१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ७ लाख १० हजार ७ सय ७ जना मतदाता
What you should know
काठमाडौँ — संघीय राजधानी काठमाडौंमा ५८ हजार नयाँ मतदाता थपिएका छन् । मतदाता थपिएपछि त्यहीअनुसार ५० वटा मतदान केन्द्रसमेत बढाइएको छ ।
तीन वर्ष अगाडि २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा यहाँ ६ लाख ५५ हजार ९ सय ९८ मतदाता थिए । अन्य जिल्लाभन्दा काठमाडौंमा सबैभन्दा बढी १० वटा निर्वाचन क्षेत्र छ ।
पछिल्लो पटक संकलन गरिएको मतदाता नामावलीसहित आयोगले प्रकाशित गरेको मतदाता संख्याअनुसार काठमाडौंमा ७ लाख १० हजार ७ सय ७ जना मतदाता कायम भएका छन् ।
२३ र २४ भदौमा भएको जेन-जी आन्दोलन पछाडि १२ असोजदेखि ४ माघसम्म नयाँ मतदाताहरूको नाम संकलन गर्न अभियान चलाइएको थियो । उक्त अवधिमा देशैभर मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर भट्टराईले छोटो अवधिमा राम्रो संख्यामा काठमाडौंमा मतदाता थपिएको बताए ।
मतदाता थपिएपछि मतदान केन्द्र समेत वृद्धि भएको उनले उल्लेख गरे । २०७९ को चुनावमा काठमाडौंमा ७ सय ६७ मतदान केन्द्र रहेकोमा २१ फागुनमा हुने निर्वाचका लागि ८ सय १७ मतदान केन्द्र कायम गरिएको भट्टराईले बताए ।
देशैभर आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम भएका छन् । २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेलाभन्दा यस पटक ९ लाख १५ हजार १ सय १९ जनाले मतदाता नामावली वृद्धि भएको छ ।
उक्त संख्या अघिल्लो पटकले भन्दा ५ प्रतिशतले बढी हो । २०७९ को निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता थिए । देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र कायम गरिएको छ ।
२०७९ को निर्वाचनका बेलाभन्दा यसपटक ७५ वटा मतदान स्थल तथा ८ सय ८५ वटा मतदान केन्द्र वृद्धि गरिएको आयोगले जनाएको छ । त्यतिबेला १० हजार ८ सय ९२ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र कायम थियो ।
