मेरो हकमा भन्नुपर्दा अहिलेसम्म कुनै दलमा छैन । चुनाव उठ्छु, उठ्दिनँ भन्ने कुरा पनि मैले गरेको छैन ।
What you should know
काठमाडौँ — चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएको विषयमा सार्वजनिक आलोचना सुरु भएपछि गत सोमबार प्रधानमन्त्री कार्कीले सञ्चारमन्त्री जगदीश खरेलसहित मन्त्रीहरू कुलमान घिसिङ र बब्लु गुप्तासँग राजीनामा मागिन्।
प्रधानमन्त्रीले राजीनामा माग्दासमेत सञ्चारमन्त्री खरेलसहितले राजीनामा दिन ढिलासुस्ती गरिरहेका छन्।
रास्वपा, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र मन्त्री घिसिङ एउटै दलमा समाहित हुने भएपछि सञ्चारमन्त्री खरेलले सार्वजनिक रूपमा स्वागत गरेका थिए। मन्त्री पदमा रहेका खरेलले कुनै एक दलको निर्णयलाई स्वागत गरेपछि उनीमाथि पनि सार्वजनिक रूपमै प्रश्न उठेको थियो। यही विषयमा दुर्गा दुलालले खरेलसँग गरेको संक्षिप्त कुराकानी :
प्रधानमन्त्रीले राजनीतिक दलमा संलग्न देखिएका मन्त्रीहरूलाई राजीनामा दिन भन्नुभएको हो ?
म कुनै दलमा गएको थाहा छ ?-सञ्चारमन्त्री खरेल हाम्रो ऊर्जामन्त्रीज्यू (कुलमान घिसिङ) को सन्दर्भमा विभिन्न कुरा आइरहेका थिए। प्रधानमन्त्रीले राजीनामा माग्नुभएको होइन। ऊर्जामन्त्रीज्यूले भने समय आएलगत्तै राजीनामा दिने मनस्थिति बनाउनुभएको छ। किनभने उहाँको दल प्रवेशसम्बन्धी कुरा र अन्य विषय आइरहेका छन्। त्यस सन्दर्भमा राजीनामा मागिएको भन्दा पनि उहाँले समय हेरेर राजीनामा दिने सोच बनाउनुभएको हो।
तपाईं र खेलकुदमन्त्री बब्लु गुप्तामाथि पनि राजनीतिक संलग्नता र अभिव्यक्तिलाई लिएर प्रश्न उठिरहेका छन्, यो विषय उठेन ?
मन्त्री बब्लु गुप्ताको विषयमा मैले केही बोल्न मिल्दैन। मेरो हकमा भन्नुपर्दा अहिलेसम्म कुनै दलमा छैन। चुनाव उठ्छु, उठ्दिनँ भन्ने कुरा पनि मैले गरेको छैन। कुनै भेटवार्ता, पार्टी मिलाउने कुरा, एकीकरण गर्ने कुरा, यता–उता म कहीं पनि छैन। कहीं पनि नभइसकेपछि मेरो कुरा फरक रह्यो। अब अरूको सन्दर्भमा सम्बन्धित मन्त्रीले नै जवाफ दिनुपर्छ। म कुनै दलमा गएको थाहा छ ? कुनै मिटिङमा, कुनै बैठकमा, कुनै ठाउँमा सार्वजनिक रूपमा म चुनावमा उठ्छु अथवा यस्तो गर्छु भनेर मैले कहीं भनेको छु ? छैन। मेरो हकमा जनताले ‘चुनावमा उठिदिए हुन्थ्यो’ भन्ने चाहना राखेका छन्, यो भने सत्य हो। तर मैले कुनै निर्णय गरेको छैन।
जनताले चाहना राख्नु एउटा कुरा भयो, तर तपाईंको आफ्नै इच्छा के छ ?
त्यो विषयमा मैले अहिलेसम्म निर्णय गरेको छैन। अहिले सरकारको प्रवक्ताका रूपमा, सञ्चारमन्त्रीका रूपमा जे काम गर्नुपर्ने हो, त्यही गर्ने हो। बाँकी कुरा—चुनावमा उठ्ने कि नउठ्ने, पार्टी राजनीतिमा जाने कि नजाने, के गर्ने भन्ने सबै निर्णय बाँकी नै छन्।
उम्मेदवार हुनुपरे सरकारबाट अलग हुनुहुन्छ ?
भोलि उम्मेदवार बनियो, चुनाव जितियो, राजनीतिमा सक्रिय भइयो—ती पछिका कुरा हुन्। त्यस्ता विषयमा म पछि नै बोल्छु। अहिलेसम्म चुनाव उठ्ने–नउठ्ने, पार्टीमा जाने–नजाने भन्ने कुनै निर्णयमा छैन। अहिलेको सत्य के हो भने म सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री हुँ र त्यही जिम्मेवारी पूरा गरिरहेको छु। भोलि उम्मेदवार हुने अवस्था आयो भने त्यही बेला टिप्पणी गरौँला।
सम्बन्धित समाचार
