अन्य दलहरू भन्छन्, ‘लोकतन्त्रमा सबभन्दा पुरानो दल कांग्रेसमा विभाजन दुःखद’

पुराना र नयाँ पुस्ताको संघर्षले कांग्रेस विभाजन भएपछि अन्य दलका नेताहरूको चासो निर्वाचन आयोगबाट पाउने मान्यता र जारी निर्वाचन प्रभावित हुने सम्भावनाप्रति रहेको छ ।

पुस ३०, २०८२

गंगा बीसी

Other parties say, 'The split in the oldest party in democracy, Congress, is sad'

What you should know

काठमाडौँ — सबभन्दा पुरानो र ठूलो दल कांग्रेस विभाजन भएकामा अन्य दलहरूले दुःख व्यक्त गर्दै यसले मुलुकको राष्ट्रिय राजनीतिमा नकारात्मक प्रभाव पार्ने बताएका छन् ।

पुराना र नयाँ पुस्ताको संघर्षले कांग्रेस विभाजन भएपछि अन्य दलका नेताहरूको चासो निर्वाचन आयोगबाट पाउने मान्यता र जारी निर्वाचन प्रभावित हुने सम्भावनाप्रति रहेको छ ।

नेताहरूले कांग्रेस विभाजनपछि हुने आधिकारिक विवादले आसन्न निर्वाचन कार्यतालिका प्रभावित नहुने गरी निर्वाचन आयोगलगायत सम्बन्धित निकायले समाधान दिनुपर्ने सुझाव दिएका छन् ।

यो दुःखद घटना हो, तर कांग्रेस विभाजनले निर्वाचन प्रभावित हुनुहुन्न : माधवकुमार नेपाल, सहसंयोजक, नेकपा नेकपा सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कांग्रेस विभाजन दुःखद घटना भएको बताउँछन् । ‘पार्टीभित्रको विवादलाई आन्तरिक रूपमा समाधान हुन नसक्दा यो अवस्था आएको हो, तर यो विभाजनले आसन्न निर्वाचन प्रभावित हुनुहुन्न,’ उनले भने । इतिहासमा ठूलो भूमिका खेलेको कांग्रेसले समस्या समाधान गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

‘कांग्रेस विभाजन वास्तवमा दुःखद हो, पार्टी फुट्नुपर्छ भन्ने पक्षमा म छैन । विचार एक छ भने बाँकी कुरामा सहमति गर्नुपर्छ, समयको माग के हो ख्याल गर्नुपर्छ, कार्यकर्ताको मागलाई ध्यान दिनुपर्छ,’ उनले भने, ‘इतिहासका अनेकौं मोडमा कांग्रेस नेताहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्, २००७ देखि हालसम्म इतिहासमा ठूलो भूमिका खेलेको कांग्रेसले अहिले पनि यो चुनौतीको सामना गरेर अघि बढ्नेछ भन्ने मेरो विश्वास छ ।’ तर विभाजनले कांग्रेसलाई निकै नोक्सान पुर्‍याउने उनले बताए ।

एमाले उपाध्यक्ष गोकर्ण विष्ट कांग्रेस विभाजनले राजनीतिक अस्थिरतालाई सहयोग पुग्ने बताउँछन् । ‘पार्टीको आन्तरिक लोकतन्त्रलाई सीमाभित्र रहेर बलियो बनाउनु उपयुक्त हुन्थ्यो,’ उनले भने, ‘यो विभाजनले देशको राजनीतिलाई प्रभाव पार्छ । निर्वाचनको मोहललाई असज बनाउँछ । पार्टी विभाजन हुनु भनेको लोकतन्त्रका लागि सुखद होइन ।’

लोकतन्त्रका लागि सुखद होइन, निर्वाचनमा कांग्रेसलाई समेत असर पार्ने जोखिम छ : गोकर्ण विष्ट, उपाध्यक्ष, एमाले उनले कांग्रेस विभाजनले निर्वाचन कार्यक्रमलाई समेत असर पार्ने जोखिम रहेको बताए ।

लोकतन्त्रको संस्थागत विकास प्रभावित हुनेछ, निर्वाचन परिणाममा समेत फेरबदल हुनेछ : शिशिर खनाल, नेता, रास्वपा रास्वपाका नेता शिशिर खनाल कांग्रेस विभाजनले दीर्घकालीन रूपमा लोकतन्त्रको संस्थागत विकास र तत्काल निर्वाचन परिणाममा फेरबदल ल्याउने बताउँछन् । ‘लामो इतिहास भएको लोकतान्त्रिक दल विभाजन हुनु दुर्भाग्यपूर्ण छ,’ उनले भने, ‘प्रतिस्पर्धी दलहरू बलिया भए लोकतन्त्र बलियो हुन्छ । कांग्रेस विभाजनले आगामी निर्वाचनमा आउने परिणामलाई फरक पार्ने भएकाले लोकतन्त्रलाई संस्थागत गर्ने सवालमा समेत यसले क्षति पुर्‍याउँछ ।’

कांग्रेस विभाजनले चुनावी परिणामभन्दा मुलुकको राजनीति बढी प्रभावित हुनेछ : राजेन्द्र लिङ्देन, अध्यक्ष, राप्रपा उनले कांग्रेसको आधिकारितासम्बन्धी विवादलाई निर्वाचन आयोगले छिटो निर्क्योल गर्नुपर्ने बताए । ‘आयोगको काम चुनाव गराउने र दलका विवाद निर्क्योल गर्ने हो,’ उनले भने, ‘आयोगले यसबारे छिटो निर्णय दिनुपर्छ । रातदिन काम गरेर सकेसम्म छिटो टुंग्याउनुपर्छ ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचनको मुखमा कांग्रेस विभाजनले नेपालको तरल राजनीतिलाई झनै प्रभावित बनाएको ठान्छन् । ‘देशको पुरानो ठूलो दल कांग्रेस निर्वाचनको मुखमा विभाजन भएको छ, मुलुकको राजनीति गम्भीर तरल अवस्थामा रहेकाले कुनै पनि अर्थमा यो विभाजन सुखद होइन,’ उनले भने, ‘प्रजातान्त्रिक व्यवस्थामा दलहरूको विभाजन आफैंमा राम्रो होइन ।’ कांग्रेस विभाजनले चुनावी परिणामभन्दा मुलुकको राजनीति बढी प्रभावित गर्ने उनको भनाइ छ ।

गंगा

Link copied successfully