रिक्त स्थानमा अर्को उम्मेदवारको नाम पठाउन ३० पुसदेखि २ माघसम्मको कार्यतालिका
What you should know
काठमाडौँ — समानुपातिकमा दलहरूले बुझाएको उम्मेदवारको बन्दसूचीबाट १७ दलबाट ८५ जनाले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले बन्दसूचीबाट नाम फिर्ता लिन सोमबार (२८ पुस) को समय निर्धारण गरेको थियो । आयोगमा राति अबेरसम्म नाम फिर्ता लिनेका बारेमा कर्मचारीले रुजु गर्नेक्रम जारी छ ।
बन्दसूचीमा नाम समावेश गरिएका व्यक्तिहरू आयोगमा स्वयं उपस्थित भएर नाम फिर्ता लिएका हुन् । धेरैजसो दलबाट समानुपातिकतर्फ उम्मेदवार बनाइएकाले नाम फिर्ता लिएका
छन् । सबैभन्दा बढी जनमत पार्टीबाट २१ जनाले फिर्ता लिएका छन् । राप्रपाबाट १२, एमालेबाट ५, नेकपा र कांग्रेसबाट २/२ जनाले नाम फिर्ता लिएका छन् ।
आयोगबाट राति अबेरसम्म रुजु भएअनुसार कांग्रेसबाट ध्रुवबहादर मल्ल र सिर्जना मल्ल तथा एमालेबाट डुफबहादुर बाँस्तोला, हिरूसरा राना, अंशु सिंह, विजयसिंह लामा तामाङ र लालबहादुर रावलले नाम फिर्ता लिएका छन् । यस्तै नेकपाबाट कमल राय यादव र अरविन्द दासले नाम फिर्ता लिएका छन् ।
रास्वपाबाट सुनिता न्हेमाफुकी एक जनाको मात्र नाम अबेरसम्म रुजु भएको छ, जबकि उक्त पार्टीबाट एक दर्जनभन्दा बढीले नाम फिर्ता लिने सार्वजनिक घोषणा गरिसकेका छन् । अरनिको पाँडे, रामजी राम, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ शाह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, सजन विक र सुदेश गुरुङलगायतले सार्वजनिक रूपमै समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ताको घोषणा गरेका छन् ।
कार्यालय समयभित्र नाम फिर्ताका लागि आयोग परिसरमा पुगेकाहरू सोमबार रातिसम्म रुजु प्रक्रियामै थिए । जसपा र लोसपा एक हुने भएपछि जसपाको बन्दसूचीमै लोसपाका उम्मेदवारको नाम समेट्न दुई दलका नेताहरू पनि अबेरसम्म आयोगमै थिए ।
उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ राष्ट्रिय परिवर्तन पार्टीलाई समर्थन गरेर जाने निर्णय लिएको छ । रास्वपासँग एकीकरण प्रक्रियामा गएपछि उज्यालोले बन्दसूची बुझाएको थिएन । तर रास्वपासँगको एकीकरण भंग भएपछि उज्यालोले समानुपातिकका लागि नयाँ खुलेकै दल राष्ट्रिय परिवर्तन पार्टीमार्फत आफ्ना उम्मेदवारको नाम समेटेको छ । पार्टीका नेता जितराम लामाले समानुपातिकको मत राष्ट्रिय परिवर्तन पार्टीको बाँसुरी चिह्नमा मागिने बताएका छन् ।
राजनीतिक दल तथा कानुन महाशाखाका प्रमुख यज्ञ भट्टराईले कुन कुन दलबाट क–कसले नाम फिर्ता लिए त्यो रुजु गर्दै मिलाउने काम राति अबेरसम्म जारी रहेको बताए । सबै रुजु सकिएपछि त्यहीअनुसार सम्बन्धित दललाई जानकारी गराइने उनले बताए ।
निर्वाचन कार्यक्रमअनुसार १३ र १४ पुसमा दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए । ५८ चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्ने गरी ६४ दलका तर्फबाट बन्दसूची बुझाइएको छ । सबै दलबाट गरी समानुपातिकतर्फ ३ हजार ४ सय २४ जनाको नाम बन्दसूचीमा समेटिएको छ । समानुपातिक बन्दसूचीलाई अध्ययन गरेर आयोगले रीत नपुगेको विषयलाई सम्बन्धित दलबाट सच्याउने कार्य गराइसकेको छ । उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सम्बन्धित दललाई आयोगले २९ पुसमा गराउनेछ ।
उम्मेदवारले फिर्ता लिएका कारण रिक्त रहेको स्थानमा अर्को उम्मेदवारको नाम पठाउन ३० पुसदेखि २ माघसम्मको कार्यतालिका छ । जुन समावेशी समूहबाट नाम फिर्ता लिइएको हो, त्यही स्थानमा दलले अर्को नाम पठाउन पाउने आयोगले जनाएको छ ।
४ माघमा आयोगले बन्दसूचीको नामावली प्रकाशनमा ल्याउनेछ । बन्दसूचीमा समावेश उम्मेदवारको योग्यतामाथि दाबी विरोधका लागि ५ देखि १० माघको समय दिइएको छ । दाबी विरोध र उजुरीमाथि आयोगले छानबिन गरी निर्णय लिने समय ११ देखि १७ माघसम्म छ ।
दाबी विरोधका कारण कसैको नाम हटाउनुपरेमा १९ माघमा आयोगले सूचना प्रकाशन गर्ने र २० माघमा उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित गरिनेछ । प्रतिनिधिसभाको २ सय ७५ सिटमा १ सय १० जना समानुपातिक प्रणालीबाट छानिन्छन् । चुनावमा दलले प्राप्त गरेका मतका आधारमा सम्बन्धित दलले सिट पाउँछन् । कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाउने दलले मात्रै समानुपातिकमा सिट प्राप्त गर्ने कानुनी व्यवस्था छ ।
–५८ चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने गरी ६४ दलका ३४२४ उम्मेदवारको नाम बन्दसूचीमा
–नाम फिर्ता लिएकाका सम्बन्धमा मंगलबार आयोगले सम्बन्धित दललाई जानकारी गराउँदै
–४ माघमा बन्दसूचीको नामावली प्रकाशित हुने, दाबी विरोधका लागि ५ देखि १० माघको समय
–दाबी विरोधको उजुरीमाथि ११ देखि १७ माघसम्म छानबिन
–कसैको नाम हटाउनुपरे १९ माघमा आयोगले सूचना प्रकाशन गर्ने
–२० माघमा समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन
