माघ ४ गते अपराह्न जनकपुर आउने बालेन मनोनयन गरेर ६ गते मात्र काठमाडौं फर्किने सेड्युल तयार ।
What you should know
जनकपुर — काठमाडौं वा झापा कुन ठाउँबाट निर्वाचन लड्ने संशय छँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई आफ्नै जन्मथलो महोत्तरीबाट चुनाव लड्न सुझाव दिइएको छ।
पार्टीका बहुसंख्यक सचिवालय सदस्यको सुझाव, महोत्तरी निर्वाचन क्षेत्र नं ३ का मतदातासँग मंगलबार काठमाडौंमा गरिएको छलफल र प्रधानमन्त्रीका उम्मेदवारले बृहत् क्षेत्र रोज्नुपर्ने सुझावपछि बालेनको जनकपुर भ्रमणको सेड्युल त्यहीअनुसार मिलाइएको रास्वपा सचिवालयका एक सदस्यले जानकारी दिए।
ती सदस्यका अनुसार माघ ४ गते अपरान्ह रास्वपा अध्यक्ष रवि लामिछानेसँगै जनकपुर आउने बालेन माघ ५ गते सोमबार बिहान जनकपुरस्थित जानकी मन्दिरमा पूजा गर्नेछन्। त्यसपछि बालेन पार्टी सभापति लामिछाने, उपाध्यक्ष स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सोविता गौतम र मंगलबार मात्रै पार्टी प्रवेश गरेका रहबर अन्सारीसँगै त्यो दिन दिनभर पार्टीका कार्यक्रममा व्यस्त रहनेछन्।
‘जनकपुरको तिरहुतिया गाँछीमा माघ ५ गते परिवर्तन उद्घोष सभाको आयोजना गरिएको छ,’ रास्वपाका प्रवक्ता झाले भने, ‘सबै नेताहरू त्यो सभालाई सम्बोधन गर्नुहुनेछ।’ रास्वपाले माघ ५ गते नै मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला पनि जनकपुरमै आयोजना गरेको छ। प्रवक्ता झाका अनुसार कार्यकर्ता भेलामा पनि पार्टीका शीर्ष नेताहरू उपस्थित रहनेछन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मंगलबार मनोनयन दर्ता हुँदैछ। रास्वपाका प्रवक्ता झाका अनुसार जनकपुरको सभामा सहभागी हुने पार्टी सभापति लामिछाने माघ ५ गते साँझ नै जनकपुरबाट चितवन फर्किनेछन्। उनी चितवन पुगेर माघ ६ गते मनोनयन दर्ता गर्नेछन्।
मनोनयन दर्ताको अघिल्लो दिन जनकपुरमा रास्वपाले गर्न लागेको परिवर्तनका लागि उद्घोष सभा बालेनको पार्टी प्रवेश पछिको पहिलो कार्यक्रम हो। जनकपुरको कार्यक्रममा सहभागी भएर नेताहरू माघ ५ गते नै आ–आफ्नो निर्वाचन क्षेत्र फर्किने भए पनि बालेनको भने माघ ६ गतेसम्म जनकपुरमै बस्ने सेड्युल छ।
रास्वपाका एक सचिवालय सदस्यका अनुसार काठमाडौं, झापा र महोत्तरीमध्ये बालेनलाई जन्मथलो महोत्तरी क्षेत्र नं ३ बाट नै चुनाव लड्न बहुसंख्यकले सुझाव दिएका छन्। ‘बालेन पनि त्यो क्षेत्रका मतदातासँग निरन्तर छलफल, परामर्श र भेटघाटमा छन्,’ ती सदस्यले भने, ‘उहाँले पनि इच्छा देखाउनुभएको छ। सबै अनुकूल भए महोत्तरीबाटै बालेनले मनोनयन दर्ता गराउने तयारी छ।’
महोत्तरी क्षेत्र नं ३ बाट पछिल्लो दुई निर्वाचन ०७४ र ०७९ मा मधेशवादी नेता महन्थ ठाकुर जित्दै आएका थिए। माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गराएका ठाकुरको त्यो क्षेत्रबाट बहिर्गमन भइसकेको छ। बालेनको जन्मथलो एकडारा गाउँ यही क्षेत्रमा पर्छ।
करिब १ लाख १० हजार मतदाता रहेका महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा सबैभन्दा बढी मत यादव समुदायको छ। ०७९ को निर्वाचनमा जसपा नेपालका उम्मेदवार हरिनारायण यादवले त्यहाँ दोस्रो ठूलो मत ल्याएका थिए। यादव पनि आगामी निर्वाचनमा त्यही क्षेत्रका आकांक्षी छन्। बालेनले रोज्न खोजेको महोत्तरी क्षेत्र नं ३ मा साह, ब्राह्मण–भूमिहार, मण्डल र मुस्लिम समुदायको मत बढी छ।
महोत्तरी क्षेत्र नं ३ मा जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, मनराशिसवा नगरपालिकाका ८–१० वडा, पिपरा गाउँपालिकाका १–५ र ७ वडा तथा बालेनको जन्मथलो रहेको एकडारा गाउँपालिकाका १–५ वडा समेटिएका छन्।
मधेश प्रदेशका जिल्लाहरूमा ‘अब कि बार, बालेन सरकार’ लेखिएका तुल र ब्यानर ठाउँ–ठाउँमा प्रदर्शन गरिएका छन्। मंगलबार महोत्तरीको बर्दिबासमा ‘अब कि बार, बालेन सरकार। युवाको भरोसा–बालेन’ लेखिएको ब्यानर बोकेर सयौँको संख्यामा युवाहरूले जुलुस निकालेका थिए। माघ ४ गते आइतबार जनकपुर आउने भएपछि सामाजिक सञ्जालमा बालेनले धोती–कुर्ता, कुर्ता–पाइजामा, गम्छा र पाग लगाएका वस्त्रमा एआईबाट बनाइएका तस्बिर र भिडियोहरू ठूलो मात्रामा पोस्ट गरिएका छन्।
यो पनि पढ्नुहोस् :
बालेन्द्रले गरे गृहजिल्ला महोत्तरीका रास्वपा कार्यकर्ता र आफन्तसँग छलफल
