मनोनयनपत्रमा हस्ताक्षरकर्ताको नाम परिवर्तन गरिदिन आयोग लचक

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १९ मा मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारीको नाम र हस्ताक्षर नुमना राजनीतिक दलले आयोगमा बुझाउनुपर्ने प्रावधान छ ।

पुस ३०, २०८२

राजेश मिश्र

Commission flexible to change name of signatory on nomination paper

What you should know

काठमाडौँ — राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई दलका तर्फबाट प्रदान गरिने मनोनयन पत्रमा यसअघि तोकिएको हस्ताक्षरकर्ताको नाम सम्बन्धित पार्टीले चाहेमा त्यसलाई परिवर्तन गरिदिन आयोग लचिलो देखिएको छ ।

कांग्रेसमा मनोनयन पत्रमा हस्ताक्षरकर्ताका विषयलाई लिएर विवाद देखिएको छ । आयोगमा कांग्रेसका तर्फबाट मनोनयन पत्रमा हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिमा सभापति शेरबहादुर देउवाको नाम र उनको हस्ताक्षरको नुमना पठाइएको छ ।

देउवाले कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइसकेपछि पनि आयोगमा उनको नाम पठाइएकोमा पार्टीभित्र विरोध बढेको छ । विशेष महाधिवेशन पक्षधरको मागमा मनोनयन पत्रमा हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिबाट देउवाको नाम हटाएर कावा सभापति खड्का वा अन्य पदाधिकारीको नाम पठाइनुपर्ने पनि छ । देउवा त्यसका लागि लचिलो भएको बुझिएको छ ।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १९ मा मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारीको नाम र हस्ताक्षर नुमना राजनीतिक दलले आयोगमा बुझाउनु पर्ने प्रावधान छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन १–१४ मंसिरमा निर्धारित समय सीमाभित्र दलले त्यस्तो पत्र र हस्ताक्षरको नुमना पनि बुझाउनु पर्ने थियो । त्यसै अनुसार सबै दलले मनोयन पत्र(पार्टीबाट उम्मेदवारलाई दिइने टिकट) मा हस्ताक्षर गर्ने व्यक्तिको नाम र ति पदाधिकारीको हस्ताक्षर आयोगमा बुझाएका थिए ।

कांग्रेस पार्टीभित्रको विवादलाई हेर्दै आयोग त्यसलाई बदल्ने विषयलाई ठूलो मुद्दा नबनाउने मनस्थितिमा छ । आयोगको कानुन महाशाखाका एकजना अधिकारीले मनोनयन पत्र कसले वितरण गर्ने त्यसमा कसको हस्ताक्षर रहने अधिकार सम्बन्धित दलको रहेकाले त्यसमा फेरबदल गर्नुपर्ने भए गरिदिन आयोग लचक रहेको बताए ।

ऐनमा उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने मिति अगावै आयोगले तोकेको अवधिभित्र आयोगलाई सम्बन्धित दलले त्यस्तो नाम र हस्ताक्षर बुझाउनुपर्ने उल्लेख छ । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदैछ । हस्ताक्षरको नमुना आयोगले देशैभरका निर्वाचन अधिकृतलाई पठाउनुपर्छ । हस्ताक्षर परिवर्तन गरिएको खण्डमा त्यसलाई देशैभर पठाउनुपर्ने हुन्छ ।

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी दुई दल एकीकरण प्रक्रियामा आयोगमा निवेदन दिएका छन् । ती दुई दलले यसअघि मनोनयन पत्र प्रदान गर्ने पदाधिकारीको अलग–अलग नाम पठाएका थिए । एकीकरण प्रक्रियामा आइसकेपछि दुवै दलले संयुक्त हस्ताक्षरबाट टिकट वितरण गर्ने निवेदन आयोगमा दिएका छन् । 

मनोनयन पत्रमा जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर दुवैजनाको हस्ताक्षर रहने गरी उनीहरुका तर्फबाट निवेदन प्राप्त भएको आयोग स्रोतले उल्लेख गरेको छ । उनीहरुको माग अनुसार पनि आयोगले निर्णय गरिदिनुपर्ने छ ।

आयोगमा त्यसबारे कुनै सोधनी भएको वा पत्राचार भने भइसकेको छैन । कानुनले हस्ताक्षर परिवर्तन गर्न सकिनेबारे केही बोलेको छैन । त्यस्तो माग भइ आएमा आयोगले त्यसबारे आवश्यक निर्णय लिने कानुनका अधिकारीले बताए ।

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully