नवयुवा भन्छन्- 'नियमित महाधिवेशन कुरेर बस्नु यथास्थितिलाई समर्थन गर्नु हो, जुन कांग्रेस र सिंगो समाजका लागि घातक हुन सक्छ ।'
What you should know
काठमाडौँ — महाधिवेशन विवादले कांग्रेस आन्तरिक द्वन्द्वमा फसेको छ । फागुन २१ को प्रतिनिधिसभा चुनाव नजिकिएकाले पनि पार्टीभित्र थप संकट देखापरेको हो ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनको मागसहित २७–२८ पुसमा विशेष महाधिवेशनको औपचारिक आह्वान गरिसकेका छन् । अर्कातिर केन्द्रीय कार्यसम्पादन समितिले २८–३१ वैशाखमा १५औं महाधिवेशनको तालिका पास गरिसकेको छ ।
भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि पार्टीलाई विधि, विधान र राजनीतिक गतिशीलतामा फर्काउन भन्दै लागिपरेका महामन्त्रीद्वयको कमदलाई पार्टीभित्रकै कतिपय नेता कार्यकर्ताले विरोध गरिरहेका छन् भने कतिपय नेता कार्यकर्ताको समर्थन छ ।
कांग्रेसको यो अवस्थालाई कांग्रेसभित्रकै नेता कार्यकर्ता र जेन-जी अगुवाहरूले कसरी लिएका छन् त ?
विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका जेन-जी युवा परिचालन संयोजक सचित तिमल्सिना नेतृत्व तहमा नयाँ व्यक्ति र नयाँ विचार आउने बाटो बन्द गरी पुरानै नेतृत्व जमेर बसेकाले पार्टीमा बदलाव चाहिएको बताउँछन् । ‘नेपाली कांग्रेस ऐतिहासिक रूपमा लोकतान्त्रिक पार्टी भए तापनि यसको आन्तरिक सञ्चालन हाल अत्यन्तै अलोकतान्त्रिक र अपारदर्शी भएको छ । विशेषगरी पार्टीको संगठन सञ्चालन र टिकट वितरण पद्धतिमा ठूलो कमजोरी देखिएको छ,' उनी भन्छन् ।
पार्टीको वर्तमान नेतृत्व आधुनिक समाज, प्रविधि र विकासको नयाँ परिवेशबाट पूर्ण रूपमा विमुख भएको आरोप उनको छ । जनताको चाहना र सोचाइविपरीत नेतृत्वले एकलौटी रूपमा निर्णयहरू गरेकामा उनले असन्तुष्टि जनाए ।
एमालेलगायत अन्य दलहरूले महाधिवेशन गरेर आफ्नो निर्वाचनको तयारीमा लागिसक्दा पनि कांग्रेस फुटको बाटोतर्फ गइरहेको कतिपयको आँकलन छ । तर यो चुनौतीपूर्ण क्षणमा पनि यस्तो कदम आवश्यक भएको सचिन बताउँछन् । ‘पार्टीको वर्तमान व्यवस्थाले युवा पुस्तालाई नीति निर्माणमा प्रत्यक्ष हिस्सेदारी लिनबाट वञ्चित गरेको छ । पार्टीबाहिर रहेका नयाँ र फ्रेस आइडिया भएका व्यक्तिहरू सजिलै भित्र पस्न सक्ने अवस्था छैन, जसले गर्दा पार्टी झन् जडवत् बन्दै गएको छ,’ उनी भन्छन्, ‘त्यसकारण कांग्रेस सुधार्न नीति र नेतृत्व दुवैमा परिवर्तन आवश्यक छ ।’
कांग्रेसका युवा नेता अमृत ज्ञवालीले विशेष महाधिवेशनलाई विधिको बाटो ठानेका छन् । उनका अनुसार नेतृत्व १५औँ महाधिवेशनमा जान तयार नभएपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानको धारा १७ (२) मा टेकेर महाधिवेशन आह्वान गरेका हुन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बदलिँदो सन्दर्भमा राजनीतिक दलहरू विशेष गरी कांग्रेस परिवर्तित राजनीतिक दलको रूपमा पुनर्गठन हुनुपर्ने तर्क उनको छ ।
‘नयाँ भविष्य निर्माण गर्ने युवाहरू नेतृत्वमा आउनुपर्छ भन्ने सन्देश महाधिवेशनबाट नयाँ नेतृत्व स्थापित भएपछि मात्र सफल हुन्छ,’ उनी भन्छन् । पार्टीले हप्तौँ, महिनौँसम्म बैठक राख्ने तर कुनै ठोस निष्कर्ष निकाल्न नसकेकोमा उनको आपत्ति छ । ‘आन्दोलनको म्यान्डेट र समयको मागअनुसार नयाँ नेतृत्व र व्यापक सुधार सहित जनतामा जानुपर्ने अवस्था छ । यो मुभमेन्टलाई आम कांग्रेसका कार्यकर्ताहरूको मागको रूपमा हेर्नुपर्छ,’ उनी थप्छन् ।
जेन-जी अगुवा रक्षा बमले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा कांग्रेसको विशेष महाधिवेश नभए युवायुस्तालाई धोका हुने उल्लेख गरेकी थिइन् । भदौ २३ पछि नेपाली राजनीति सामान्य प्रक्रियाभन्दा बाहिर पुगेको उल्लेख गर्दै उनले असाधारण परिस्थितिमा असाधारण निर्णय आवश्यक रहेको बताएकी थिइन् ।
‘यतिखेर तपाईंहरू आफ्नै पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा दुई खेमामा बाँडिनुभएको छ । हामी स्पष्ट छौँ, तपाईंहरू जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई नै अस्वीकार गरिरहनुभएको छ,’ कांग्रेस सदस्यहरूलाई सम्बोधन गर्दै उनले लेखेकी थिइन्, ‘भदौ २३ मा कांग्रेसभित्रकै जेनजी साथीहरू पनि परिवर्तनको माग गर्दै सडकमा उत्रिनुभएको थियो । उहाँहरू आज पनि परिवर्तनको पक्षमा बोलिरहनुभएकै छ र तपाईंहरूले त्यो आवाज पनि निस्तेज पार्न खोजेको जस्तो देखिन्छ ।’
चुनाव नजिकिँदै गएको सन्दर्भमा उनले कांग्रेसको आजको निर्णयले नै पार्टीको भोलिको राजनीतिक दिशा तय गर्ने रक्षाले उल्लेख गरेकी छन् ।
जेन-जी अगुवा तनुजा पाण्डे पनि गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको अवधारणालाई सकारात्मक रूपमा लिन्छिन् । उनका अनुसार पार्टीभित्र पुस्तान्तरण र 'सकिने कि सच्चिने' भन्ने बहस पहिलेदेखि नै चलिरहेको थियो, तर अहिले यसको आवश्यकता झन् बढेको छ । उनी नेपाली कांग्रेसलाई एउटा 'सामाजिक पुँजी' का रूपमा व्याख्या गर्दै थप्छिन्, ‘यो पार्टीमा समाज र राजनीतिक इतिहासले लगानी गरेको छ । त्यसैले, पार्टीलाई कसैको 'प्राइभेट लिमिटेड' कम्पनी बन्न दिनु हुँदैन ।’
नियमित महाधिवेशन कुरेर बस्नु यथास्थितिलाई नै समर्थन गर्नु रहेको तनुजाको बुझाइ छ । ‘जुन कांग्रेस र सिंगो समाजका लागि घातक हुन सक्छ। कांग्रेस सुध्रिनका लागि विशेष महाधिवेशन हुनैपर्छ,’ उनी भन्छिन् ।
गगन र विश्वप्रकाशले विशेष महाधिवेशनको मुद्दा उठाएर आफ्नो राजनीतिक करिअरमा ठूलो जोखिम लिए तापनि, समाज र पार्टी परिवर्तनका लागि यस्तो जोखिम आवश्यक रहेको उनी बताउँछिन् । उनी अनुहार वा नेतृत्व परिवर्तन मात्र नभई पार्टीको पद्धति नै परिवर्तन हुनुपर्ने कुरामा जोड दिन्छिन् । ‘जसले पार्टीको आन्तरिक लोकतन्त्रलाई स्वीकार गर्दैनन्, उनीहरूले देशको लोकतन्त्र बचाउन सक्छन् भनेर आशा गर्न सकिँदैन । त्यसकारण यो विशेष महाधिवेशन केवल कांग्रेसको आन्तरिक मामिला मात्र नभएर लोकतन्त्रमा विश्वास गर्ने सबैका लागि चासोको विषय हो,’ उनको विश्लेषण छ ।
कांग्रेसका युवा नेता टेक विक भने नियमित महाधिवेशको पक्षमा छन् । ‘नेपालको संविधान र नेपाली कांग्रेसको विधानको मर्मलाई मध्यनजर गर्दा म नियमित महाधिवेशनकै पक्षमा छु,' उनले भने ।
विशेष महाधिवेशनका लागि समितिहरू बनेको सुनिए पनि अहिलेसम्म निर्वाचन समिति नै गठन नभएको हुनाले यसको सुनिश्चितता नदेखिएको उनले तर्क गरे । ‘विशेष महाधिवेशन नहुन सक्छ । अहिलेको संकटपूर्ण घडीमा पार्टी फुट्ने वा अल्झिने भन्दा पनि मिलेर जानु र नियमित प्रक्रिया मार्फत नयाँ युवा नेतृत्वलाई अवसर दिनु नै बुद्धिमानी हुन्छ,’ उनले भने ।
