कांग्रेस नेता सिटौला भन्छन् : प्रतिनिधिसभा चुनावमा तालमेल हुँदैन, १६५ क्षेत्रमै उम्मेदवार उठाउँछौं

प्रतिनिधिसभामा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने र पार्टी महासमितिको निर्णयसमेत गठबन्धनको पक्षमा नभएको उनले बताए ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Congress leader Sitaula says: There is no coordination in the House of Representatives elections, we are fielding candidates in only 165 constituencies

What you should know

काठमाडौँ — कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभामा रणनीतिक तालमेल गरिए पनि प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवार खडा गर्ने बताएका छन्।  

प्रतिनिधिसभामा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने र पार्टी महासमितिको निर्णयसमेत गठबन्धनको पक्षमा नभएको उनले बताए । सिटौलाले सोमबार पत्रकार सम्मेलनमार्फत  कांग्रेसले कसैलाई भावी प्रधानमन्त्रीको रूपमा अघि अघि सार्न नखोजेको बताए। उनले भने, 'व्यक्तिको अनुहार र प्रभाव भन्दा पनि संगठनको पल र पार्टीको योगदानका आधारमा मत आउने हो। व्यक्तिलाई हेरेर होइन ।' 

सिटौलाले कांग्रेस विभाजन पनि नहुने र विशेष महाधिवेशन पनि नहुने बताए। विशेष महाधिवेशन नहुने भएकाले देशभरका महाधिवेशन प्रतिनिधिलाई काठमाडौं नआउनसमेत उनले अपिल गरे । 'सबै महाधिवेशन प्रतिनिधिहरू जिल्लाको संगठन र निर्वाचनको तयारीमा लाग्नुपर्छ । तपाईँहरू काठमाडौं नआउनुहोस्,' उनले भने ।

विशेष महाधिवेशन पक्षधरमा रहेका दुई महामन्त्रीलाई लक्षित गर्दै सिटौलाले पार्टीको निर्णय मान्नुपर्ने बताए । केन्द्रीय कार्यसम्पादन समितिको गत शुक्रबारको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय लिएको थियो।

उक्त निर्णयलाई मानेर महामन्त्रीहरू निर्वाचनको तयारीमा जानुपर्ने उनको भनाइ थियो। सिटौलाले यसअघि महामन्त्रीले केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशनको एजेन्डा नै प्रवेश नगराएको दाबी गरे। 'महामन्त्री गगन थापाले पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुभयो तर विशेष महाधिवेशनको झण्डा ल्याउनुभएन,' उनले भने । केन्द्रीय कार्यसमितिमा छलफलमै नआएको एजेन्डालाई अहिले पार्टी निर्णयविपरीत विशेष महाधिवेशन भनेर लाग्न नहुने उनको भनाइ थियो 

निर्वाचनमा होमिनुपर्ने बेला विशेष महाधिवेशनको कुरा गरेर पार्टीलाई थप कमजोर बनाउन नहुने उनले बताए। वर्तमान पार्टीको नेतृत्व र नीति परिवर्तन नभएसम्म महामन्त्रीहरूले चुनाव नलड्ने बताइरहेका छन् नि भन्ने प्रश्नमा सिटौलाले भने, 'चुनाव लड्ने नलड्ने उहाँहरूको व्यक्तिगत च्वाइसको कुरा । तर विशेष महाधिवेशनको औचित्य छैन भनेर पार्टीले निर्णय गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्नुपर्ने महामन्त्रीहरूको दायित्व हो।'

कान्तिपुर

Link copied successfully