महामन्त्री कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा प्रतिनिधिसभा चुनावका प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्न उपसमिति गठन गरेको छ ।
रास्वपाको आइतबारको बैठकले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा चुनावका उम्मेदवार चयन गर्न उपसमिति गठन गरेको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार योग्य उम्मेदवार चयनका लागि उपसमिति गठन गरिएको हो । 'प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने । उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने,' झाले जानकारी दिए । उपसमितिमा सदस्यहरू पार्टी सचिवालयले चयन गर्ने झाले बताएका छन् ।
त्यस्तै, महामन्त्री कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गरिएको छ । 'पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निष्कर्षमा पुर्याउन पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने । उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने,' रास्वपाको निर्णयमा भनिएको छ ।
