एमाले उपाध्यक्ष पौडेलले २०५१ सालमा पाल्पाबाटै संसदीय यात्रा प्रारम्भ गरेका हुन् । २०५६ देखि रुपन्देहीबाटै चुनाव लड्दै आएका पौडेलको नाम यस पटक भने पाल्पा-२ बाट समेत सिफारिस भएको छ । उनी आठ पटक मन्त्री बनिसकेका छन् ।
What you should know
पाल्पा — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाल्पा एमालेले १० जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुवै क्षेत्रमा एकल नाममा सहमति जुट्न नसकेपछि क्षेत्र १ बाट ६ र क्षेत्र २ बाट ४ जनाको नाम सिफारिस गरेको एमाले पाल्पा अध्यक्ष ओमबहादुर घर्तीले बताए ।
पाल्पा २ बाट पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको नामसमेत सिफारिस भएको छ ।
पौडेलको नाम किन पाल्पामा ?
एमाले स्रोतका अनुसार क्षेत्रीय कमिटीको उम्मेदवार सिफारिस गर्ने बैठकमा केही नेताले पौडेलको नाम लिएपछि सिफारिस भएका हुन् । पौडेललाई एकल सिफारिसका लागि पहलसमेत गरेका थिए ।
तर २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित युवा नेता ठाकुर गैरे, संविधानसभा सदस्य नारायणी घिमिरे र नेता डा. रामबहादुर राउतलगायत धेरैको नाम बैठकमा प्रस्तावमा आएपछि एकल सिफारिस हुन नसकेको हो । क्षेत्रीय अध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार बैठकमा सिफारिसका लागि आएकाहरूको नाम जिल्ला कमिटीमा पठाएको हो । एमालेको बैठकमा उपाध्यक्ष पौडेलको उपस्थिति भने थिएन ।
पौडेलको सिफारिसलाई कतिपय एमाले कार्यकर्ताले युवा नेता गैरेले ११ औं महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएकाले आउने प्रतिनिधिसभा सदस्यमा टिकट नदिने प्रपञ्चका रूपमा समेत आकलन गरेका छन् । २०५६ देखि रुपन्देहीबाट चुनाव लड्दै आएका एमाले उपाध्यक्ष पौडेलको नाम कसरी सिफारिस भयो ?
यसअघि वर्षौंसम्म अवसर नपाएका गैरे तत्कालीन नेकपा समाजवादी, माओवादी र कांग्रेसको गठनबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई पराजित गरेर संसदीय यात्रा २०७९ मा सुरु गरेका थिए । अहिले पुनः उनलाई टिकट ल्याउन नदिनका लागि विभिन्न चलखेल भइरहेको एमालेकै एक कार्यकर्ताले बताए । एमाले उपाध्यक्ष पौडेल रूपन्देही–२ बाट पनि एकल सिफारिस भएका छन् ।
रुपन्देही-२ मा यसअघि पनि थोरै मतले मात्र विजयी भएका पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गर्न खोजेका हुन् कि भन्ने पनि राजनीतिक वृत्तमा आकलन गरिएको छ । रुपन्देहीका एमालेका प्रभावशाली नेता वासुदेव घिमिरेले केही दिनअघि एमाले छाड्ने घोषणाले त तरंग नै पैदा गरेको थियो ।
उनी विष्णु पौडेलविरुद्ध रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा लागेको समेत भन्दै समाचार प्रकाशित भएका थिए । यद्यपि घिमिरेले पछि आफू एमालेमै रहेको बताएका छन् । रुपन्देही-२ मा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि १३, सैनामैना नगरपालिकाको १-४ र तिलोत्तमा नगरपालिकाको १-६ वडा समेटिएको छ ।
एमाले उपाध्यक्ष पौडेलको संसदीय यात्रा
एमाले उपाध्यक्ष पौडेलले २०५१ सालमा पाल्पाबाट संसदीय यात्रा प्रारम्भ गरेका हुन् । त्यसपछि अहिलेसम्म आठ पटक मन्त्री बनिसकेका छन् । २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा साविकको पाल्पा क्षेत्र नम्बर ३ मा ६० हजार ५६ मतदाता थिए । जसमा ३४ हजार ३ सय ७३ मत खसेको थियो । एमालेका विष्णुप्रसाद पौडेलले १५ हजार ७ सय ६६ मत पाएर विजयी भएका थिए । उनको निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका हरिप्रसाद नेपालले १२ हजार ६ सय ९७ मत पाएर पराजित भए ।
पाल्पाबाट सुरु भएको पौडेलको संसदीय यात्रापश्चात् पौडेलले पाँच पटक अर्थ मन्त्रालय सम्हालेका छन् । पहिलो पटक २०७२ कात्तिकमा अर्थमन्त्री भए । दोस्रो पटक २०७७ असोजमा अर्थमन्त्री बने । तेस्रो पटक २०७८ जेठ, चौथोपटक २०७९ पुस र २०८१ असारमा पाँचौँ पटक अर्थमन्त्री भएका हुन् । पौडेल पहिलो पटक २०५३ चैत १२ देखि ०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृतिमन्त्री बनेका हुन् । उनले पाल्पाली मतदातालाई चटक्कै बिर्सेको यहाँका मतदाताको आरोप छ । पहिलो पटक पाल्पाबाट निर्वाचन जितेका पौडेललाई २०५६ को संसदीय निर्वाचनमा एमालेले रूपन्देही–३ बाट उठायो । तर कांग्रेसका सूर्यप्रसाद प्रधानसँग करिब ६ सय मतान्तरले पराजित भएका थिए ।
२०६४ मा रूपन्देहीबाट चुनाव जितेसँगै २०६५ भदौ ५ देखि ०६६ जेठ ७ सम्म उनी दोस्रो पटक मन्त्री बने । उनले जलस्रोत मन्त्रालय सम्हालेका थिए । २०६७ सालमा पौडेल रक्षामन्त्री थिए । त्यतिबेला पौडेल ०६७ चैत ३ देखि ०६८ भदौ ११ सम्म रक्षा मन्त्रालय सम्हालेका थिए । राजनीतिमा कुटिल मानिने पौडेलले मन्त्री बन्ने अवसर पटक-पटक पाइरहेका छन् । पौडेल एमालेको १० औ र ११ औं महाधिवेशनबाट उपाध्यक्ष पदमा छन् । पौडेल २०७० सालको दोस्रो संविधानसभा चुनावमा रूपन्देहीबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई हराएपछि थप चर्चित बनेका थिए ।
तर २०७९ को निर्वाचनमा भने पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग १ हजार ३ सय ७० मतान्तरमा चुनाव जितेका थिए । उनको लोकप्रियता बिस्तारै घटेको यसबाट प्रस्ट हुने उनकै क्षेत्रका मतदाता बताउँछन् । एमालेका पौडेलले २७ हजार १६५ मत ल्याएर विजयी हुँदा रास्वपाका पौडेलले २५ हजार ७९५ मत पाएका थिए । २०७९ को निर्वाचनमा पौडेलले अर्थमन्त्री पदसँग बुटबलबाट राजधानी दाङको देउखुरी साटेको आरोप मतदाताले लगाएका थिए ।
राजनीतिक चहलपहल
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा पाल्पाका राजनीतिक दलहरूले धमाधम प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेका छन् । विगतमा कुन क्षेत्रमा को बलियो र अब कसले आफ्नो पोल्टा भर्नेसम्मका रणनीतिका साथ उम्मेदवार पनि सिफारिस गरेका हुन् ।
२०४८ सालको निर्वाचनमा बलियो पाल्पा कांग्रेसले २०५१ मा आफ्नो नतिजा तीन वटै क्षेत्रमा जोगाउन सकेन । तर, त्यही निर्वाचनमा एमाले पनि बलियो नभएको भने होइन ।
दुई पार्टीबीच मतमा खासै फरक देखिएको थिएन । प्रतिस्पर्धीबीच धेरै फरक मत थिएन । पाल्पामा पहिले एमाले कांग्रेसकै प्रतिस्पर्धा हो । एमाले र कांग्रेसको यस अघिका निर्वाचनमा प्रतिस्पर्धा नै भएको देखिन्छ । २०४८ सालमा साविक तीन वटै क्षेत्र जितेको कांग्रेसले २०५१ मा सबै सिट गुमाएको थियो ।
२०५६ मा एमालेले तीन वटै क्षेत्र जितेको पाल्पामा २०६४ को पहिलो संविधानसभामा १ र ३ मा एमाले विजयी बन्यो । क्षेत्र २ मा भने तत्कालीन माओवादीले जितेको थियो ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र १ र २ मा एमाले र ३ मा कांग्रेसले जितेको हो । संघीयतापछि २०७४ मा २ क्षेत्र भएको पाल्पामा दुवै सिट एमालेले जित्यो । २०७९ को निर्वाचनमा पनि एमाले नै विजयी बन्यो ।
