निर्वाचन आयोगद्वारा समानुपातिक बन्दसूची रुजु, गल्ती सच्याउने समय २७ गतेसम्म

आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार, पुस १६ देखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरकाअनुसार, पुस १६ देखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो ।

रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले बताए । कागजात, उमेर नपुगेकालगायतका सबै त्रुटि पहिल्याएर दलहरूलाई सच्याउन पठाइने उनले बताए । उनकाअनुसार २१ देखि २७ गतेसम्म दलहरूले त्रुटि सच्याएर पुनः बन्दसूची पेस गर्न पाउनेछन् । 

अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने उनले बताए । समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए । 

दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने उनले जनाए । 

फागुन २१ मा हुने निर्वाचनका लागि दलहरुले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरेका थिए ।

कान्तिपुर

Link copied successfully