नेकपाको समानुपातिक सूचीमा परेपछि मंगलसिंह चेपाङ : पार्टीले मूल्यांकन गर्दोरहेछ

समानुपातिकको बन्दसूचीमा नाम पर्दा मंगलसिंहको खुसीको सीमा रहेन ।

पुस १६, २०८२

प्रताप विष्ट

Mangal Singh Chepang: Party is evaluating after being included in NCP's proportional list

What you should know

हेटौंडा — आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा परेको खबर सुन्ने बित्तिकै उनको खुसीको सीमा रहेन । पार्टीले समानुपातिकमा आफ्नो बन्दसूचीमा राख्ला भन्ने उनले सोचेको पनि थिएनन् ।

‘गाइँगुइँ हल्ला सुनेको थिएँ, तर पार्टीले राख्ला जस्तो लागेको थिएन,’ मंगलसिंह चेपाङले भने, ‘पढाइ छाडेर जनयुद्ध लडेको पार्टीले मूल्याङ्कन गरिराखेको रहेछ भन्ने लाग्यो ।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मकवानपुरको मनहरी गाउँपालिका–३ सिद्धकालीका ३९ वर्षीय मंगलसिंहलाई समानुपातिकको बन्दसूचीमा राखेको छ । पढ्नमा तेज भएका मंगलसिंह ६ कक्षा पढ्दापढ्दै तत्कालीन माओवादी पार्टीमा लागेर युद्धमा होमिएका थिए । उनी मात्र होइन, उनका दाजु राजु चेपाङ पनि माओवादीमा नै जोडिएका थिए । दुवै दाजुभाइले मुलुकमा परिवर्तन गर्नुपर्छ भन्दै बन्दुक बोकेका थिए ।

युद्धकै क्रममा घाइते भएका दाजु राजु चेपाङको २०६१ सालमा नवलपरासी सुनवलमा उपचारकै क्रममा मृत्यु भएको उनले बताए । आफू प्लाटुन कमान्डरसम्म भएर परिवर्तनका निम्ति युद्ध लडेको दाबी गर्दै उनले भने, ‘जब शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजन गर्ने क्रममा ५ लाख रुपैयाँ लिएर स्वैच्छिक अवकाश लिएँ ।’ उनी त्यति बेला माओवादी सेनाको अस्थायी शिविर सैनामैनामा बसेका थिए । उमेर कम भएका कारणले पनि उनी अयोग्य लडाकु ठहरिएका थिए ।

२०५८ सालमा नै जनमिलेसिया हुँदै माओवादी युद्धमा सामेल भएका हुन् । स्वैच्छिक अवकाशबाट प्राप्त रकम लिएर उनी २०६८ सालमा काठमाडौं छिरेका थिए । काठमाडौंमा उनले खाजा पसलदेखि दोहोरी साँझसम्म सञ्चालन गरेका थिए । अहिले पछिल्लो समयमा उनले काठमाडौं कोटेश्वरमा मासु पसल खोलेका छन् । ‘चार वर्ष भयो मासु पसल राखेको,’ उनले भने, ‘राम्रै बिक्री हुन्छ ।’

पसलसँगै पार्टीको काममा पनि खटिने गरेको बताए । विभिन्न पार्टी मिलेर नेकपा बनेको छ, यसले जनतामा उत्साह जगाएको उनको जिकिर थियो । उनी काठमाडौं आउनुभन्दा पहिले नै पत्नी काठमाडौं आएर पेट्रोल पम्पमा काम गर्न थालिसकेकी थिइन् । त्यसले गर्दा उनलाई काठमाडौंमा बस्न सहज भएको बताए । उनकी पत्नी अहिले पनि पेट्रोल पम्पमा नै जागिरे छिन् । दुई वटा बच्चाको बाबु बनिसकेका मंगल अहिले मासु पसल, बच्चाहरूको हेरविचार र पार्टीको कामलाई समय मिलाएर खटिरहेको बताउँछन् ।

मंगलसिंह सहिद परिवार मात्र होइन, उनी लडाकु पनि हुन्, त्यसैले पार्टीले उनलाई अतिसीमान्तकृत अर्थात् अल्पसङ्ख्यकको क्लस्टरबाट समानुपातिकको सूचीमा राखेको नेपाली कम्युनिस्ट पार्टी मकवानपुरका संयोजक भीम पाख्रिनले भने । २०४३ साल माघ २ गते जन्मिएका मंगलसिंह १५ वर्ष पुग्दा नपुग्दै माओवादी युद्धमा होमिएका थिए । उनलाई यो बाटो हिँडाउने दाजु राजु नै हुन् । अहिले पनि दाजुलाई सम्झँदै भने, ‘दाजुले हिँडेको बाटो सही थियो, त्यसै भएर पनि हिँडेको हुँ ।’

अतिसीमान्तकृत वर्ग अर्थात् संख्यात्मक हिसाबले पनि कम र राज्यले दिनुपर्ने सुविधा र अवसरहरूमा पछाडि पारिएका नेपालको आदिवासी समुदाय चेपाङबाट मंगलसिंहसहित तीन जना प्रतिनिधिसभा सदस्यको आउँदो निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा परेका छन् ।

दुई वटा पुराना र एक नवगठित पार्टीले चितवनका दुई जना र मकवानपुरका एक जनालाई बन्दसूचीमा राखेको हो । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले एक–एक जना चेपाङलाई बन्दसूचीमा राखेको छ ।

संविधान सभाका सदस्य एवं नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार एमालेले चितवन शक्तिखोरका सन्तबहादुर चेपाङ, गलोपाले कोराकका विश्वास चेपाङ र नेकपाले मकवानपुर मनहरीका मंगलसिंह चेपाङलाई बन्दसूचीमा राखेको छ । २०६४ सालको संविधान सभा सदस्यमा एमालेले मकवानपुरका गोविन्द चेपाङ र तत्कालीन माओवादी गोरखाकी माया चेपाङलाई संविधानसभा सदस्यमा मनोनीत गरेको थियो ।

चेपाङहरू मुख्य रूपमा मकवानपुर, चितवन, धादिङ र गोरखा जिल्लाको पहाडी भेगमा बसोबास गर्दछन् । २०७८ सालको जनगणनाअनुसार मकवानपुरमा २३ हजार ६ सय ५० जना चेपाङ जनसंख्या रहेको छ । देशभर चेपाङको जनसंख्या ८४ हजार ३ सय ६४ छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully