२१ फागुनको निर्वाचन अगाडि संस्थापनपक्षा कुनै पनि महाधिवेशनको पक्षमा नभएपछि महामन्त्रीद्वय थापा र शर्माले नै विशेष महाविधेशन बोलाउन लागेका हुन् ।
What you should know
काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यालयले तोकेको तालिकाअनुसार पुस २६–२८ मा नियमित महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोही मितिमा विशेष महाधिवेशन बोलाउने भएका छन् ।
२१ फागुनको निर्वाचन अगाडि संस्थापनपक्षा कुनै पनि महाधिवेशनको पक्षमा नभएपछि महामन्त्रीद्वय थापा र शर्माले नै विशेष महाविधेशन बोलाउन लागेका हुन् । पार्टी विधानको धारा १७(२) ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ’ भन्ने व्यवस्था गरेको छ ।
विशेष महाधिवेशनको माग राखेर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित असोज २८ गते केन्द्रीय कार्यालय सानेपामा निवदेन दर्ता गरेका छन् । विशेष महाविधेशन पक्षधर नेता सुवास पोखरेलले पुस २६–२८ मा नियमित महाधिवेशन नहुने भएपछि त्यही मितिमा महामन्त्रीहरुले विशेष महाविधेशन आह्वान गर्ने जानकारी दिए ।
‘दुवै महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउनुहुन्छ । यो कुनै विद्रोह होइन । विधानको व्यवस्था कार्यान्वयन गर्ने र गराउन बाध्य पार्ने महामन्त्रीहरुको जिम्मेवारी हो । महामन्त्रीहरु केन्द्रीय कार्यालयका प्रमुखसमेत हुन्’, पोखरेलले भने,‘केन्द्रीय कार्यसमितिले बोलाउन अनिच्छा देखाएपछि बोलाउनुपर्ने कर्तव्य महामन्त्रीहरुको हो ।’
महामन्त्रीहरुले बोलाए पनि त्यो एउटा भेला मात्रै हुने संस्थापनपक्षको भनाइ छ । ‘चुनावको बेलामा सबै कार्यकर्ता मैदानमा गइसकेका छन् । महामन्त्रीहरुले पनि चुनावकै विषयमा छलफल गर्न बोलाउन लाग्नुभएको होला,’ सहमहामन्त्री महेन्द्र यादवले भने,‘विशेष महाधिवेशन हुनेबारे मलाई जानकारीमा भएन ।’
विशेष महाविधेशन मागकर्ताहरुले भने प्रतिनिधिहरुलाई २६–२८ मा राजधानी निम्तो दिइसकेका छन् । पोखरेलले महामन्त्रीहरुले एक/दुई दिनमै औपचारिक आह्वानसमेत गर्ने बताए । त्यसरी बोलाइने विशेष महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
‘विशेष महाधिवेशनको मागलाई नियमित महाधिवेशनले मात्रै निष्क्रिय बनाउन सक्छ, तर नियमित नहुने भएपछि विशेष बोलाउनुपर्ने विधानको बाध्यकारी व्यवस्था हो,’ उनले भने । त्यसअघि नियमित महाधिवेशन गरेर विशेषलाई निष्क्रिय बनाउन मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका सातै तहको कार्यतालिका ल्याएको थियो । जसअनुसार पुस १६ गते गाउँ, नगर, वडा, पुस १७ गते गाउँपालिका, पुस १९ गते प्रदेशसभा क्षेत्रीय, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र जिल्ला भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका थियो । त्यस्तै पुस २२ गते दुई वा सो भन्दा बढी क्षेत्र भएका जिल्ला, पुस २३ र २४ गते प्रदेश र पुस २६–२८ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका थियो ।
तर, अधिवेशनका प्रारम्भिक मतदाता रहेका क्रियाशील सदस्यताको वितरण, नवीकरण र छानबिनको काम नै सकिएको छैन । क्रियाशील सदस्यतामा ढिलाई भएपछि महामन्त्री थापा र शर्माले वडा र क्षेत्रको अधिवेशन गरेर सिधै केन्द्रको अधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए । महामन्त्रीको पछिल्लो प्रस्तावमा जान संस्थापन पक्ष तयार नभएपछि विशेष महाविधेशन बोलाउन बाध्य भएको उनीहरुको तर्क छ ।
महामन्त्री थापाले पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको बाध्यकारी व्यवस्था रहेकाले त्यो कसैको इच्छा वा अनिच्छामा टार्न नमिल्ने बताए । ‘कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ, यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ, अनि एकता केबाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरु व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ’ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शुभकामना सन्देशमा महामन्त्री थापाको भनाइ छ, ‘त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो । पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ ।’
कांग्रेस नेता शेखर कोइराला भने केन्द्रीय कार्यसमिति आफैंले विशेष महाधिवेशन बोलाउनुपर्ने बताउँछन् । केन्द्रीय कार्यसमिति बाहिरबाट बोलाइने भेलाले पार्टी विभाजनको जोखिम बढ्ने भएकाले आफू त्यस दिशामा नरहेको उनले बताए । ‘त्यसको विकल्पमा केन्द्रीय कार्यसमितिले निर्णय गरेर विशेष महाविधेशन बोलाउँदा मात्रै सबैको स्वामित्व हुन्छ, त्यसबाहेक महामन्त्री वा महाधिवेशन प्रतिनिधिहरुले बोलाउने भेलासँग मेरो सहमति हुन्न,’ उनले भने ।
संस्थापन पक्षका एक नेताका अनुसार भेला बोलाउने तयारी भएपछि सभापति देउवा आफूनिकट नेताहरुसँगको परामर्शमा छन् । ‘महामन्त्रीहरुले त्यसरी भेला बोलाएमा पार्टी विभाजन हुनसक्छ भन्ने सभापतिज्यूको भनाइ छ, यसलाई रोक्न निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा छलफल गर्दै हुनुहुन्छ,’ ती सदस्यले भने ।
महाधिवेशन सम्पन्न भएर नेतृत्व र नीति परिवर्तन नभएमा महामन्त्रीद्वय थापा र शर्माले चुनाव नलड्ने घोषणासमेत गरेका छन् । उनीहरुसँगै विशेष महाविधेशनमा हस्ताक्षर गर्ने धेरै नेताहरु चुनाव नलड्ने मनस्थिति बनाइरहेका छन् । शर्माले आफू चुनाव नलड्ने निर्णय केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गराएका थिए । त्यसअघि उनले आफ्नो निर्वाचन क्षेत्र झापा–१ को क्षेत्रीय कार्यसमितिलाई समेत पहिल्यै जानकारी गराएका छन् । थापाले भने पार्टीको नीति र नेतृत्व परिवर्तन भएमा काठमाडौं–४ बाटै चुनाव लड्ने बताएका छन् ।
