नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले नेकपा नेता वर्षमान पुनसँग सहकार्यबारे छलफल गरेका छन् । पुनको निर्वाचन क्षेत्र पनि रोल्पा भएकाले सहकार्य भए चन्द कपिलवस्तु-३ बाट उम्मेदवार हुनेछन् ।
What you should know
काठमाडौँ — नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द पहिलो पटक प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुँदैछन् । दस वर्षे सशस्त्र युद्ध, शान्ति प्रक्रियापछि दुई वर्ष भूमिगत जीवन र १८ वर्ष शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेका उनी पहिलो पटक औपचारिक रूपमा चुनावी मैदानमा उत्रने तयारी गरेका छन् ।
शान्ति प्रक्रियामा आएपछि २०६४ को संविधानसभा निर्वाचनमा अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरू उम्मेदवार भएका थिए । तर चन्दले रुचि देखाएनन् । उनी समानुपातिकबाट सभासद हुन पनि चाहेनन् ।
पहिलो संविधानसभा निर्वाचनपछि माओवादी शक्तिशाली दल भएको बेलासमेत उनले कुनै सुविधाको पद लिएनन् । तत्कालीन उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा विद्रोहबाट सत्ता कब्जा गर्ने नीतिसँग सहमत भएका उनले शान्ति प्रकियामा आएपछि अर्को विद्रोह गर्ने जोखिम लिए । तर त्यो विद्रोहले अघि बढ्न सकेन । विद्रोह सम्भावना नदेखेपछि उनी शान्तिपूर्ण राजनीतिमा आए ।
शान्तिपूर्ण राजनीतिमा आएपछि उनले ‘जनाधार’ निर्माण गर्ने नौलो अभियान चलाए । ‘कृषि क्रान्तिबाट समाजवादको आधार बनाउने’ नीति लिँदै चन्दले नेतृत्व गरेको नेकपा (माओवादी) ले कृषि उत्पादन सुरु गरेको छ । करिब पाँच सय बिघामा उसले खेती सुरु गरेको छ । गत वर्ष उनले व्यवसायी विनोद चौधरीलाई दुई लाख किलो आलु बिक्री गरेर व्यावसायिक उत्पादन सुरु गरेको सन्देश दिए । पार्टी नेता तथा कार्यकर्ता आत्मनिर्भर हुने भन्दै उसले गार्मेन्ट र मार्टसमेत सञ्चालन गरेको छ । चुनाव चिह्न गुलावको फूल लिएर मैदानमा उत्रने तयारी माओवादीको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीको मुख्य नारा नै कृषि क्रान्ति रहेको महासचिव चन्दले बताए । ‘आर्थिक क्षेत्रबाट देशलाई आत्मनिर्भर बनाउने गरी कृषि क्रान्तिसहित व्यापक औद्योगीककरणमा प्रवेश गर्नुपर्छ भन्ने चुनावी मुद्दा छ,’ उनले भने । भ्रष्टाचार नियन्त्रण गर्न कठोर कानुन र पाँच सय र एक हजारको नोटबन्दी गर्नुपर्ने माओवादीको माग छ । रोल्पा वा पार्टीको हेडक्वार्टरसमेत रहेको गृहजिल्ला कपिलवस्तु क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारीमा छन् उनी । पहिलो पटक चुनाव लड्न लागेका फरक अनुभव भएको बताए । ‘पहिलो पटक उम्मेदवार हुँदै गर्दा स्वाभाविक ढंगले फरक अनुभव त हुने नै भइहाल्यो,’ उनले भने, ‘ठीकै छ । जनताका थुप्रै सुझावहरू छन् । यो चुनावमा राम्रै हुन्छ भन्ने लागेको छ ।’
माओवादी केन्द्रले नाम परिवर्तन गरेपछि त्यो नाम चन्दले बोकेर चुनावी मैदानमा जाने तयारी गरेका छन् । माओवादी धारलाई समातेर उनले चुनाव जित्ने नीति लिएका छन् । तर उनले वामपन्थीसँग सहकार्य गरी चुनावमा जान छलफल भने सुरु गरिसकेका छन् । उनले नेकपा नेता वर्षमान पुनसँग सहकार्यबारे छलफल गरेका छन् । पुनको निर्वाचन क्षेत्र पनि रोल्पा भएकाले सहकार्य भए चन्द कपिलवस्तु-३ बाट उम्मेदवार हुनेछन् ।
‘सहकार्य गर्न नेपाली कम्युनिस्ट पार्टीका नेताहरूसँग थोरैथोरै छलफल भएको छ । हाम्रो एकदम प्रारम्भिक छलफल चलेको छ,’ उनले सुनाए, ‘सबै कम्युनिस्टहरूलाई एक बनाएर लान पाए अहिलेको राजनीतिमा देखा परिरहेका समस्याको निकास दिनेगरी सहकार्य गरौँ भन्ने हाम्रो प्रस्ताव छ ।’
पहिलो पटक चुनावी प्रतिस्पर्धा गर्न लागेको नेकपा (माओवादी) चुनावबाट मुलुकको एउटा वामशक्तिका रूपमा उदाउने चन्दको दाबी छ ।
तत्कालीन उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा माओवादी केन्द्रबाट ०६९ असारमा अलग भएपछि चन्दलगायतका नेताले जनविद्रोह गर्ने रणनीति लिएका थिए । उक्त समूहले अर्को माओवादी पार्टी गठन गरेका गिथए । वैद्यको जनविद्रोह हुन नसकेपछि चन्दले ०७१ मंसिरमा वैद्यबाट अलग हुदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए । त्यसपछि अर्धसशस्त्र संघर्ष सुरु गरी चन्दलगायतका नेता भूमिगत भए । तत्कालीन सरकारले उनीमाथि मुद्दा दायर गरेको थियो ।
०७५ फागुन २८ मा तत्कालीन केपी शर्मा ओली सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो । नेकपाको हिंसात्मक गतिविधिबाट प्रहरी, शिक्षक, सर्वसाधारणलगायत ६ जनाले ज्यान गुमाएका थिए । नेकपाका १२ कार्यकर्ताको मृत्यु भएको थियो । नेकपाका १ सय बढी कार्यकर्तालाई हिंसात्मक गतिविधि गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो । अझै पनि डेढ दर्जन कार्यकर्ता विभिन्न अभियोगमा जेलमा रहेका छन् ।
शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आउने प्रतिबद्धता जनाएपछि ओली सरकारले नै नेकपामाथिको प्रतिबन्ध हटाएको थियो । सरकार र नेकपाबीच ०७७ फागुन २१ मा तीनबुँदे सहमति भएपछि चन्द नेतृत्वको नेकपा पनि शान्तिपूर्ण राजनीतिमा सहभागी भएको थियो ।
सम्बन्धित समाचार
