फिल्म निर्देशक मीन भाम भन्छन् : प्रत्यक्ष चुनाव लड्छु

कलालाई 'सौम्य शक्ति'का रुपमा हेर्ने उनले कला र सिनेमाको अनुभवलाई राजनीतिमार्फत नीति निर्माणमा जोड्न चाहेको बताए ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Film director Meen Bham says: I will contest the election directly

What you should know

काठमाडौँ — कांग्रेसको समानुपातिक बन्दसूची सार्वजनिक भइरहेको पृष्ठमूभिमा फिल्म निर्देशक मीन भामले भने आफूले प्रत्यक्ष चुनाव लड्ने बताएका छन् । उनले पार्टीबाट टिकट पाएको खण्डमा काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने बताए ।त्यसो नभएमा मुगु र कर्णालीको प्रतिनिधित्व गर्दै त्यहीँबाट उठ्न पनि तयार भएको सुनाए ।

निर्वाचन अघि नै कांग्रेसको महाधिवेशन भएमा उनी सहमहामन्त्रीमा उठ्ने योजनामासमेत छन् । 'ढिलो चाँडो चुनावअगाडि पार्टीको महाधिवेशन हुनुपर्छ भन्ने कुरामा एकदमै जोडदार आवाज निकाल्दै आएको मान्छे हो म । महाधिवेशन जहिले हुन्छ, म सहमहामन्त्री उठ्ने तयारीमा हो,' उनले भने । 

भाम किन सक्रिय राजनीतिमा लाग्न खोजिरहेका छन् ? 

कलालाई 'सौम्य शक्ति'का रुपमा हेर्ने उनी कला र सिनेमाको अनुभवलाई नीति निर्माणमा जोड्न चाहन्छन् । 'कला, संस्कृति र सिनेमालाई साँच्चिकै मैले न्याय गर्न सक्छु । फिल्म त सफ्ट पावर मात्रै होइन, कल्चरल डिप्लोमेसी हो,' मीनले भने, 'कलाको नीति निर्माण तहमा समन्वयकारी भूमिका म निर्वाह गर्न सक्छु । युरोप अमेरिका एसियाका अरु धेरै देशको फिल्म कमिसनहरु त्यहाँको सरकारहरुसँग सहकार्य गर्न सक्छु ।' 

'शाम्बाला' फिल्मका निर्देशक उनले सरकारमा पुगेपछि कला मात्रै नभई कर्णाली र हिमाली क्षेत्रको मुद्दालाई पनि प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । 'कर्णाली र हिमाली जिल्लाहरुको नीतिगत तहमै विकास समृद्धि त्यहाँको स्वास्थ्य, शिक्षा भौतिक पूर्वधारमा साँच्चिकै मलाई एकदमै काम गर्नुपर्छ भन्ने नै छ,' उनले भने ।

जेन–जी आन्दोलनपछि पुस्तान्तरण र रूपान्तरणका विषय जसरी उठ्यो, पार्टीमा उनले यो विषय उठाउँदै आएका पनि छन् । 'पार्टीभित्रै पनि पुस्तान्तरण भन्ने छ । त्यहीँ पनि म एक किसिमले संवाहक हुन सक्छु । म जुन उमेर समूहको पुस्तालाई रिप्रिजेन्ट गर्छु, त्यो रिफर्मेसन त्यो प्रतिनिधित्व गर्न सक्छु,' उनले दाबी गरे, 'मेरो दक्षता, मेरो अध्ययन, सिप जे छ । त्यसको आधारमा मैले यसलाई प्रतिनिधित्व गर्न सक्छु भन्ने विश्वास हो ।' 

उनी निर्देशित फिल्म 'शाम्बाला' बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवको प्रमुख प्रतिस्पर्धामा पर्ने पहिलो नेपाली फिल्म हो । उनले 'शाम्बाला'सँगै 'कालो पोथी', 'बाँसुल्ली' निर्देशन गरेका फिल्म हुन् ।

कान्तिपुर

Link copied successfully