वडाध्यक्षले त टेर्दैनन्, सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम पार्छन् : नेपाल

एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि श्रीलंका र विभिन्न अफ्रिकी मुलुकको उदाहरण दिँदै नेता नेपालले तानाशाही जन्माउनेले मात्रै प्रत्यक्ष निर्वाचित कार्यकारी कुरा उठाउने बताए ।

पुस २०, २०८२

विनोद घिमिरे

Ward chairmen don't give up, they destroy the country when the head of government becomes the executive: Nepal

What you should know

धनकुटा — नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा पुर्‍याउने बताएका छन् ।

धनकुटामा आज आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी तानाशाही हुने भन्दै जंगबहादुरको देशमा फेरि अर्को ‘जंगबहादुर’को कल्पना गर्न नसकिने दाबी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि श्रीलंका र विभिन्न अफ्रिकी मुलुकको उदाहरण दिँदै नेता नेपालले तानाशाही जन्माउनेले मात्रै प्रत्यक्ष निर्वाचित कार्यकारी कुरा उठाउने बताए ।

उनले भने, ‘देख्नु भएन दुईतिहाइ पाएको केपी ओली! उनले के गरे? ओलीजस्तो प्रवृत्ति भएका कतिछन् नेपालमा ? त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यर्थको बहस हो ।’ उनले अघि भने, ‘प्रत्यक्ष निर्वाचित भएका नगरपालिकाको मेयरले कसैलाई टेर्छ ? वडाध्यक्षले कसैको कुरा सुन्छ ? हो त्यहि प्रवृति हो प्रत्यक्ष कार्यकारी ।’

उनले संसारमा कुनै पनि प्राणाली शतप्रतिशत पूर्ण नरहेको जनाए । अहिलेकै लोकतान्त्रिक संसदीय प्रणालीलाई उन्नत बनाउँदै जानुपर्ने उनको भनाइ छ । अर्को प्रसंगमा नेता नेपालले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस–एमालेसँग चुनावी तालमेलका लागि छलफल गर्न आफ्नो पार्टी तयार रहेको बताए ।

उनले तर त्यसका लागि कांग्रेस–एमाले लगायतका ठूला दलबाट प्रस्ताव आउनुपर्ने उनको भनाइ छ । ‘ठूला दल उनीहरु हुन्, उनीहरुले हात दिए हामी सकारात्मक छौं, पहल गर्ने पहिलो काम उनीहरुको हो,’ उनले भने, ‘ताली एकहातले बज्दैन, निर्णायकको भूमिका महत्त्वपूर्ण हुन्छ, हामी त छलफलका लागि तयारै छौं, तर यो कामका लागि कांग्रेस एमाले पहिला तयार हुनुपर्छ, उनीहरुनै ठूला पार्टी पनि हुन् ।’

कसको बल र उक्साहटमा जेन–जी आन्दोलन भएको भन्ने कुरा आफूले समय आएपछि खुलाउने बताए ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully