लमजुङको सुन्दरबजारका केसीले २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाबाटै उम्मेदवारी दिई ९ हजार २९ मत ल्याएका थिए ।
What you should know
लमजुङ — रास्वपा लमजुङ जिल्ला समितिले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ धर्मराज केसीलाई एकल उम्मेदवार सिफारिस गरेको छ ।
रास्वपा लमजुङका संयोजक अशोक सापकोटाले प्रदेश समिति सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, अधिवेशन सम्पन्न भएका तथा तदर्थ समिति रहेका पालिका र वडा समिति साथै जिल्लामा गठन भएका विभिन्न तहगत समितिहरूको संयुक्त बैठकले सर्वसम्मत केसीको नाम सिफारिस गरिएको बताए ।
बेंसीसहरस्थित जिल्ला कार्यालयमा मंगलबार बसेको संयुक्त बैठकले जिल्ला पार्टी संस्थापक सभापति तथा हाल केन्द्रीय संगठन विभाग सदस्यसमेत रहेका केसीलाई प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल उम्मेदवारका रुपमा सिफारिस गर्ने निर्णय गरिएको उनले बताए ।
‘संगठनप्रतिको योगदान, अनुभव र नेतृत्व क्षमतालाई आधार मानी केसीलाई उम्मेदवार सिफारिस गरिएको हो,’ सापकोटाले भने । लमजुङको सुन्दरबजारका केसीले २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाबाटै उम्मेदवारी दिई ९ हजार २९ मत ल्याएका थिए ।
उक्त निर्वाचनमा लमजुङबाट नेकपा (एमाले) का तत्कालीन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ३४ हजार ९ सय ६९ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिस्पर्थी कांग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका तत्कालीन महासचिव देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत ल्याएका थिए ।
केसीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको विषयलाई लिएर रास्वपाका केन्द्रीय प्रवास विभाग सचिव पदमराज पन्थीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी नीतिअनुसार कुनै पनि उम्मेदवारलाई जिल्ला वा निर्वाचन क्षेत्रको सिफारिस आवश्यक नपर्ने दाबी गरेका छन् ।
‘जिल्लाको सिफारिस भन्दै नाम सिफारिस गरिएको भनाइ पूर्णतः गलत हो,’ उनले लेखेका छन् । साथै उनले लमजुङबाट इच्छुक पार्टी सदस्यहरूलाई आगामी २६ गतेभित्र उम्मेदवारी दिन आह्वान पनि गरेका छन् ।
रास्वपाले भने समानुपातिक उम्मेदवारमा समेत आफ्नो नाम राखेर प्रचार गरिसकेको जनाउँदै त्यस कारण औपचारिक रूपमा सिफारिस नगरेको जनाएको छ । रास्वपाले बन्दसूची बुझाउनुअघि पन्थीले आफू समानुपातिक उम्मेदवारमा आफ्नो दावी रहेको भन्दै प्रचारप्रसार गरेका थिए । तर, प्रारिम्भक चुनावमा कम मत आएको भन्दै उनलाई रास्वपाले बन्दसूचीमा नराखेको रास्वपा स्रोतले बतायो ।
उम्मेदवार बन्ने आकांक्षासहित अघि बढेका तत्कालीन उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य निर्देश सिलवाल पनि सिफारिसमा परेका छैनन् । उनले लमजुङबाट उम्मेदवारी दिने भन्दै छलफल चलाएका छन् । उनले विवेकशील साझा पार्टीमा रहँदा २०७४ को निर्वाचनमा ६ सय १८ मत र २०७९ मा काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवार हुँदा १ सय २७ मत प्राप्त गरेका थिए ।
