‘एक नम्बरमा नाम पर्दा खुसी छु,’ विश्वास चेपाङ भन्छन्, ‘भोलि संसद्मा पुग्न पाए भने चेपाङ समुदायको प्रतिनिधित्व गर्ने छु, आफ्नो समुदायमा व्याप्त रहेको परनिर्भता हटाएर आत्मनिर्भर बनाउनेतर्फ लाग्ने छु ।’
What you should know
काठमाडौँ — चितवनको राप्ती नगरपालिका-११ स्थित विकट कोराकगाउँका विश्वास चेपाङ (३३) गतिशील लोकतान्त्रिक पाटी (गलोपा) को समानुपातिकतर्फ सिफारिस भएका छन् । पार्टीले आदिवासी जनजाति, अल्पसंख्यक समुदाय र महिलालाई प्राथमिकतामा राख्दै सिफारिस गरेको सूचीमा उनको नाम एक नम्बरमा छ ।
आफूलाई सोधेरै पार्टीले समानुपातिक सूचीमा नाम राखेको उनले सुनाए । ‘एक नम्बरमा नाम पर्दा खुसी छु,’ उनले कान्तिपुरसँग भने, ‘भोलि संसद्मा पुग्न पाए भने चेपाङ समुदायको प्रतिनिधित्व गर्ने छु, आफ्नो समुदायमा व्याप्त रहेको परनिर्भता हटाएर आत्मनिर्भर बनाउनेतर्फ लाग्ने छु ।’
विश्वासले आफ्नो समुदायबाट युवाका रूपमा आफ्नो प्रतिनिधित्व हुने सुनाए । ‘यसमा मुख्य मुद्दा रोजगारीको कुरा छ,’ उनले भने, ‘पछि पारिएको समुदायलाई अघि ल्याउन पनि पाटीमा लाग्नु पर्छ भन्ने लाग्यो, त्यही भएर पार्टीबाट आएको प्रस्ताव स्वीकार गरे ।’ अहिले पार्टीमा पनि आदिवासीकै क्षेत्रको नेतृत्व गर्न लागिरहेको उनको भनाइ छ । उनी अहिले एक गैरसरकारी संस्थामा कार्यरत छन् । ‘मैले बेलायतको लिंकन विश्वविद्यालयबाट मास्टर्स इन एडभान्स डेभलपमेन्ट इन सोसोलोजीमा मास्टर्स गरेँ,’ उनले भने, ‘काठमाडौं विश्वविद्यालयबाट डेभलभमेन्ट स्डडिजमा एमफिल गर्दै छु ।’
अहिले चितवन, मकवानपुर, धादिङ, गोरखामा चेपाङ समुदायको बाक्लो बसोबास छ । राष्ट्रिय जनगणनाअनुसार चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ । प्राय: पार्टीहरूले छुटाउने समुदायमा चेपाङ समुदाय पनि पर्ने गरेको छ ।
तर विश्वास यो अवस्थामा त्यत्तिकै पुगेका भने होइनन् । उनको जीवन संघर्षको कथा लामो र फरक छ । निकै कष्टपूर्ण जीवनयापन गर्दै उनी सफलताको शिखर उक्लिरहेका छन् । ६ वर्षको हुँदा उनी आमाबाट अलग भए । गाउँकै स्कुलमा कक्षा १ पढे । त्यो बेला पढ्ने भन्ने नै उनलाई थाहा थिएन । किनकि नजिकमा विद्यालयमा थिएनन् । गाउँमा पढेलेखकाहरू भेट्न मुस्किल नै पर्थ्यो ।
त्यसैले उनी पढ्न भन्दा विद्यालयमा खेल्न जान्थे । घर झुप्रो थियो । भोकमारीले बर्सेनि सताउँथ्यो । बुवा बिहान-साँझको छाक जुटाउन ज्याला मजदुरीको काम गर्न जान्थे । घर आउन भ्याउँदैनन् थिए । अरुको सहारामा बाँच्नुपर्ने बाध्यता थियो । पछि भने उनलाई पढ्ने हुटहुटी जाग्दै गयो । उनको पढ्ने कुरा सुनेर पछि बुवाले बोकेर पर्साको अन्तोदय जनजाति आवासीय विद्यालय पुर्याए ।
बुवाले त्यही स्कुलको भान्सामा काम गर्ने सहमतिमा उनले पढ्न पाए । जहाँ उनी ३ कक्षामा भर्ना भए । पढाइमा मेहनत गर्न थाले । एकदिन बुढानीलकण्ठ स्कुल काठमाडौंबाट अवारनेश क्लबका मेम्बर चेपाङ बालबालिका पढेको स्कुल हेर्न आए । उनीहरूको अवस्था देखेपछि एक विद्यार्थीलाई बुढानीलकण्ठमा पढ्ने अवसर दिने निधो गरे । त्यसका लागि ४ जनासँग उनले प्रतिस्पर्धा गरे । परीक्षा भयो र पहिलो नम्बरमा उनकै नाम निस्कियो । उनी भर्ना भए । ४ कक्षामा भर्ना भएका उनी अंग्रेजीमै फेल भए । अरुले भए फेल हुने छुट पाउँदैनन थिए । गाउँबाट आएको भएर एक पटकका लागि उनले अवसर पाए । नभन्दै ०६५ सालमा उनले ७५.५० प्रतिशत अंक ल्याएर एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे ।
एसएलसी पासपछि उनका लागि दुई विकल्प थिए । प्लस टु पढ्ने कि ए लेभल ? ए लेभल रोजे । २ वर्षको कोर्स थियो । नाम निकाले र पढ्न पाए । ए लेभल सकिएपछि ब्याचलर पढ्न ठूलै सकस पर्यो । घरबाट पैसा पठाउन सक्ने अवस्था थिएन । स्कुलमा हुँदा चेपाङ भन्न उनलाई लाज लाग्थ्यो । प्रजा भनेर परिचय दिन्थे । विद्यालयबाट बाहिर निस्किएपछि आफूलाई चेपाङ भनेर चिनाउन थाले । कलेज धाउन थाले । जहाँ जान्थे, भन्थे, म चेपाङ हुँ । पछि बुढानीलकण्ठबाट ए लेभल पास गरे । दर्जन कलेज चहारेँ । रेस्पोन्स गर्ने कमै निस्किए ।
उनले बुढानीलकण्ठकै सिनियर दाइहरूकै माध्यमबाट लिंकन विश्वविद्यालयको वेबसाइटको लिंक भेट्टाए । त्यसमा अनलाइन एप्लिकेसन फर्म भरे । आवश्यक पर्ने सबै डकुमेन्ट अनलाइनबाटै पठाए । यसका लागि कुनै शुल्क लागेन । जवाफमा तपाईंलाई स्कलरसिपमा सेलेक्ट गर्न सकेनौं । 'शुल्क तिरेर पढ्न आउन सक्नु हुन्छ । हामी भर्ना लिन तयार छौं' भन्ने म्यासेज आयो । नाम वैकल्पिक सूचीमा पर्यो । त्यसपछि उनलाई आश भएन ।
महिना दिनपछि कलेजबाट रिप्लाई आयो, ‘बधाई छ । स्कलरसिपमा सेलेक्ट हुनु भयो । पढ्न आउन सक्नु हुने छ ।’ उता मास्टर्स गरेर नेपाल नै फर्किए । ‘चाहेको भए म उतै बस्न सक्थेँ,’ उनले भने, ‘तर मैले मेरा लागि मात्र पढेको थिइनँ, मेरो समुदायका लागि केही गर्नु पर्छ भनेर पनि पढेको थिएँ, त्यसैले जे गर्छु, समुदायको हितका लागि नै गर्ने छु ।’
