कांग्रेस नेताहरुबीच सामाजिक सञ्जालमा ‘पोस्टर वार’

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवादबीच फेसबुक, एक्स र टिकटकजस्ता डिजिटल प्लाटफर्ममा दुवै पक्षका समर्थकको प्रचार, प्रत्यारोप र एजेन्डा स्थापित गर्ने थलो बनेका छन् ।

पुस २५, २०८२

दया दुदराज

'Poster war' between Congress leaders on social media

What you should know

काठमाडौँ — कांग्रेसको १५ औं महाधिवेशनको मिति र विशेष महाधिवेशनलाई लिएर संस्थापन र इतर पक्षबीचको विवाद यतिबेला सामाजिक सञ्जालमा ‘पोस्टर वार’का रूपमा आएको छ । 

पार्टी सभापति शेरबहादुर देउवा पक्ष नियमित महाधिवेशन गराउने अडानमा उभिँदा, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पक्ष विशेष महाधिवेशन गराउनै लागिपरेका छन् ।

विवादकाबीच फेसबुक, एक्स (ट्वीटर) र टिकटकजस्ता डिजिटल प्लाटफर्महरू दुवै पक्षका समर्थकको प्रचार, प्रत्यारोप र एजेन्डा स्थापित गर्ने थलो बनेका छन् । पोस्टर, ह्यासट्याग, प्रोफाइल फ्रेम र भाइरल अपिलमार्फत आआफ्ना एजेन्डा जनस्तरसम्म पुर्‍याउने प्रतिस्पर्धा चर्किएको छ ।

‘दम्भ तोड्न विशेष महाधिवेशन’

विशेष महाधिवेशनको मागमा उभिएका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रामक प्रचार थालेका छन् । उनीहरूले मुख्यतः ‘नेतृत्वको अहंकार तोड्ने’ र ‘आगामी निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्षम बनाउने’ दुई प्रमुख एजेन्डालाई अघि सारेका छन् ।

सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको एक पोस्टरमा लेखिएको छ, 'फोड्न हैन, दम्भ र अहंकार तोड्न ! एक्लै चुनाव लड्न सक्ने गरी कांग्रेसलाई जोड्न ! पुस २६ गते काठमाडौं जाऔँ, विशेष महाधिवेशन सफल पारौँ !!'

त्यस्तै अर्को पोस्टरमा, 'पौष २७ र २८ गते काठमाडौंमा हुने नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भव्यताका साथ सफल पारौँ,' भन्ने अपिल छ ।

यस्ता पोस्टरहरू विशेष महाधिवेशन पक्षधर कार्यकर्ताका फेसबुक प्रोफाइलदेखि ‘नेपाली कांग्रेस’ नामका पब्लिक ग्रुप र पेजहरूमा छ्यापछ्याप्ती देखिन्छन् । महामन्त्रीद्वय निकट युवा र जेन–जी पुस्ताले अभियानलाई अझ रचनात्मक बनाउँदै ‘विशेष महाधिवेशन’को लोगो वितरण, फेसबुक प्रोफाइल फ्रेम निर्माण र डीपी (डिस्प्ले पिक्चर) परिवर्तन अभियान नै सञ्चालन गरिरहेका छन् ।

'Poster war' between Congress leaders on social media

‘नेपाली कांग्रेस’ नामक ग्रुपहरूमा 'विशेष महाधिवेशनको लोगोसहितको फोटो कस कसलाई चाहिन्छ ? म लिंक पठाइदिन्छु, मलाई फलो गरेर इनबक्स गर्नुहोस्,' जस्ता पोस्ट बारम्बार दोहोरिएका छन् । कतिपय कार्यकर्ताले टिकटकमा महाधिवेशनको मिति, विधानका धारा र आन्तरिक लोकतन्त्रको मुद्दालाई छोटा भिडियोमार्फत व्याख्या गर्दै ‘ट्रेन्डिङ’ बनाउन सफल भएका छन् ।

संस्थापन पक्षको ‘ह्यासट्याग सेभएनसी’ अभियान

देउवा निकट संस्थापन पक्षले भने विशेष महाधिवेशनको मागलाई ‘नेतृत्व हत्याउने दाउ’ र ‘पार्टी फुटाउने षड्यन्त्र’का रूपमा चित्रण गरिरहेको छ । संस्थापन पक्षधर नेताहरूले सामाजिक सञ्जालमा 'सेभएनसी', 'फोकस अन रेगुलर', र 'बोएकट विशेष' जस्ता ह्यासट्याग प्रयोग गर्दै नियमित महाधिवेशनकेन्द्रित हुन कार्यकर्तालाई अपिल गरिरहेका छन् ।

संस्थापन पक्षका कार्यकर्ताले सार्वजनिक गरेको एक पोस्टरमा लेखिएको छ, 'सशक्त र बलियो कांग्रेस निर्माणका लागि नियमित महाधिवेशनमा जुटौँ । अनुज पुस्तालाई जोड्ने एउटै आधार, नियमित महाधिवेशन, युवाहरूको जनाधार !'

युवा जनाधार संस्थापन पक्षमा रहेको दाबी गर्दै पोस्टरहरूमा ‘सहमति’, ‘एकता’ र ‘संस्थागत स्थिरता’लाई मुख्य सन्देश बनाइएको छ । कतिपय नेताहरूले फेसबुक लाइभमार्फत विशेष महाधिवेशनको मागलाई ‘अराजकता’को संज्ञा दिँदै नियमित प्रक्रियाबाटै नेतृत्व हस्तान्तरण हुनुपर्ने तर्क अघि सारेका छन् ।

विवाद चर्किँदै जाँदा दुवै पक्षका समर्थक व्यक्तिगत टिप्पणीमा समेत उत्रिएका छन् । केही कार्यकर्ताले महामन्त्रीद्वयलाई लक्षित गर्दै 'ढिपी छोडेर सहमति खोज्न' आग्रह गरेका छन् । संस्थापन पक्षधरले महामन्त्रीहरूले 'आफ्नै राजनीतिक रोटी सेक्न पार्टीलाई संकटमा धकेलेको' आरोप लगाएका छन् ।

इतर पक्षका समर्थकले भने विधानको धारा १७ (२) र ४३ उद्धृत गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता भइसकेको अवस्थामा त्यसलाई रोक्नु 'विधानको ठाडो उल्लंघन' हुने तर्क गरिरहेका छन् । उनीहरूका अनुसार, प्रतिनिधिको बहुमतले वैधानिक रूपमा विशेष महाधिवेशन माग गरिसकेको अवस्थामा नेतृत्वले त्यसलाई अस्वीकार गर्नु आन्तरिक लोकतन्त्रविरोधी कदम हो ।

सामाजिक सञ्जालमा जारी यो ‘डिजिटल युद्ध’ले देशभरका कांग्रेस कार्यकर्तामा अन्योल बढाएको छ । महाधिवेशन मिति र नेतृत्व हस्तान्तरणको मुद्दा पोस्टर र ह्यासट्यागमा सीमित नबसी गुटीय टकरावको मनोविज्ञानमा रूपान्तरित हुन थालेपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । के यो आन्तरिक लोकतन्त्रलाई चलायमान बनाउने अभ्यास हो, कि पार्टीभित्र विभाजनको खाडल गहिरो पार्ने संकेत ?

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully