आयोगले तोकेको समयसीमाभित्र बन्दसूची बुझाए पनि त्यसलाई सच्याउने मौका भएकाले उनीहरू सच्याउन लागेका हुन् ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ ।
आयोगले तोकेको समयसीमाभित्र बन्दसूची बुझाए पनि त्यसलाई सच्याउने मौका भएकाले उनीहरू सच्याउन लागेका हुन् ।
नेकपा नेता शक्ति बस्नेतले १७ घटकबाट सिफारिस भएका व्यक्तिलाई निर्वाचन आयोगको सुझावमार्फत सच्याउने बताए । ‘निर्वाचन आयोगले भनेअनुसार कुनै उम्मेदवारमा केही त्रुटि भए हामी सच्याउँछौं,’ उनले भने, ‘कानुनी रूपमा त्रुटि भेटिए केही नाम फेरिन सक्छन् । नाम सच्याउने अझै समय छ । हामी गृहकार्यमै छौं ।’ उनले विगतमा अवसर पाएका व्यक्तिलाई नदोहोर्याउने नीतिले समानुपातिक उम्मेदवार छान्दा विवाद नभएको दाबी गरे ।
‘आकांक्षी धेरे भएको ठाउँमा केही असन्तुष्टि हुन सक्छ । धेरै व्यक्तिका चाहना हुन सक्छन्,’ उनले भने, ‘नदाहोर्याउने नीतिले आगामी दिनमा पालोमा बसेका साथीहरु पनि ढुक्क भए । हामीले सूची मिलाएरै दिएका छौ ।’ उनले सूचीमा भएका केही नाम फेरबदल हुन सक्ने बताए ।
निर्वाचन आयोगले सूची सुधारका लागि दिएको समयभित्र परिवर्तन गर्ने भन्दै नेताहरु रक्षात्मक बनेका छन् । तर, दर्ता गरिसकिएको समानुपातिक बन्दसूचीमा व्यापक हेरफेर गर्न नसकिने, समावेशिताको सुनिश्चितता गर्न मात्रै दलहरूलाई केही दिन उपलब्ध गराइएको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।
