नयाँ शक्तिबीच एकताबारे प्रमुख दलका नेता भन्छन्- राजनीतिक प्रभाव हेर्न बाँकी नै छ

उनीहरूले रवि–बालेन्द्र एकतालाई नेपाली राजनीतिमा एउटा घटनाका रूपमा लिनुपर्ने बताउँदै आगामी दिनमा त्यसले पार्ने राजनीतिक प्रभाव हेर्न बाँकी रहेको उल्लेख गरेका छन् ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Major party leaders say political impact remains to be seen regarding unity among new forces

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बीच भएको एकताले नेपाली राजनीतिमा तरंग ल्याइरहेका बेला प्रमुख राजनीतिक दलहरूले विचार मिल्ने दलहरू एक हुनुलाई स्वाभाविक भनी टिप्पणी गरेका छन् ।

उनीहरूले रवि–बालेन्द्र एकतालाई नेपाली राजनीतिमा एउटा घटनाका रूपमा लिनुपर्ने बताउँदै आगामी दिनमा त्यसले पार्ने राजनीतिक प्रभाव हेर्न बाँकी रहेको उल्लेख गरेका छन् । 

कांग्रेस उपसभापति धनराज गुरुङले रास्वपा सभापति लामिछाने र शाहबीचको सहमति राजनीतिमा कुनै अनौठो नभएको बताएका छन् । ‘बालेन्द्र र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । को–को मिल्छन्, को–को जुट्छन्, को–को फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने कुरा हो,’ पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘त्यसकारण यो अनौठो मान्नु पर्दैन । राजनीतिमा सबै चुनौतीहरू हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन ।’

उनले कांग्रेसले पनि विगतमा राणाकालीन चुनौती, पञ्चायती चुनौती फेस गरेको उल्लेख गर्दै हरेक चुनौतीको सामना गर्न तयार रहेको बताए । भने, ‘अहिले आएर को–को मिल्छन्, त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’

एमाले उपमहासचिव योगेश भट्टराईले एजेन्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई राजनीतिमा सामान्य रूपमा लिनुपर्ने बताए । लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अगाडि बढाउन राजनीतिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने उनको भनाइ थियो ।

‘लोकतान्त्रिक परिपाटीमा कुनै पनि व्यक्ति वा समूह एकआपसमा मिल्नु र विषय नमिल्दा अलग–अलग हुनु अनौठो मानिँदैन । त्यही क्रममा आगामी निर्वाचनलाई ध्यान दिँदै केही राजनीतिक व्यक्ति र शक्तिहरू एकआपसमा मिलेको घोषणा गरेका छन्,’ उनले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भने, ‘रवि–बालेन्द्र एकतालाई पनि म अन्यथा रूपमा लिन चाहन्नँ ।’

पार्टी कार्यालय च्यासलमा बोल्दै भट्टराईले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउनु मुख्य कुरा भएकोमा जोड दिए । ‘हाम्रो खण्डित भएको संवैधानिक प्रक्रियालाई कसरी पुनः लयमा ल्याउने र नेपालमा स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई कसरी अगाडि बढाउने ? आजको दिनमा यही सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘राजनीतिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ । एमाले कुनै पनि चुनौतीको सामना गर्न तयार छ ।’ 

एमाले सचिव महेश बस्नेतले भने चुनावका लागि चलाखीपूर्ण मिलन भएको टिप्पणी गर्दै यसले राजनीतिमा तात्विक अन्तर होलाजस्तो नलाग्ने धारणा राखेका छन् । 

नेपाली कम्युनिस्ट पार्टीका नेता शक्ति बस्नेतले विचार मिल्ने दल र तिनका नेताबीच हुने एकता स्वाभाविक भए पनि त्यसले आगामी दिनमा पार्ने प्रभाव मुख्य कुरा भएको बताए । ‘विचार र प्रवृत्ति मिल्नेहरू एक ठाउँमा हुनु स्वाभाविक हो । रवि र बालेन्द्रबीच भएको एकताको राजनीतिक प्रभाव हेर्न बाँकी नै छ,’ उनले थपे, ‘उहाँहरू राजनीतिक रूपमा कसरी अघि बढ्न खोजेको हो भन्ने स्पष्ट गर्न अझै बाँकी नै छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यो एकताबारे अहिल्यै टिप्पणी गर्नु छिटो हुने बताए । ‘कतिपय कुराहरू हेर्न केही समय पर्खिनुपर्ने हुन्छ । किन र केका लागि एकता भएको हो ?’ सम्झौतामा बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा जाने कदमप्रति कटाक्ष गर्दै उनले भने, ‘चुनाव कहिले जित्ने र कहिले प्रधानमन्त्री हुने हो ? अहिले भन्नु हतार छ ।’

त्यसो त लिङ्देनले विचार मिल्नेहरू एक ठाउँमा उभिनु उपयुक्त भएको बताए । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष मनीष सुमनले रवि–बालेन्द्र एकताबारे सर्वसाधारणमा चासो भए पनि त्यसले नेपालको राजनीतिमा पार्ने प्रभावबारे अहिले नै टिप्पणी गर्नु छिटो हुने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully