संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललाई ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंले र केन्द्रीय सदस्यहरूलाई दाहाल र नेपाललाई शपथ खुवाए । केन्द्रीय समिति २ हजार ४ सय ९९ भए पनि कार्यकारी समिति ६०१ सदस्यीय बनाउने तयारी नेकपाको छ ।
What you should know
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । कात्तिक अन्तिम साता माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भएपछि साना दललाई मिसाउने क्रम अझै जारी छ । यसरी साना दल मिलाउँदै जाँदा केन्द्रीय समितिको आकार ठूलो बनेको हो ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार उपस्थिति करिब पाँच सय र अरूलाई प्रदेश र जिल्लाहरूमा भर्चुअल माध्यमबाट शपथ ग्रहण गराइएको छ ।
संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललाई ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंले र केन्द्रीय सदस्यहरूलाई दाहाल र नेपाललाई शपथ खुवाए । केन्द्रीय समिति २ हजार ४ सय ९९ भए पनि कार्यकारी समिति ६०१ सदस्यीय बनाउने तयारी नेकपाको छ ।
कात्तिक १८ मा पार्टी एकता गरे पनि बल्ल केन्द्रीय समितिको समायोजन गरिएको हो । प्रदेश, जिल्ला, पालिका र भ्रातृ, जनवर्गीय संगठनहरूको समायोजन गर्न अझै केही समय लाग्नेछ । एक साताभित्र सबै पार्टी संगठनको समायोजन गरिसक्ने नेकपाको दाबी छ । माओवादी, एकीकृत समाजवादीसहितको एकता सहमतिमा छ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएको थियो ।
शपथ ग्रहणपछि दाहालले एकतालाई ऐतिहासिक कदम भन्दै यसलाई थप बढाउने बताए । ‘राष्ट्र जुन असाधारण संकटको अवस्थामा छ । यसको सामना गर्न एकताबद्ध गर्ने, राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नका लागि असाधारण ठूलो पहल गर्यौं’ उनले भनाइ थियो, ‘नेपालको इतिहासमा उन्नाइस–बीस वटा पार्टीलाई समायोजन गरेर देशमा उत्पन्न संकटको समाधानको सुरुवात गर्यौं ।’
सहसंयोजक नेपालले पार्टी निर्माणको काम चुनौतीपूर्ण भएको उल्लेख गर्दै अनुशासित भएर अघि बढ्न केन्द्रीय सदस्यलाई निर्देशन दिए । ‘पार्टी निर्माणको काम निकै चुनौतीको काम हो’ उनले भने, ‘चुनावमा हाम्रो मतको रक्षा कसरी गर्ने ? चुनावमा देखापरेका विकृतिहरूको सामना कसरी गर्ने, पैसाको लेनदेनलाई रोक्ने कसरी, यी सबै कुराको सामना गर्नुपर्ने छ ।
सानो समूहहरू हरेक साताजस्तो नेकपामा प्रवेश गरेको देखिन्छ । यतिसम्म कि तीन, चार जना व्यक्तिको समूहलाई पनि दलको मान्यता दिएर नेकपामा मिलाइएको छ । सोमबार मात्र जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष शिवलाल थापा समूह र लिम्बुवान क्रान्तिकारी पार्टीका मनीष लिम्बू मिसिएका छन् ।
यसअघि एकीकृत माओवादीमा पदका लागि हानथाप भएपछि २०७३ मंसिरमा तत्कालीन अध्यक्ष दाहालले करिब चार हजार सदस्यीय महाधिवेशन आयोजक समिति बनाएका थिए । त्यसको व्यापक आलोचना भएपछि उनले त्यसलाई तीन सयभन्दा कममा झारेका थिए ।
पूर्वमाओवादी सचिव गणेश साहले नयाँ गठित केन्द्रीय समितिप्रति व्यंग्य गर्दै कम्युनिस्ट पार्टीको केन्द्रीय समितिकै अवमूल्यन भएको बताए । ‘कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले नीति निर्माण गरी राजनीतिक निर्णय लिनुपर्छ । केन्द्रीय समितिको एउटा गुणस्तर हुनुपर्छ’ उनले भने, ‘तर अब नेकपाको केन्द्रीय समितिको मर्यादा नै रहेन । नेकपाको गरिमाको अवमूल्यन गर्यो । यसले केन्द्रीय समितिको वैचारिक र सैद्धान्तिक स्तर झन् कमजोर बनाउँछ ।’
दाहालका लागि जम्बो केन्द्रीय समिति बनाउनु अनौठो विषय नभएको उल्लेख गर्दै साहले सहसंयोजक माधव नेपालको पनि उही गति देखिएको बताए । ‘प्रचण्डले चार हजारको केन्द्रीय कमिटी बनाएका थिए । २०७४ को निर्वाचनमा पार्टी तल झर्यो’ उनले भने, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो नेकपामा देखिँदै छ ।’
ठूलो केन्द्रीय समिति गठनलाई लिएर पार्टीभित्रै पनि असन्तुष्टि देखिएको छ । नेकपाका एक वरिष्ठ नेताले अस्वाभाविक ठूलो समिति बनाउनुका पछाडि आफ्नो राजनीतिक अस्तित्व जोगाउने स्वार्थ रहेको बताए । ‘जुनसुकै मुद्दा अघि सारे पनि जनताको विश्वास जित्न कठिन हुने अवस्था छ । पटक पटक सत्तामा गएकाले आफूले गरेको गतिलो काम यही हो भन्न गाह्रो छ’ नेकपाका एक वरिष्ठ नेताले भने, ‘त्यसैले जो आए पनि नेकपाको ढोका खुला राखेर एकता गरिएको छ । ठूलो समिति बनाउनुका पछाडि जे–जसरी भए पनि आगामी निर्वाचनमा आफ्नो अस्तित्व जोगाउने नीति र स्वार्थ नै हो ।’
नेकपा प्रवक्ता अग्निप्रसाद सापकोटाले सबै केन्द्रीय सदस्यलाई पालिकाको वडासम्म कार्यविभाजन गरी व्यवस्थापन गरिने बताए । पार्टीको कामकाजी ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति र महत्त्वपूर्ण निर्णय लिन केन्द्रीय सचिवालय बनाइने बताए । ‘केन्द्रीय सदस्यलाई वडा स्तरसम्म जिम्मेवारी दिएर व्यवस्थापन हुनेछ’ उनले भने, ‘केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय हुनेछ । त्यस्तै केन्द्रीय सचिवालयले तत्काल निर्णय गर्न सक्नेछ ।’ उनले पार्टीको कार्यनीतिक सवाल चुनाव भएकाले मात्रा बढाएर परिणाम निकाल्ने गरी अघि बढेको बताए ।
नेकपाका अर्का नेता प्रकाश ज्वालाले यो केन्द्रीय समिति महाधिवेशन आयोजक समिति भएकाले महाधिवेशन गरी चुस्त बनाइने बताए । ‘यो केन्द्रीय समिति महाधिवेशन आयोजक समितिजस्तै हो । चुस्त संगठन बनाउन महाधिवेशन हुनेछ’ उनले भने, ‘एकतामा आएकाहरू सबैलाई केन्द्रीय समितिमा समेट्ने नीति भएकाले ठूलो भएको हो ।’
२०७९ को निर्वाचनमा माओवादी तेस्रो दल भएको थियो । उसले प्रतिनिधिसभामा ३२ सिट जितेको थियो । माओवादीले ११ लाख ७५ हजार ६ सय ८४ मत पाएको थियो । समानुपातिकबाट १४ सिट पाएको थियो । एकतामा आएको एकीकृत समाजवादीले २ लाख ९८ हजार ३ सय ९१ मत ल्याएको थियो । कुल खसेको मतमा तीन प्रतिशत ल्याउन नसक्दा प्रत्यक्षमा १० सिट ल्याए पनि राष्ट्रिय पार्टी बन्न सकेन ।
माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादीसहित २० दल मिलेको नेकपामा सबभन्दा धेरै पूर्वमाओवादीका केन्द्रीय सदस्य छन् । माओवादीबाट ९ सय ९९ सदस्य र दोस्रोमा एकीकृत समाजवादीका ७ सय ३५ छन् । एकतामा आएको ग्रेटर नेपाल कम्युनिस्ट पार्टीका दुई जना मात्र केन्द्रीय सदस्य छन् । त्यस्तै महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टीका १ सय ५१, जसपा नेपाल छाडेर आएका राजेन्द्र श्रेष्ठका १ सय ३ र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका ५४ केन्द्रीय सदस्य छन् ।
नेकपा एकीकरणमा आएका पार्टीहरू :
पुष्पकमल दाहाल, नेकपा (माओवादी केन्द्र)
माधवकुमार नेपाल, अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)
महेन्द्रराय यादव, अध्यक्ष, नेपाल समाजवादी पार्टी
राजेन्द्र श्रेष्ठ, संयोजक, जसपा एकता पक्षधर समूह
राज कार्की, अध्यक्ष, नेकपा (समाजवादी)
चेतबहादुर पुन ‘चिरन’, महासचिव, नेपाल कम्युनिस्ट पार्टी
रञ्जिता श्रेष्ठ, अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी
प्रेमबहादुर सिंह, अध्यक्ष, नेकपा (साम्यवादी)
शिवलाल थापा, उपाध्यक्ष जसपा नेपाल
भीम रावल, प्रस्तावक, मातृभूमि जागरण अभियान, नेपाल
प्रमोदनारायण यादव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी (श्रमजीवी)
सुवासराज काफ्ले, अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल
कर्णजित बुढाथोकी, अध्यक्ष, नेकपा (माओवादी–समाजवादी)
केशव दाहाल, अध्यक्ष, माओवादी कम्युनिस्ट केन्द्र नेपाल
विष्णुप्रसाद खनाल, संयोजक, जनजागरण पार्टी
शरद रसाइली, संयोजक, नेकपा (बहुमत) विद्रोही समूह
गोपाल किराती, अध्यक्ष, देशभक्त समाजवादी मोर्चा
गोपाल परियार, संयोजक, नेकपा विद्रोही समूह
विचारमान थिङ, अध्यक्ष, ग्रेटर नेपाल कम्युनिस्ट पार्टी
मनीष लिम्बू, अध्यक्ष, लिम्बुवान क्रान्तिकारी पार्टी
