आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन

अध्यक्ष लिङ्देनले विगतका चुनावमा राप्रपा अनेक खण्डमा विभाजित भएर गएको र आसन्न निर्वाचनमा पार्टी एकताबद्व भएर जाने उल्लेख गरे ।

पुस २९, २०८२

रासस

The party must be established as a strong force in the upcoming elections: Chairman Lingden

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्ने बताएका छन् ।

पार्टी कार्यालयमा मंगलबार आयोजित पार्टी एकीकरण कार्यक्रममा उनले विगतमा आफूहरूले उठाएको हिन्दू राष्ट्र, राजसंस्थालगायत मुद्दा अहिले सबैभन्दा लोकप्रिय अवस्थामा पुगेकाले पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा जनताले अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।

सैद्धान्तिक रूपमा निकट रहेका अन्य राष्ट्रवादी शक्तिहरूसँग धुर्वीकरण हुने क्रम तीव्र रूपमा बढेर गएको बताउँदै अध्यक्ष लिङ्देनले विगतका चुनावमा राप्रपा अनेक खण्डमा विभाजित भएर गएको र आसन्न निर्वाचनमा पार्टी एकताबद्व भएर जाने उल्लेख गरे । 

देशको इतिहास, सभ्यता र राष्ट्रिय एकताको पक्षलाई संरक्षणका लागि पार्टी प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष लिङ्देनले पार्टी सङ्गठनलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए । उनले देशमा विद्यमान राजनीतिक अस्थिरता, अन्योलता समाधान गर्न सुशासन कायम गर्नुपर्ने विचार व्यक्त गर्दै त्यसका लागि आफ्नो पार्टीसक्षम रहेको दाबी गरे । 

रासस

Link copied successfully