नेताले खल्तीबाट उम्मेदवार छनोट गरे, बैठकले अनुमोदन गर्यो, यसको स्वामित्व लिन सकिन्न : थापा
What you should know
काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रियसभाको उम्मेदवार छनोटमा गम्भीर आपत्ति जनाएका छन् । उम्मेदवार छनोटको विधि, प्रक्रिया र प्रस्तावित नामहरुप्रति आपत्ति जनाउँदै उनले निर्णयमा फरक मतसमेत राखेका छन् ।
राष्ट्रियसभाको उम्मेदवार छनोटका लागि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले तीन दिनदेखि निरन्तर बैठक राख्दै आएका छन् । तर, ती बैठकमा नामका बारेमा छलफलनै नभएको उनको भनाइ छ ।
थापाले मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार छनोटको सम्पूर्ण अधिकार सभापति शेरबहादुर देउवालाई दिने निर्णय गर्न चाहेको थियो । तर, महामन्त्री थापाको विरोधका कारण बुधबार विहान पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बसेर नामका बारेमा छलफल गर्नु अगाडि नै उम्मेदवारहरु तय गरेर मनोनयन गर्न जिल्ला–जिल्ला गइसकेका थिए । सभापति देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच भएको सहमति अनुसार उम्मेदवार तय गरेर त्यसको अनुमोदनका लागि मात्रै केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखिएको थियो ।
उनले एमालेसँगको गठबन्धनको आधार के हो? भनेर प्रश्न समेत उठाएका छन् । यसअघि एमाले, नेपाली कम्युनिष्ट पार्टी र मधेसी दलहरुसँग गठबन्धन गर्ने निर्णय भएको थियो । त्यसबारे कार्यबाहक सभापति खड्काले मंगलबारको बैठकमा जानकारी गराएका थिए । तर, बुधबार बिहान एक सीटमा कुरा नमिलेपछि नेकपा गठबन्धनबाट बाहिरिएको थियो । नेकपाले चार सिट मागेकोमा कांग्रेस र एमालेले ३ सीट भन्दा बढी दिन नसकिने बताएपछि नेकपा गठबन्धनबाट अलग भएको हो ।
यसको सैद्धान्तिक आधारमाथिसमेत थापाले प्रश्न उठाएका छन् । उनले जेन–जी आन्दोनलपछि एमालेकोसँगको सहकार्य टुंगिएको भन्दै के आधारमा तालमेल भएको भनेर प्रश्न गरे । ‘संख्याको कुरा होइन । संविधानको रक्षार्थ, राष्ट्रियसभाले निर्वाह गर्नुपर्ने भूमिकामा संविधानको नेतृत्व गर्ने मुख्य तीन दल एक ठाउँमा हुँदा राम्रो हुन्छ भनेर तालमेल गर्न लागिएको भनेर कार्यबाहक सभापतिले बैठकमा भन्नुभयो । तर, आज संख्या नमिलेको भनेर नेकपा गठबन्धनबाट बाहिरियो । तालमेलका सैद्धान्तिक आधार के हो ? किन गरेको हो ? भदौ २३ र २४ गते एउटा राजनीतिक दलसँग गठबन्धनमा थियौं । त्यो यात्रा त्यहिँबाट टुंगियो,’ बिहानको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै थापाले भने, ‘त्यसपछि नयाँ यात्रामा छौं । महत्त्वपूर्ण राजनीतिका विषयमा निर्णय गर्दा जिम्मेवार पार्टीका कमिटीहरुलाई केही थाह नहुने, बैठकमा सभापति नआउने तर सभापतिको पक्षमा बसेर निर्णय लिने र त्यसको स्वामित्व हामीले लिनुपर्ने ? न्यायपूर्ण छैन । गर्न पनि हुन्न । यसमा मेरो सहमति छैन ।’
उनले उम्मेदवार छनोटमा केन्द्रीय कार्यसम्पादन समिति, संसदीय बोर्ड, केन्द्रीय कार्यसमितिसहित जिल्ला र क्षेत्रलाईसमेत मानमर्दन गरिएको बताए । उनले उम्मेदवार छनोटमा एकजना पनि मुस्लिम, आदिवासी, जनजाति नपरेको भन्दै आपत्ति जनाए । जिल्ला र क्षेत्रबाट सिफारिसमा नपरेका दुई जनालाई उम्मेदवार बनाइएको भन्दै थापाले महामन्त्रीहरुलाई मात्रै होइन, पार्टीका संरचना र निकायलाईसमेत हेप्ने काम भएको बताए ।
‘नाम प्रस्ताव गर्नका लागि बैठकमा आइयो । नाम प्रस्ताव गर्न बाँकी नै छ । उम्मेदवारहरु मनोनयन पत्र बोकेर जिल्ला–जिल्ला गइसक्नु भएको रहेछ । महामन्त्रीहरुलाई हेप्ने, पेल्ने र कर्नरमा पार्ने त चलिरहेको थियो । सिंगो संसदीय बोर्ड र केन्द्रीय कार्यसमितिलाई मानमर्दन गरियो । यो हदसम्मको कार्य यसअघि थिएन । कम्तिमा नामहरुका बारेमा खुला छलफल गरेर टुंगाएका थियौं, अहिले त्यो पनि भएन । त्यसैले मैले लिखित फरक मत राखेको छु,’ थापाले भने,‘अर्का महामन्त्री स्वास्थ्यका कारणले बैठकमा आउन सक्नु भएन । उहाँको पनि यसमा फरक मत छ ।’
उनले कांग्रेस र एमालेको नेतृत्वले आफ्नो खल्तीबाट नाम झिकेर उम्मेदवार बनाएको आक्रोश पोखे । ‘जो–जेलाई बनाउनुपर्ने थियो, त्यहिँ कल्ष्टर आफ्नो भागमा राखिएको छ । एमालेलाई कुन नेता र कुन समुदायको नेता बनाउनुपर्छ । कांग्रेसलाई कुन नेता र समुदायको चाहिएको छ । त्यसैको कल्लष्टर आ–आफ्नो भागमा पारियो । पार्टीको होइन, नेताको खल्तीबाट उम्मेदवार बनाइयो,’ थापाले थपे, ‘तीन जनाको नाम कुनै पनि कमिटीबाट सिफारिस भएर आएको छैन । नआइकन यहाबाट पारित गरिएको छ । यसले त क्षेत्र र जिल्लाको समेत मानमर्दन भएको छ ।’
