समानुपातिकबाट नाम फिर्ता लिँदै रास्वपा सहमहामन्त्री आचार्य- 'अब प्रत्यक्षतर्फको यात्रा'

समानुपातिकको एक नम्बर सूचीमा रहेका उनले अब प्रत्यक्षतर्फको निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

पुस २७, २०८२

कान्तिपुर संवाददाता

RSVP Joint General Secretary Acharya withdraws his name from proportional representation - 'Now the journey towards direct representation'

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

समानुपातिकको एक नम्बर सूचीमा रहेका उनले अब प्रत्यक्षतर्फको निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । पार्टीभित्र र देशको राजनीतिमा सुधार ल्याउन अब 'फ्रन्ट फुट' मा आएर खेल्ने भन्दै आचार्यले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी फिर्ताको निर्णय सार्वजनिक गरेका हुन् ।

'पार्टीभित्रको आन्तरिक बेथिति होस् वा समग्र राजनीति र देशको बेथिति सफा गर्ने लडाइँ लड्नका लागि पर्दा पछाडि जति काम गरे पनि एक दिन पर्दा च्यातेर अगाडि आउनै पर्छ,' आचार्यले भनेका छन्, 'देशले विश्वास गर्ने 'फेस' बन्न जरुरी हुन्छ । ब्याकफुटको लडाइँ लड्नेहरू धेरैजसो 'टेकन फर ग्रान्टेड' लिइन्छन्, त्यसैले अब पालो फ्रन्ट फुटमा खेल्ने हो ।'

उनले समानुपातिकतर्फको बन्दसूचीको एक नम्बरमा रहेको आफ्नो नाम छोडेर प्रत्यक्षतर्फको यात्रा अघि बढाउन लागेको प्रष्ट पारेका छन् । उनले आफ्नो यो नयाँ यात्राका लागि शुभेच्छुकहरूबाट साथ र सहयोगको अपेक्षा समेत गरेका छन् ।

रास्वपाको सङ्गठन निर्माण र आन्तरिक रणनीतिमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका आचार्यको यो निर्णयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । उनले कुन निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने भन्नेबारे भने औपचारिक रूपमा खुलाएका छैनन् ।

कान्तिपुर

Link copied successfully