रास्वपामा समानुपातिकबाट उम्मेदवारी फिर्ताको घोषणा जारी

टासी लाक्पा शेर्पा, त्रिशला गुरुङ, आसिफ शाह, सचिन ढकाल र महेन्द्र लावतीले गरे उम्मेदवारी फिर्ताको घोषणा

पुस २०, २०८२

जयसिंह महरा

Announcement of withdrawal of candidacy from proportional representation in RSVP issued

What you should know

काठमाडौँ — रास्वपाले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ताको घोषणा गर्ने क्रम चलिरहेको छ । शनिबार साँझसम्म पाँच जनाले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । 

पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ शाह, उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । केही उम्मेदवारले नाम फिर्ता लिने भनेर पार्टी नेताहरूलाई जानकारी दिएका छन् । उनीहरूले नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । नाम फिर्ता लिन २८ पुसलाई तोकिएको छ ।

संविधानले प्रतिनिधिसभामा उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि समानुपातिक प्रणालीको व्यवस्था गरेकामा रास्वपाले नेताका आफन्त, निकटस्थ लगायतका पहुँचवालालाई उम्मेदवार बनाएको भन्दै सार्वजनिक रूपमा आलोचना भएको थियो । 

रास्वपाका प्रवक्ता मनीष झाले सार्वजनिक रूपमा प्रश्न उठेपछि समानुपातिक सूचीमा रहेका केही उम्मेदवारहरूले नाम फिर्ता लिने निर्णय गरेको बताए । ‘ज–जसका बारेमा प्रश्न उठिरहेको छ, उहाँहरूले फिर्ता लिनु भनेको जनभावनाको कदर हो,’ उनले भने ।

नाम फिर्ता लिनेमा बालेन्द्र शाह र कुलमान घिसिङ पक्षबाट सिफारिस भएका उम्मेदवार रहेको झाको भनाइ छ । उम्मेदवारी फिर्ता लिनेहरूका सम्बन्धमा आइतबार केन्द्रीय समिति बैठकमा छलफल हुने पनि उनले जानकारी दिए । एकता प्रक्रियामा बालेन्द्र शाहको पक्षबाट वार्ता तथा संवादमा संलग्न भूपदेव शाहले उम्मेदवारी फिर्तापछि रिक्त ठाउँमा कसलाई पठाउने भन्नेबारे छलफल भइरहेको जानकारी दिए ।

‘जुन क्लस्टरको जुन क्रमसंख्याबाट नाम फिर्ता लिइएको छ, त्यही ठाउँमा नयाँ नाम पठाउने तयारी भइरहेको छ,’ उनले भने, ‘पार्टीका सबैसँग सल्लाह गरेर संसद्मा राम्रो प्रस्तुति दिन सक्ने व्यक्तिहरूलाई पठाउने योजना छ ।’

आसिफ शाहले पार्टी नेतृत्वलाई सहज पार्न नाम फिर्ता लिएको रास्वपाका पूर्वसांसद तथा आसिफका भाइ असिम शाहले बताए । ‘नेतृत्वलाई निर्णय लिन सहज हुन्छ भनेर दुई कदम पछाडि सरी नाम फिर्ता लिइएको हो । काठमाडौं–५ बाट प्रत्यक्षका आकांक्षी छौं,’ असिमले भने । 

मुस्लिम पुरुष ‘क्लस्टर’ को १ नम्बरमा रहेका आसिफले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उनले जनभावना र पार्टी पंक्तिबाट आएको प्रतिक्रियालाई सम्मान गर्दै सूचीबाट नाम हटाएको उल्लेख गरेका छन् । आसिफ बालेन्द्र शाहका तर्फबाट समानुपातिक सूचीमा सिफारिस भएको नेताहरूको भनाइ छ । उम्मेदवारी फिर्ताको घोषणा गरेका प्राध्यापक लावती रास्वपाको आदिवासी जनजाति पुरुषतर्फ १२ नम्बरमा थिए । उनी घिसिङ पक्षबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका थिए ।

रास्वपा समानुपातिक सूचीबाट नाम फिर्ता लिएका सचिन ढकाल फुटबल क्लब (एफसी) चितवनका अध्यक्ष हुन् । उनी पर्यटन तथा हस्पिटालिटी व्यवसायमा संलग्न छन् । उनी खसआर्य पुरुषतर्फ २ नम्बरमा सिफारिस भएका थिए । उनी पनि शाहको कोटाबाट समानुपातिक उम्मेदवार बनेका थिए । ढकालले संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यतालाई सम्मान गर्दै पछि हटेको उल्लेख गरेका छन् । उनका बुबा चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् । 

रास्वपाले गायिका तथा चिकित्सक त्रिशला गुरुङलाई पनि समानुपातिक उम्मेदवार बनाएको थियो । गुरुङले आत्ममूल्यांकन गरी राजनीतिक पदमा नजाने निष्कर्षमा पुगेको घोषणा गरेकी छन् । कलाकारिता र स्वास्थ्य सेवामार्फत समुदायका लागि योगदान दिने उनको भनाइ छ । उनी आदिवासी जनजाति महिला ‘क्लस्टर’ मा पाँचौं नम्बरमा थिइन् । 

रास्वपा समानुपातिक उम्मेदवारमा सिफारिस ‘फोर्टिन पिक्स एक्सपिडिसन’ का प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पर्वतारोही टासी लाक्पा शेर्पाले दलगत राजनीतिमा रुचि नरहेको भन्दै उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । उनी आदिवासी जनजाति पुरुष ‘क्लस्टर’को नवौं नम्बरमा सिफारिस भएका थिए । 

घिसिङ पक्षको असन्तुष्टिमाथि आज छलफल

कुलमान घिसिङ पक्षका नेताहरूले शुक्रबार निर्वाचन आयोग पुगेर साविक उज्यालो नेपाल पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन मिल्छ कि मिल्दैन भनेर सोधखोज गरेका थिए । तत्कालीन उज्यालो नेपाल पार्टीमा अध्यक्ष रहेका अनुपकुमार उपाध्याय नै आयोग पुगेका थिए । उनले समानुपातिक बन्दसूची पेस गर्नका लागि ५० हजार धरौटी बुझाइसकेकाले छुट्टै समानुपातिक सूची बुझाउने मौका दिनुपर्ने बताएका थिए । तर आयोगले भने बन्दसूची बुझाउने समय सकिएकाले नमिल्ने भन्दै फर्काएको थियो । 

छुट्टै समानुपातिक सूची बुझाउन गरिएको प्रयासबारे घिसिङ लगायतका नेतासँग रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका बालेन्द्र शाहले छलफल गरेका थिए । समानुपातिक सूची बुझाउने प्रयास असफल भएपछि घिसिङ पक्षका नेताहरू भने ‘मिडियाले चलाएको हल्ला’ भनेर पन्छिन खोजेका थिए ।

यस विषयमा आइतबारको केन्द्रीय समिति बैठकमा छलफल हुने रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए । ‘अनुप उपाध्यायलगायत छुट्टै समानुपातिक सूची बुझाउने भनेर निर्वाचन आयोग जानुभएको भन्नेबारे पनि सञ्चारमाध्यमबाट थाहा पायौं । पार्टीलाई यस विषयमा औपचारिक जानकारी छैन ।

यसबारे केन्द्रीय समितिमा छलफल हुन्छ,’ उनले भने । समानुपातिक उम्मेदवारले नाम फिर्ताको घोषणा गरेको विषयमा समेत छलफल गर्न रास्वपाले आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully