कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरुले भने– ‘पार्टी निर्णय कि विधानको सर्वोच्चता ?’

विशेष महाधिवेशनका लागि २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित यसअघि असोज २९ गते दर्ता गरिएको निवेदनको स्मरण गराउँदै उनीहरुले सोमबार पुनः पार्टी केन्द्रको ध्यानाकर्षण गराएका हुन् ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Leaders in favor of the special general convention of the Congress said, ”The supremacy of party decisions or the constitution?”

What you should know

काठमाडौँ — कांग्रेसका विशेष महाधिवेशनपक्षर नेताहरुले पार्टी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यकारी व्यवस्था रहेको दाबी गर्दै केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमाथि गम्भीर प्रश्न उठाएका छन् ।

विशेष महाधिवेशनका लागि २ हजार ४ सय ८८ (५४%) महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित यसअघि असोज २९ गते दर्ता गरिएको निवेदनको स्मरण गराउँदै उनीहरुले सोमबार पुनः पार्टी केन्द्रको ध्यानाकर्षण गराएका हुन् ।

विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसे, इन्द्र रिजाल, सुवास पोखरेल, बजरंग नेपाली, लेखनाथ पोखरेल, रेशम बानियाँ, किरण गिरीलगायत सयौं नेता–कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘विशेष महाधिवेशनको औचित्य नरहेको’ भनी गरेको निर्णय विधानविपरीत भएको ठहर गरेको छ । विधानको सर्वोच्चता स्वीकार नगरी एकपक्षीय रूपमा गरिएको उक्त निर्णयले पार्टीभित्र लोकतान्त्रिक संस्कारमाथि प्रश्न उठाएको उनीहरूको आरोप छ ।

'महाधिवेशन प्रतिनिधिहरूको बहुमतले गरेको अनुरोधको वैधानिक र राजनीतिक हैसियत हुँदैन ?' भन्दै उनीहरूले केन्द्रीय नेतृत्वसँग स्पष्ट जवाफ मागेका छन् । पार्टी सञ्चालनका क्रममा विशेष महाधिवेशनजस्तो गम्भीर विषयमा मागकर्तासँग संवादसमेत नगरी निर्णय लिनु अलोकतान्त्रिक भएको दाबी पत्रमा उल्लेख छ ।

उनीहरूले विशेष महाधिवेशन बोलाइनुपर्ने विधिसम्मत माग गरिएको स्पष्ट पार्दै विधानले तोकेको तीन महिनाको समयसीमा– पुस २८ भित्र बोलाइसक्नु पर्नेमा जोड गरेका छन् ।

'विशेष महाधिवेशन बोलाउने व्यवस्था कसैको रहर वा छनोट होइन, यो पार्टी विधानको बाध्यकारी प्रावधान हो,' पत्रमा भनिएको छ ।

महाधिवेशन प्रतिनिधिहरूले आफूहरूलाई निर्वाचित गर्ने सर्वोच्च निकाय महाधिवेशनको बहुमत निर्णयलाई निष्प्रभावी बनाउने अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई नहुने उल्लेख गर्दै पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिको निर्णय सच्याउन केन्द्रसँग आग्रह गरेका छन् । उनीहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी केन्द्रीय कार्यालयमा गएर ध्यानाकर्षण पत्र दिन खोज्दा खड्काले भने बुझ्न अस्वीकार गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully