८२ वर्षे उमेरमा राष्ट्रिय सभाको यात्रामा महन्थ

कुनै बेला राष्ट्रपति र प्रधानमन्त्रीको अफर पाएका महन्थ संसदीय क्षेत्रको चुनावलाई बिट मार्दै राष्ट्रिय सभाको यात्रामा

पुस २३, २०८२

अजित तिवारी

Mahant on his journey to the National Assembly at the age of 82

What you should know

जनकपुर — २०४८ सालदेखि नै संसदीय चुनावमा प्रतिस्पर्धा गर्दै जित्दै–हार्दै आएका जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुरको अबको यात्रा राष्ट्रिय सभातिर सोझिएको छ । ठाकुर कांग्रेस, एमाले र जसपाको तालमेलमा मधेश प्रदेशबाट राष्ट्रिय सभाको उम्मेदवार बनेका हुन् । 

विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका ठाकुर ८२ वर्षको उमेरमा राष्ट्रिय सभाको सदस्यका लागि उम्मेदवार बनेका हुन् । ०७९ सालको आमनिर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ का मतदातालाई ‘अन्तिम पटक’ भन्दै चुनाव जितेका ठाकुर संसदीय क्षेत्रको चुनावलाई बिट मार्दै राष्ट्रिय सभाको यात्राको थालनी गर्दैछन् । 

गत साता उपेन्द्र यादवको दल जसपा नेपालसँग ठाकुर अध्यक्ष रहेको लोसपाको एकीकरण गर्दै मधेश प्रदेशमा ठूलो दल बनेको छ । मधेश प्रदेशमा कांग्रेस र एमालेको साथ पाउँदा ठाकुरको राष्ट्रिय सभाको यात्रा लगभग निश्चित देखिन्छ ।

मधेश प्रदेशमा ४ सिटका लागि राष्ट्रिय सभाको उम्मेदवारी दर्ता भएको छ । जसपा नेपालबाट ठाकुर, कांग्रेसबाट रन्जित कर्ण र धर्मेन्द्र पासवान तथा एमालेबाट रेखा झाले उम्मेदवारी दिएकी छन् । यी तीनवटै दलबीच चुनावी तालमेल छ । यता, नेकपाले पनि मधेश प्रदेशका ४ सिटका लागि उम्मेदवार टुंगो लगाएको छ । रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाललाई नेकपाले उम्मेदवार बनाएको छ । 

०४८ को आम चुनावमा ठाकुर कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जितेका थिए । उनी उपसभामुख पनि बने । ०५१ को मध्यावधि निर्वाचनमा ठाकुर फेरि सर्लाहीबाटै चुनाव जिते र मन्त्री पनि भए । कृषि, कानुन, विज्ञान तथा प्रविधि मन्त्रीसमेत भइसकेका ठाकुर ०६४ सालमा कोषाध्यक्ष रहेकै बेला अचानक कांग्रेस परित्याग गरे । ठाकुरकै अगुवाइमा २०६४ माघ ५ मा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन भयो, जसले दोस्रो मधेश आन्दोलन सुरु गरेको थियो । 

ठाकुरले २०६४ चैतमा भएको संविधानसभा निर्वाचनमा कांग्रेसको गढ मानिने सर्लाही निर्वाचन क्षेत्र नं. ४ रोजेका थिए । तर उनी तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवार शिवपुजन यादवसँग पराजित भए । २०७० सालमा दोस्रो संविधानसभा चुनावमा कांग्रेसका अमरेश सिंहसित हारे । त्यसपछि उनी सर्लाहीबाट महोत्तरी सरे ।

२०७९ को निर्वाचनमा उनले  महोत्तरीबाट जिते । ठाकुरको राजनीतिक जीवन उतारचढावले भरिपूर्ण छ । उनी राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा पटक-पटक तानिने पात्र पनि हुन् । ‘कांग्रेस नछाडेको भए पहिलो राष्ट्रपति हुने थिए महन्थ,’ संविधानसभाको चुनावयतादेखि कांग्रेसभित्र धेरैले यसो भन्छन् ।

झन्डै दुई तिहाइ बहुमतको सरकार बनाएको तत्कालीन नेकपा तीनतिर बाँडिएपछि नेपालको राजनीति फेरि तरंगित बन्यो । त्यति बेला ठाकुरको दुवै हातमा ‘लड्डु’ थियो । एकातिर ओली सरकारमा सहभागी हुने अवसर थियो । अर्कातिर कांग्रेसले उनलाई ‘प्रधानमन्त्री’ को अफर गर्‍यो । उनले चाहेको भए प्रधानमन्त्री पद टाढा थिएन । 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully