अध्यक्ष ओलीको स्थानहद फुकुवा हुनेबित्तिकै देशव्यापी चुनावी अभियानमा होमिने तयारीमा एमाले

स्थानहदका कारण ओली उपत्यकाबाहिर जान नपाए पनि एमालेले समानुपातिक बन्दसूची, प्रत्यक्ष उम्मेदवार सिफारिस लगायतका निर्वाचनकेन्द्रित गतिविधिलाई अगाडि बढाइरहेको छ ।

पुस २०, २०८२

गंगा बीसी

UML prepares to launch nationwide election campaign as soon as Chairman Oli's term is lifted

What you should know

काठमाडौँ — एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएको स्थानहद र पासपोर्ट रोक्का फुकुवा हुनबित्तिकै चुनावी अभियानलाई तीव्रता दिने आन्तरिक तयारी गरेका छ ।

संसद् पुन:स्थापनालाई पहिलो र निर्वाचनलाई दोस्रो प्राथमिकतामा राखेको एमालेले भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगले ओलीमथि लगाएको स्थानहद र पासपोर्ट रोक्काको विरोध गर्दै आएको छ ।

स्थानहदका कारण ओली काठमाडौं उपत्यकाभन्दा बाहिरका कार्यक्रममा सहभागी हुन पाएका छैनन् । ‘स्थानहद हट्नेबित्तिकै अध्यक्ष ओली देशव्यापी पार्टी अभियानमा हिँड्नुहुनेछ,’ एमालेका एक पदाधिकारीले भने, ‘त्यो चुनावी अभियान आन्दोलनकै रुपमा हुनेछ ।’

आयोगले भदौ २३ र २४ मा भएको घटनाबारे तत्कालीन प्रधानमन्त्रीको हैसियतले उनको बयान लिने र त्यसपछि स्थानहद हटाउने तयारी गरेको छ । ओली पनि आयोगसमक्ष आफ्नो भनाइ दर्ज गराउने पक्षमा छन् । यद्यपि एमालेले आयोगको कामकारबाहीलाई मान्यता नदिने निर्णय नै गरिसकेको छ ।

आयोगले छानबिन र जाँचबुझका लागि भन्दै तत्कालीन प्रधानमन्त्री ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन जिल्ला अधिकारी छविलाल रिजाल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई समेत विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो । गत असोज १२ गते आयोगको उक्त निर्णयमा उनीहरूलाई स्वीकृतिबेगर उपत्यकासमेत छाड्न नपाउने पनि भनिएको थियो । आयोगले ओलीबाहेक सबैको बयान लिइसकेको छ भने स्थानहद पनि फुकुवा गरिसकेको छ । 

दलहरुले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाइसकेपछि फागुन २१ मा घोषणा भएको निर्वाचनको माहोल झन् बढेको छ । कांग्रेस, नेकपा, रास्वपालगायत दलले निर्वाचनमा जाने औपचारिक निर्णय गरे पनि एमालेले संसद् पुन:स्थापनाको मुद्दासँगै निर्वाचनको तयारी अघि बढाएको छ ।

संसद् पुन:स्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको एमालेले आन्तरिक रुपमा देशव्यापी चुनावको तयारी पनि सँगै लगेको छ । उसले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीभन्दा अघि निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको थियो । त्यसपछि उसले प्रत्यक्ष उम्मेदवार छान्ने गृहकार्यलाई जिल्लाजिल्लामा तीव्रता दिएको छ ।

एमालेले पुस २६ भित्र प्रत्यक्ष उम्मेदवारको सफारिस गर्न निर्देशन दिइसकेको छ । पुस २० भित्र जिल्लाको पालिका कमिटीले जिल्लालाई, २४ भित्र जिल्लाले प्रदेश र २५ भित्र प्रदशेले केन्द्रीय कमिटीलाई प्रत्यक्ष उम्मेदवारको सिफारिस गर्न निर्देशन गरिसकेको छ । त्यही निर्देशनअनुसार पालिका कमिटीहरुले सम्भावित उम्मेदवार छान्ने प्रक्रिया तीव्र बनाएका छन् ।

पुस २६ देखि २८ बस्ने केन्द्रीय कमिटी बैठकले उम्मेदवारको टुंगो लगाउनेछ । एमाले सचिव महेश बस्नेतले संसद् पुन:स्थापनाका लागि अधिकतम प्रयास गर्ने नीति उल्लेख गर्दै योसँगै चुनावबाट पछि नहट्ने बताए । ‘संसद् पुन:स्थापनाका लागि अधिकतम प्रत्यत्न गर्ने नीति कायम छ । तर हामीले चुनावी कार्यक्रमलाई पनि अघि बढाएका छौं,’ उनले भने, ‘अब हुने केन्द्रीय कमिटी बैठकले प्रत्यक्ष उम्मेदवारको टुंगो गर्छौं ।’

अध्यक्ष ओली झापा ५ बाट एकल, उपमहासचिव योगेश भट्टराई ताप्लेजुङ, नेता प्रदीप ज्ञवाली गुल्मी १ बाट सिफारिस भएका छन् । देशभारबाट एमाले उम्मेदवार धमाधम सिफारिस प्रक्रिया सुर भएको छ ।

प्रत्यक्ष निर्वाचनका लागि माघ ६ मा मनोनयत दर्ता गर्ने निर्वाचन कार्यक्रम छ । त्यसअघि दलहरुले उम्मेदवार टुंग्याइसक्नुपर्नेछ । मंसिर अन्तिम साता भएको ११औं महाधिवेशनलगत्तै ५ पुसमा बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्ने प्रस्ताव पारित गरेको थियो । नेताहरुको स्थानहद तोक्ने निर्णयको बैठकले विरोध गर्दै राजनीतिक दलसँग सार्थक संवाद, परामर्श र सहकार्य नगरेकामा आपत्ति जनाएको थियो ।

‘लोकतन्त्रको प्राप्ति एवं रक्षाका लागि अग्रपंक्तिमा उभिएको पार्टी हुनुको नाताले नेकपा (एमाले) ताजा जनादेशका लागि जनतामाझ जाने, जनअनुमोदित हुने र निर्वाचनको प्रतिष्पर्धामा सहभागी हुने मान्यतामा अविचलित छ । त्यसैले यो पार्टी कहिल्यै निर्वाचनबाट पछि हट्दैन,’ एमालेको निर्णयमा भनिएको छ, ‘तर निर्वाचनको कार्यादेश प्राप्त गरेको वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनेतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्यत छ । लोकतन्त्रका आधारस्तम्भका रूपमा रहेका दलहरूसँग सार्थक संवाद, परामर्श र सहकार्य गरिरहेको छैन । निषेधको बाटोमा हिँडिरहेको छ । नेताहरूलाई स्थान हद तोक्ने, राहदानी रद्द गर्ने, शान्तिपूर्ण कार्यक्रमलाई निषेध गर्ने, मिडिया ट्रायल गर्दै चरित्र हत्या गर्ने काम गरिरहेको छ ।’ 

त्यसपछि राष्ट्रपति राचन्द्र पौडेलको संयोजनमा ८ पुसमा प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच निर्वाचनकेन्द्रित छलफल भएको थियो । त्यसले सरकार र एमालेबीच बढ्दो दुरी कम गरेको थियो । 

त्यस्तै, प्रधानमन्त्री कार्कीले पुस १२ कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहालसँग छलफल गरेकी थिइन् । छलफलमा तीन नेताले सरकारले निर्वाचनको वातावरण बनाउन आग्रह गर्दै चुनावमा जाने सहमति गरेका थिए ।

गंगा

Link copied successfully