‘साथीहरुलाई लागेको छ, रुख र झन्डा के हुन्छ ? कांग्रेस एउटै छ । यहीँ छ । यहीँ रहन्छ । कसैले लैजान्न । उभिने कहाँ हो ? जहाँ विशेष महाधिवेशन भएको छ, त्यहीँ उभिने हो । कांग्रेस जहाँ छ, त्यहीँ रुख झन्डा हुनेछ ।’
काठमाडौँ — विशेष महाधिवेशन पक्षधर नेता गगन थापाले पार्टीको झन्डा र रुख चिह्न विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिसँग नै हुने बताएका छन् । उनले संविधान र कानुले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई चिनिने बताए ।
‘संविधान र कानुनको माथिको विश्वासको आधारमा यो विशेष महाधिवेशन भएको छ । यो विशेष महाधिवेशनले जे निर्णय गर्छ, संविधानले उसैलाई मान्छ । निर्वाचन आयोगले उसैलाई मान्छ’ विशेष महाधिवेशनको हललाई सम्बोधन गर्दै थापाले भने, ‘साथीहरुलाई लागेको छ, रुख र झन्डा के हुन्छ ? कांग्रेस एउटै छ । यहीँ छ । यहीँ रहन्छ । कसैले लैजान्न । उभिने कहाँ हो ? जहाँ विशेष महाधिवेशन भएको छ, त्यहीँ उभिने हो । कांग्रेस जहाँ छ, त्यहीँ रुख झन्डा हुनेछ ।’
