उनले पार्टी फुट्ने सम्भावना नरहेको दाबी गर्दै गिरिजाप्रसाद कोइरालाको समयदेखि नै कार्यसमितिको कार्यकाल एक वर्षदेखि डेढ वर्ष थप हुँदै आएको बताए ।
काठमाडौँ — नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पछिल्लो गतिविधि नेविसंघका पदाधिकारीबीचको झगडाजस्तै भएको टिप्पणी गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
सहमहामन्त्री राठौरले काँग्रेसभित्र तत्काल विशेष महाधिवेशनको आवश्यकता नरहेको जिकिर गर्दै काँग्रेसजस्तो लामो इतिहास बोकेको, देश र जनताप्रति जिम्मेवार पार्टीको गरिमा जोगाउने जिम्मेवारी पार्टी महामन्त्रीहरूको भएको बताएका छन्। उनले पार्टी फुट्ने सम्भावना नरहेको दाबी गर्दै गिरिजाप्रसाद कोइरालाको समयदेखि नै कार्यसमितिको कार्यकाल एक वर्षदेखि डेढ वर्ष थप हुँदै आएको स्मरण गराए। उनले विशेष महाधिवेशन केन्द्रीय समितिले नभई महामन्त्रीहरूले अघि सारेको दाबी गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई त्यसमा नआउन आग्रह गरिसकिएको बताए।
उनले पार्टी फुटाएर कसैलाई फाइदा नहुने, बरु बाहिरी शक्ति र अन्य दलहरूलाई फाइदा हुने बताउँदै भने, ‘अहिले यो विशेष महाधिवेशनको फन्डा ल्याउनुपर्ने जरुरी नै छैन। पार्टीभित्र त्यो परिस्थिति होइन। हाम्रो कार्यकाल चार वर्षको हो।’ उनले अहिले पार्टीभित्र विशेष महाधिवेशन गर्नुपर्ने आवश्यकता नभएको भन्दै थपे, ‘यो विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाएको होइन, महामन्त्रीहरूले बोलाएको होला, नआउनुहोला भनेर महाधिवेशन प्रतिनिधि साथीहरूलाई भनेका छौँ।’
