले पुस्तान्तरण र सुशासनको नयाँ बहस छेडेको उनीहरू बताउँछन् । 

सडक आन्दोलन र सामाजिक सञ्जालमार्फत राजनीतिक सुधारको वकालत गर्दै आएका जेन-जी अभियानका अगुवाहरूले कांग्रेसभित्रको यो हलचललाई 'आशाको किरण' का रूपमा टिप्पणी गरेका छन् । 

जेन-जी आन्दोलनकी अभियन्ता तथा जेन-जी फ्रन्टकी संयोजक रक्षा बमका अनुसार गगन र विश्वप्रकाशको विद्रोह लामो समयदेखि एउटै व्यक्तिको हातमा रहेको पार्टी सत्ताविरुद्धको सम्मानजनक कदजेम हो । 'हाम्रो आन्दोलनले शीर्ष तीन नेता (शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल) लाई सम्मानजनक बहिर्गमनको अवसर दिएको थियो, तर उनीहरूमा चरम सत्तामोह देखियो,' कान्तिपुरसँगको कुराकानीमा उनले भनिन् ।

'दाहालले सुरुमा आन्दोलनको मर्म बुझेको जस्तो गरे पनि पछि आफै नेतृत्वमा आउने चाल चले । ओली त झन् विधानै मिचेर पुन: आफै नेतृत्वमा पुगे । देउवाले सुरुमा लचकता देखाए पनि अन्ततः आफ्नै स्वरूप प्रकट गरे । उनीहरु तीनैजनाले चाहेको भए अविभावककै रुपमा बसेर पनि देशलाई सेवा गर्ने अवसर थियो । तर उनीहरुले जनतालाई छलेर अगाडि बढ्न खोजे । यो आन्दोलनको मर्मविपरीत हो,' बम भन्छिन्, 'गगन र विश्वको विद्रोहले नेपालको राजनीति तीन शीर्ष नेताको चंगुलबाट बाहिर आउन लागेको महसुस गराएको छ ।'

जेन-जी अभियन्ता भावना राउत पनि कांग्रेसभित्र देखिएको यो लोकतान्त्रिक अभ्यासलाई सकारात्मक मान्छिन् । 'कांग्रेसभित्र भएको लोकतान्त्रिक अभ्यासलाई मैले निकै सकारात्मक रुपमा लिएको छु । जेन-जीले चाहेको यही हो । राजनीतिमा पुस्तान्तरण हुनुपर्छ भन्ने हाम्रो माग थियो,' उनले भनिन्, 'एमालेभित्र त्यो हुन सकेन । एमाले जनले जे चाहेका थिए त्यही भयो । तर काग्रेसले पुस्तान्तरण हुनुपर्छ भनेर स्वीकारेको छ ।'

जेन-जी मुभमेन्ट अलायन्सका प्रतिनिधि रिजन राना मगरले भने गगन-विश्वप्रकाशको कदमलाई जेन-जी आन्दोलनको निरन्तरताका रुपमा लिए । 'उहाँहरुले जेन-जी आन्दोलनलाई स्वीकार्दै त्यसलाई निरन्तरता स्वरुप गरकेो विद्रोहमा हामी खुसी छौँ,' उनले भने । 

अर्का अभियन्ता अर्णव चौधरीका अनुसार शक्ति एउटै पुस्तामा केन्द्रित हुने परम्परा तोडिनु नै जेन-जीको जित हो । उनले भने, 'गगन र विश्वप्रकाशको विद्रोहले सुशासनको आशा जगाएको छ र यसलाई हामीले एउटा सम्मानजनक कदमका रूपमा लिएका छौँ ।'

नयाँ आशासँगै गगन र विश्वप्रकाशको विद्रोह नयाँ राजनीतिक दलहरुका लागि पनि थ्रेट रहेको उनले बताए । 'नयाँ भनिएकाहरु पनि नयाँ छैनन् । उनीहरु पनि सच्चिनुपर्ने छ,' अर्णवले भने, 'गगन-विश्वप्रकाशको आगमन नयाँ राजनीतिक दलका लागि पोलिटिक थ्रेट पनि हो ।'

आन्तरिक लोकतन्त्र सुदृढ नभए दलहरूको सान्दर्भिकता सकिने तर्क गर्दै उनले नयाँ पुस्ताको आवाज सुन्ने नेतृत्वलाई नागरिक दबाब समूहको तर्फबाट प्रोत्साहन मिलिरहने बताए ।

'गगन-विश्वसँग सहकार्यको सम्भावना'

जेन-जी अगुवाहरुले गगन-विश्वप्रकाससँग सहकार्यको सम्भावना रहेको बताएका छन् । उनीहरुले सहकार्यको प्रस्ताव गरे के गर्नुहुन्छ भन्ने कान्तिपुरको प्रश्नमा जेन-जी अभियन्ता राउतले गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाए सहकार्य सम्भव रहेको बताइन् ।

राउतका अनुसार यदि कांग्रेसले संविधानको मर्म र युवा पुस्ताको मागलाई सम्बोधन गर्दै गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेमा भविष्यमा सहकार्यको सम्भावना रहन्छ । 

'हामीले सुरुदेखि नै संविधान र लोकतन्त्रको पक्षमा वकालत गर्दै आएका छौँ । कांग्रेसले संविधानलाई आत्मसाथ गर्दै जेन-जी आन्दोलनका माग र सम्बोधनलाई आत्मसात गर्‍यो भने भोलि सहकार्यको सम्भावना रहन्छ,' उनले भनिन्, 'राजनितिमा टाइम भन्ने कुरा पनि हुन्छ  ।अहिले नयाँ भनिएको रास्वपालाई पाको हुन समय लाग्छ । अझै केही समय लाग्न सक्छ तर कांग्रेसले गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनायो भने सहकार्य गर्ने सम्भावना रहन्छ ।'

त्यस्तै अर्का अभियान्ता रक्षा बमले पनि जेन-जी आन्दोलनलाई अपनत्व लिएमा सहकार्य सम्भव रहने बताइ्न । 'परिवर्तनका लागि अथवा हाम्रो आवाज, हाम्रो आन्दोलनको अपनत्व लिने हरेक दलसँग सहकार्य गर्न तयार छौं, गगन-विश्वसँग मात्रै होइन । हामीले चाहेको सुधार र परिवर्तन हो । तर अब राजनीतिक रुपमै सहकार्यचाहिँ समयले नै बताउँछ होला,' उनले भनिन्,  'यो मेरो व्यक्तिगत कुरा हो । तर जेन-जी फ्रन्टको सवालमा हामी राजनीतिक रुपमा अगाडि बढ्दैनौं । हामी अहिले सिभिल सोसाइटीको रुपमै रहन्छौं । सडकमै हुन्छौं । तर फ्रन्टबाट कुनै साथी आफूले इच्छा लागेको राजनीतिक दलमा गएर आबद्ध हुन सक्छन् ।'

जेन-जी मुभमेन्ट अलायन्सका रिजन मगरले आफूहरुले नयाँ राजनीतिक आयाम परिवर्तनमा सहकार्य गर्न सकिने बताए । उनी भन्छन्, 'चुनावी राजनीति (इलेक्टोरल पोलिटिक्स) मा तत्काल सहकार्य नभए पनि राजनीतिक आयामलाई परिभाषित गर्ने क्रममा हामी साथ दिन तयार छौँ ।' 

उनले नागरिक दबाब समूहको आवश्यकता औँल्याउँदै भने, 'हामीलाई शासक होइन, सेवक सरकार चाहिएको हो । आजको विखण्डित नागरिक समाजको ठाउँमा एउटा तटस्थ र चेतनशील समूह निर्माण गरी राम्रो कामको समर्थन र नराम्रोको आलोचना गरिरहनेछौँ ।'

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully