राष्ट्रिय सभाको अठारै सिटमा कांग्रेस, एमाले र लोसपाबीच गठबन्धन

गठबन्धनबाट कांग्रेसको ९, एमालेको ८ र लोसपाको १ स्थानमा उम्मेदवारी, कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध, अन्तिम समयमा गठबन्धनबाट अलग्गिएको नेकपाले दियो १७ सिटमा उम्मेदवारी

पुस २४, २०८२

राजेश मिश्र

Congress, UML, and LOSPA form alliance for all eighteen seats in the National Assembly

What you should know

काठमाडौँ — राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १८ सिटका लागि बुधबार ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये कोशी प्रदेशमा ‘अन्य’ क्लस्टरबाट कांग्रेसका सुनीलबहादुर थापाको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका छन् ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । उम्मेदवारमाथिको दाबी विरोधलगायत कार्यक्रम टुंगिएपछि मात्र आयोगले औपचारिक घोषणा गर्नेछ । बाँकी १७ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा छन् । 

यी १८ सिटका लागि कांग्रेस, एमाले र लोसपाबीच गठबन्धन भएको छ । यस गठबन्धनमा निरन्तर छलफलमा रहेको नेकपा भने सिट बाँडफाँटमा कुरा नमिलेको भन्दै अन्तिम समयमा अलग्गिएको छ । गठबन्धनबाट कांग्रेसले ९, एमालले ८ र लोसपाले १ स्थानमा उम्मेदवारी दिएका छन् । नेकपाले एक्लै १७ स्थानमा उम्मेदवारी दिएको छ । 

राष्ट्रिय सभा सदस्य चुन्न प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । प्रदेशसभा सदस्यको एक मत बराबर ५३ मतभार रहेको छ । गाउँपालिका र नगरपालिकाका पदाधिकारीको मतभार १९ छ । 

७ वटा प्रदेशसभामा ५५० जना सदस्य तथा ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतबाट आगामी ६ वर्षे कार्यकालका लागि राष्ट्रिय सभा सदस्य छानिने छन् । निलम्बनमा परेका, राजीनामा दिएका, मृत्यु भएका तथा अदालतको आदेशले पद खारेजी भएका कारण मतदाताको संख्या केही घटेको छ । 

कुल २ हजार ५६ मतदातामध्ये विभिन्न कारणले १४ स्थान रिक्त छन् । प्रदेशसभा सदस्य ५ सय ४५ जना र पालिकाका अध्यक्ष–उपाध्यक्ष तथा प्रमुख–उपप्रमुख १४ सय ९७ जनाको मतदाता नामावाली आयोगले प्रकाशित गरेको छ ।

राष्ट्रिय सभामा कोशी प्रदेशबाट महिला, दलित र अन्य समूहबाट १/१ जनाका लागि निर्वाचन हुँदै छ । त्यहाँ महिला सिटबाट एमालेकी रोशनी मेचे र नेकपाकी नमिता न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ । दलित सिटमा एमालेका सोमनाथ पोर्तेल र नेकपाका खेमराज नेपालीको उम्मेदवारी परेको छ ।

अन्य समूहको एक सिटमा कांग्रेसका सुनीलबहादुर थापाको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध हुने भएका छन् । कोशीमा कांग्रेस र एमालेको गठबन्धन बालियो छ । प्रदेशसभा र स्थानीय तहको गरी कोशीमा सबै मतदाताको कुल मतभार १० हजार १ सय ३५ छ । त्यसमध्ये बहुमत मतदाता र मतभार दुई दलसँग छ । दुई दलका मतदाताको मतभार ७ हजार ९ सय ३२ छ । नेकपाको मतभार १ हजार ६ सय १३ छ । 

मधेश प्रदेशमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूह १–१ जना गरी ४ सिटका लागि मतदान हुँदै छ । महिला सिटमा एमालेबाट रेखाकुमारी झा, नेकपाबाट शमीकुमारी अग्रवाल र जसपा नेपालबाट चन्द्रकलादेवी साहले उम्मेदवारी दिएका छन् ।

दलित सिटका लागि कांग्रेसका धर्मेन्द्र पासवान, नेकपाका शम्भु पासवान हजारी र जसपा नेपालाका चमेलीदेवी दासको उम्मेदवारी परेको छ । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट कांग्रेसका रञ्जित कर्ण, नेकपाका रामनन्दन प्रसाद र जसपा नेपालका शैलेशकुमार चौधरीको उम्मेदवारी छ ।

अन्य समूहबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दिएका छन् । उनलाई कांग्रेस र एमाले तथा जसपा नेपालको साथ छ । नेकपाले लक्ष्मण पौडेललाई उम्मेदवार बनाएको छ । कांग्रेस–एमालेले तालमेल गरेर मधेश प्रदेशमा लोसपालाई एक सिट दिए पनि जसपा नेपाललाई दिएको छैन । गठबन्धनबाट सिट नपाएको जसपाले मधेशमा कांग्रेस र एमालेले उम्मेदवारी दिएको स्थानमा आफ्नो उम्मेदवारी पनि दिएको छ ।

मधेशमा १ सय ७ जना प्रदेशसभा सदस्यमध्ये ३ जना निलम्बित रहेकाले १ सय ४ जनाको नाम मतदाता सूचीमा छ । प्रदेशसभा सदस्यहरू जसपाका सरोजसिंह कुशवाहा (महोत्तरी), एमालेका दीपेन्द्रकुमार ठाकुर (धनुषा) र लोसपाका अभिराम शर्मा (महोत्तरी) निलम्बित छन् । 

Congress, UML, and LOSPA form alliance for all eighteen seats in the National Assembly

त्यस्तै, स्थानीय तहका २ सय ७२ जना पदाधिकारीमध्ये निलम्बनमा रहेका र राजीनामा दिएका ६ जनाको नाम मतदाता सूचीमा छैन । मधेशमा स्थानीय तहबाट २ सय ६६ मतदाता छन् । त्यहाँको कुल मतभार १० हजार ५ सय ६६ छ । कांग्रेस, एमाले र लोसपा गठबन्धनको मतभार करिब दुई तिहाइ छ ।

उनीहरूसँग रहेको मतभार ६ हजार ४ सय ४४ छ । बाँकी ४ हजार मतभारमा नेकपाको १ हजार ३ सय ६६ मात्र छ । जसपा नेपालसँग भने १ हजार ९ सय २३ मतभार छ । जनमतसँग ७ सय ४६ छ । नउपा, राप्रपा, संघीय समाजवादी र स्वतन्त्रको मतभार थोरै छ ।

बागमती प्रदेशमा महिला–१ र अन्य समूहबाट–१ गरी जम्मा दुई सिटका लागि निर्वाचन हुँदै छ । महिला सिटमा कांग्रेसले गीता देवकोटा, नेकपाले सरोजकुमारी झा, नेमकिपाले कविता महर्जनलाई उम्मेदवार बनाएको छ । अन्य समूहबाट चुनिने सिटका लागि एमालेबाट प्रेमप्रसाद दंगाल, नेकपाबाट प्रेमप्रसाद सापकोटा र नेमकिपाबाट विक्रम ढुकुछुले उम्मेदवारी दिएका छन् ।

बागमती प्रदेशमा १ सय १० प्रदेशसभा सदस्य छन् । त्यस्तै, स्थानीय तहका २ सय ३८ मध्ये २ सय ३७ जनाको नाम मतदाता नामावलीमा छ । यस प्रदेशको मतभार १० हजार ३ सय ३३ छ । ५ हजार २ सय ६९ मतभार ल्याउने उम्मेदवार विजयी हुनेछन् । कांग्रेस र एमाले दुई दलसँग ६ हजार ५ सय ८४ मतभार छ । नेकपासँग २ हजार ७ सय १३, नेमकिपासँग १ सय ९७ मतभार छ । बाँकी मतदाता र मतभार राप्रपा, हाम्रो नेपाली पार्टी र स्वतन्त्रमा बाँडिएको छ ।

गण्डकीमा महिला–१ र अन्य समूहको १ गरी २ सिटका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै छ । महिला सिटमा एमालेबाट सम्झना देवकोटा, नेकपाबाट गोमा लुइँटेल घिमिरे र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बाँस्कोटा प्रतिस्पर्धामा छन् । अन्य समूहको सिटमा कांग्रेसका जगत तिमिल्सिना, नेकपाका कपिल लामा, राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल उम्मेदवार छन् ।

गण्डकीमा प्रदेशसभाका ६० मध्ये ५९ र स्थानीय तहका १ सय ७० सबैको नाम मतदाता सूचीमा समावेश छ । यस प्रदेशको मतभार ६ हजार ३ सय ५७ छ । मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशबाट पदमुक्त छन् । यहाँ कांग्रेस र एमालेको मतभार ५ हजार १ सय ९ छ । गठबन्धनका उम्मेदवारलाई कुनै चुनौती देखिँदैन । नेकपाको मतभार ९ सय ४१ र जनमोर्चासँग रहेको मतभार ५७ छ । 

लुम्बिनीमा महिला–१, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १ र अन्य समूहबाट १ गरी ३ सिटका लागि निर्वाचन हुनेछ । कांग्रेस–एमाले गठबन्धनबाट एमाले नेतृ रामकुमारी झाँक्री उम्मेदवार बनेकी छन् । नेकपाबाट दुर्गाकुमारी भण्डारी र राष्ट्रिय जनमोर्चाबाट पद्मा पण्डितले उम्मेदवारी दिएका छन् ।

अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट कांग्रेसका वासुदेव घिमिरे, नेकपाका सर्जन विक उम्मेदवार छन् । अन्य समूहबाट कांग्रेसका चन्द्रबहादुर केसी, नेकपाका वृहस्पति अधिकारी र राष्ट्रिय जनमोर्चाका वोमबहादुर खत्री उठेका छन् । लुम्बिनीमा ८७ जना सबै प्रदेशसभा सदस्यको नाम मतदाता नामावलीमा छ ।

त्यस्तै पालिकाका २ सय १८ जना पदाधिकारीमध्ये २ सय १७ जनाको नाम मतदाता सूचीमा छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा कांग्रेसबाट निर्वाचित नगर प्रमुखको निधन भएकाले उक्त पद रिक्त छ । लुम्बिनीको कुल मतभार ८ हजार ७ सय ३४ हो । कांग्रेस, एमाले र लोसपाको मतभार जोड्दा ६ हजार २ सय ५ पुग्छ । नेकपाको मतभार १ हजार ३ सय ९६ मात्र देखिन्छ । जनमोर्चासँग १ सय २९ मतभार छ ।

कर्णालीमा महिला–१ र अन्य समूहबाट १ गरी राष्ट्रिय सभाको २ सिटका लागि निर्वाचन हुनेछ । महिला सिटमा एमालेबाट मीनासिंह रखाल र नेकपाबाट अञ्जु महताराको उम्मेदवारी परेको छ । अन्य सिटमा कांग्रेसका ललितजंग शाही र नेकपाका बुद्धिप्रसाद शर्माको उम्मेदवारी छ । प्रदेशसभाका ४० र पालिकाका १ सय ५८ जना सबैको नाम मतदाता सूचीमा छ । मतभार ५ हजार १ सय २२ छ । कांग्रेस र एमालेको मिलाएर ३ हजार ३ मतभार हुन्छ । नेकपासँग १ हजार ८ सय ६३ मतभार छ ।

सुदूरपश्चिममा महिला १ र अन्य समूहका १ सिटका लागि निर्वाचन हुँदै छ । महिला सिटमा एमालेबाट लीलाकुमारी भण्डारी, नेकपाबाट रोजी बस्नेतको उम्मेदवारी छ । अन्य समूहको सिटमा कांग्रेसबाट खम्मबहादुर खाती र नेकपाबाट टीकाराम जैसीले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्यमध्ये ५२ र पालिकामा १ सय ७६ मतदातामध्ये १ सय ७५ जनाको नाम मतदाता सूचीमा छ ।

पूर्वमुख्यमन्त्री तत्कालीन एकीकृत समाजवादीबाट निर्वाचित दीर्घबहादुर सोडारी निलम्बित छन् । यस प्रदेशको कुल मतभार ६ हजार ८१ छ । कांग्रेस–एमालेसँग ४ हजार १ सय ७४ मतभार छ । नेकपासँग १ हजार ३ सय १२ मतभार छ । बाँकी नउपा, राप्रपा र स्वतन्त्रको मतभार ६ सय ६७ छ । 

११ माघमा प्रदेशकै राजधानीहरूमा तोकिएका मतदान केन्द्रमा राष्ट्रिय सभाको निर्वाचन हुने निर्वाचन आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले बताए । ४४ जनाको उम्मेदवारीको विरोधमा २४ पुसमा उजुरी दिने समय तोकिएको छ । उजुरीउपरको जाँचबुझपछि २६ पुसमा उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । २७ पुसमा उम्मेदवारले चाहेमा आफ्नो नाम फिर्ता लिन पाउनेछन् । २८ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

राष्ट्रपतिबाट मनोनीत गरिएका १ समेत गरी राष्ट्रिय सभाका १९ सदस्यको पदावधि २० फागुनबाट सकिन लागेको हो । संविधानको धारा ८६(३) मा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएर रिक्त हुने स्थानका लागि पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने उल्लेख छ । त्यसैअनुसार २० फागुनमा रिक्त हुने पदका लागि संवैधानिक प्रावधानअनुसार त्यस अगावै निर्वाचन हुन लागेको हो ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully