अध्यक्ष घिसिङल‍े भने - एकता हुन खोज्दाखोज्दै पनि हामीलाई जबर्जस्ती बाहिर राखियो

'यो १२ दिन ठूलो बिलखबन्द र अन्योलमा भएको परिस्थिति रह्यो । उहाँहरू अगाडि बढ्न नदिने, पछाडि जाउँ भने अप्ठ्यारो स्थिति ।'

पुस २६, २०८२

कान्तिपुर संवाददाता

Chairman Ghising said - Despite trying to unite, we were forcibly kept out

What you should know

काठमाडौँ — उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ शक्तिहरूसँग एकता हुन खोज्दाखोज्दै पनि जबर्जस्ती बाहिर राखिएको बताएका छन् ।

नयाँ राजनीतिक शक्तिहरू रास्वपासँग एकताबद्ध भएर जान खोजेको तर पुस १४ मा गरिएको सहमति एकतर्फी भंग गरेर बाहिर राखिएको बताए । 

पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै घिसिङले नयाँ शक्तिहरूलाई एकताबद्ध हुनबाट बाहिर राखिएको बताए । 'हामी एकता हुन खोज्दाखोज्दै पनि हामीलाई जबर्जस्ती बाहिर राखियो । यस्तो अवस्थामा हामी एक्लै पनि अगाडि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छु,' घिसिङले भने, 'नेपाली जनताको माग, चाहना, हाम्रो त्यागलाई कमजोरीको रुपमा लिनुभयो र यो सहमति भंग गर्नुभयो । यो अवस्था आउँछ भनेर लागेको थिएन । यो १२ दिन ठूलो बिलखबन्द र अन्योलमा भएको परिस्थिति रह्यो । उहाँहरू अगाडि बढ्न नदिने, पछाडि जाउँ भने अप्ठ्यारो स्थिति ।'

रास्वपाका नेताहरूलाई आफूलाई अन्योलमा पारेको घिसिङको भनाइ थियो । यस्तो अवस्थाले आफू मर्माहत भएको पनि उनको भनाइ छ । 

पुस १४ मा सुदन गुरुङलगायतका जेन-जी प्रतिनिधिले जबर्जस्ती गरेर रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाहकहाँ लगेर सहमति गराएको पनि घिसिङको भनाइ थियो । 'सुदन गुरुङलगायतले जबर्जस्ती लगेर मिलेको हो । मिल्नुपर्छ भनेकाले समानुपातिक सूची बुझाउने अन्तिम चरणमा मिलेको हो,' उनले भने । 

शुक्रबार मात्रै सबै कुरा छोडेर रास्वपामा एकताबद्ध हुने निर्णय गरेको तर शनिबार रास्वपाले सहमति भंग गरेको उनको भनाइ थियो । अब देशभरि पार्टीले अभियान चलाउने र १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घिसिङले घोषणा गरे । नयाँ राजनीतिक शक्तिसँग मिलेर अगाडि बढ्न पनि आफू तयार रहेको उनले बताए ।

कान्तिपुर

Link copied successfully