दुई वैकल्पिक समूहको एकताले आगामी निर्वाचन रोचक मोडमा पुगेको छ। यो एकताले एजेन्डाअनुसार मिलेर अघि बढ्न अन्य समूह र परम्परागत दलहरूलाई पनि सन्देश प्रवाह भएको छ। यसलाई प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै निश्चित गरेर मतदातालाई स्पष्ट विकल्प दिने प्रयासकोरुपमा पनि हेरिएको छ।
What you should know
काठमाडौँ — रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच एकताले आगामी निर्वाचनलाई रोचक मोडमा पुर्याएको छ । प्रधानमन्त्रीको उम्मेदवार पहिल्यै निश्चित भएकाले मतदातालाई स्पष्ट विकल्प पनि प्रस्तुत भएको छ । एजेन्डा मिल्ने अरू दल र समूहलाई पनि यसैगरी एकता वा गठबन्धन गर्ने दबाब बढेको छ ।
शनिबार राति ९ बजेदेखि बिहान ४ बजेसम्म भएको वार्ता ७ बुँदे सहमति गर्दै टुंगोमा पुगेको हो । सहमतिमा रास्वपा सभापति रवि लामिछाने र नेता बालेन्द्रले हस्ताक्षर गरेका छन् ।
रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा दुई नेताबीच भएको सहमतिको चौथो बुँदामा लामिछाने रास्वपाको सभापति र बालेन्द्र प्रधानमन्त्रीको उम्मेदवार हुने उल्लेख छ । एकतापछि पार्टीको नाम, चुनाव चिह्न, झन्डा परिवर्तन हुने छैन । रास्वपा केन्द्रीय समिति र आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारमा बालेन्द्र पक्षको ४० देखि ५० प्रतिशतसम्म उपस्थिति रहने समझदारी छ ।
एकतालगत्तै पार्टी पदाधिकारीमा समेत बालेन्द्र पक्षका नेतालाई स्थान दिने समझदारी छ । बालेन्द्रका तर्फबाट वार्ता टोलीमा रहेका भूपदेव शाहलाई रास्वपामा सहमहामन्त्री बनाउने तयारी रहेको एक नेताले जानकारी दिए । वार्ता टोलीको नेतृत्व गरेका बालेन्द्रका साथी कुमार बेनले भने तत्काल पार्टी समितिमा जाने इच्छा देखाएका छैनन् । रास्वपा विधानमा एक सभापति, तीन उपसभापति (एक महिला), एक–एक कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र दुई सहप्रवक्ता हुने व्यवस्था छ ।
रास्वपामा कवीन्द्र बुर्लाकोटी महामन्त्री बनेपछि सहमहामन्त्री पद खाली छ । त्यसमा बालेन्द्रका स्वकीय सचिवसमेत रहेका शाहलाई ल्याउन लागिएको हो । पदाधिकारी व्यवस्थापन जटिल हुने भएकाले तत्काललाई विधानअनुसार पूर्ति हुन बाँकी रहेका पदमा बालेन्द्र पक्षबाट प्रतिनिधित्व गराउने तयारी गरिएको रास्वपाका एक नेताले बताए । ‘एकता गर्दा पहिल्यैदेखि पार्टीमा रहनुभएका साथीहरूलाई पनि चिढ्याउनुभएन । यताका साथीहरूलाई धेरै असर नपुग्ने गरी उहाँहरूलाई सम्मानजनक उपस्थिति गराउँदै छौं,’ उनले भने ।
नेताहरूका अनुसार बालेन्द्र केन्द्रीय सदस्यसहित दोस्रो वरीयतामा रहनेछन् । सुरुमा भने उनलाई सहसभापतिसहित दोस्रो वरीयताको नेता बनाउने प्रस्ताव गरिएको थियो । ‘बालेनले म केन्द्रीय सदस्य मात्रै बस्ने भन्नुभएको छ, त्यो उहाँको सदाशयता हो,’ वार्तामा सहभागी रास्वपा नेता शिशिर खनालले भने, ‘त्यतिको नेतालाई पार्टीले सम्मानित पद दिनुपर्छ, उहाँ दोस्रो वरीयतामा बस्नुहुन्छ ।’
दुई पक्षको समझदारीअनुसार बालेन्द्र पक्ष समानुपातिक उम्मेदवारको बन्दसूचीका लागि ४४ जना (४० प्रतिशत) को नाम तय गर्न जुटिसकेको छ । ‘त्यसले पनि कसरी प्रतिनिधित्व हुँदै छ भन्ने संकेत दिन्छ,’ बालेन्द्र पक्षका एक नेताले भने, ‘दुवैतर्फबाट तयार भएको सूचीलाई रवि र बालेन्द्र बसेर अन्तिम टुंगो लगाउने भनिएको छ ।’ समानुपातिकतर्फ ‘क्लस्टर’ र क्रम संख्याले अर्थ राख्ने भएकाले सूचीलाई दुई शीर्ष नेताको सहमतिमा टुंगो लगाइने ती नेताको भनाइ छ । समानुपातिक निर्वाचनका लागि एक दलले बढीमा ११० जनाको बन्दसूची बुझाउनुपर्छ ।
बालेन्द्रका स्वकीय सचिव भूपदेव शाहले समाजमा भिजेको र जेन–जी आन्दोलनले अघि सारेको सुशासन र विकासको मुद्दालाई संसद्मा प्रतिनिधित्व गर्न सक्ने व्यक्तिलाई बन्दसूचीमा समेट्ने तयारी रहेको जानकारी दिए ।
केन्द्रीय समिति र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारमा बालेन्द्र पक्षको हिस्सा कति प्रतिशत रहनेबारे सहमतिपत्रमा उल्लेख छैन । ‘प्रतिशतको कुरा सहमतिको बुँदामा लेख्दा राम्रो सन्देश जाँदैन भन्ने भयो,’ रास्वपाका एक नेताले भने । रास्वपा सचिवालय र केन्द्रीय सदस्यमा पनि बालेन्द्र पक्षको सहभागिता हुनेछ । केन्द्रीय सदस्य र सचिवालय सदस्य क–कसलाई बनाउने भन्नेमा छलफल भइरहेको बालेन्द्रका एक सहयोगीले जानकारी दिए ।
रास्वपा विधानले १२९ सदस्यीय केन्द्रीय समितिको परिकल्पना गरेको छ, जसमा हरेक प्रदेशबाट ५ जना अनिवार्य र समावेशी हुने गरी ९९ केन्द्रीय सदस्य रहने भनिएको छ । सभापतिले २२ सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ । सभापतिले आफूसहित निर्वाचित पदाधिकारी, कोषाध्यक्ष, प्रवक्ता र केन्द्रीय समितिबाट सदस्य मनोनयन गरेर २५ जनासम्मको पार्टी सचिवालय गठन गर्ने प्रावधान पनि विधानमा छ ।
रास्वपाका एक नेताका अनुसार जेन–जीको समेत प्रतिनिधित्व हुने गरी नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमलाई पनि समितिमा ल्याउने तयारी छ । ‘त्यसले जेन–जी आन्दोलनलाई समेत दुई नेताबीचको सहमतिले सम्बोधन गरेको सन्देश जान्छ,’ उनले भने । रवि र बालेन्द्रबीच भएको सहमतिमा बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप फराकिलो बनाउन युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित समायोजन गरिने भनिएको छ । जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने पनि सहमतिमा उल्लेख छ ।
रास्वपाबाट वार्ता टोलीको नेतृत्व गरेका पूर्वशिक्षामन्त्री शिशिर खनालले केन्द्रीय समिति बैठकबाट ७ बुँदे सहमति अनुमोदन गरेर अघि बढेपछि सबै विषय स्पष्ट हुने बताए । ‘अहिले समानुपातिक उम्मेदवार चयनको अन्तिम दबाब छ, त्यो काम सकेर सहमति अनुमोदन गर्ने कि त्यसअघि भन्ने मात्र हो,’ उनले भने ।
बालेन्द्रका तर्फबाट वार्तामा सहभागी भूपदेव शाहका अनुसार पदाधिकारी व्यवस्थापनदेखि उम्मेदवारी दिने सन्दर्भमा विभिन्न ‘मोडालिटी’ मा छलफल सुरु भएको छ । ‘रवि र बालेनले पद र संख्या ठूलो होइन, मुख्य कुरा भावनात्मक र वैचारिक मिलन हो भन्नुभएको छ,’ उनले कान्तिपुरसँग भने, ‘सहअस्तित्व र समानताको मोडलबाट कसैलाई अप्ठ्यारो नहुने गरी एकअर्कामा विश्वासको वातावरण बनिसकेकाले अंकको कुरा गौण हो भन्ने उहाँहरूको भनाइ छ । त्यसले हामीलाई वार्ता टुंगोमा पुर्याउने गरी मस्यौदामा काम गर्न सजिलो भयो ।’
नेताहरूका अनुसार सहमतिको खाका तयार गर्नुअघि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग समेत सहमति गर्ने तयारी गरिएको थियो । ‘उहाँलाई कुमार बेनले पटकपटक फोन गर्नुभयो तर उठाउनुभएन,’ रास्वपाका एक नेताले भने, ‘रातभरि बसेपछि थप नकुर्ने बरु फेरि बेग्लै कुरा गर्ने भनेर सहमतितर्फ अघि बढ्यो ।’
कुलमानसँग सम्पर्क हुन नसकेपछि सहमतिको खाका तयार गरिएको थियो । रास्वपा सभापति रविसँग छलफल सकारात्मक दिशामा अघि बढिरहेका बेला बालेन्द्रले शनिबार बिहान ८ बजे र राति ७ बजे कुलमानसँग भेट गरेका थिए । बिहानको भेटमा बालेन्द्रले रास्वपाबाट आएको प्रस्तावबारे जानकारी गराएका थिए । त्यसपछि उनलाई समेत आफूहरूसँग एकीकरणमा आउन प्रस्ताव गरेका थिए । तर कुलमानले त्यसमा असन्तुष्टि जनाए ।
कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले अपराह्न रवि सभापति र बालेन्द्र प्रधानमन्त्रीको उम्मेदवार हुने गरी वैकल्पिक शक्ति एक ठाउँमा हुने प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको थियो । यो निर्णयपछि बेलुकी कुलमानसँग छलफल गर्न बालेन्द्र बालुवाटार पुगेका थिए ।
‘उहाँहरूबीच हिजो (शनिबार) बेलुकी ७ बजेदेखि वान अन वान वार्ता भएको थियो तर के कुरा भयो भन्नेचाहिँ जानकारी भएन,’ रास्वपा र बालेन्द्रसँग संवादमा रहेका उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य अभिषेकराज सिंहले भने । एकीकृत पार्टीमा कुलमानले सम्मानजनक उपस्थिति खोजेको उनीनिकट नेताहरूको भनाइ छ । शनिबार साँझ ७ बजेदेखि बालेन्द्रसँग भएको भेटवार्तामा पनि कुलमानले आफ्नो सम्मानजनक उपस्थिति नहुने गरी एकीकरणमा भाग नलिने बताएका थिए ।
रास्वपा सभापति लामिछाने कारागारमै भएका बेला कुलमानलाई पार्टीमा ल्याउने गरी पटक–पटक छलफल गरिसकेका रास्वपा नेताहरूले यस पटक भने बालेन्द्रसँग मात्र समझदारी गर्न चाहेका थिए । तर बालेन्द्र पक्षले कुलमान र जेन–जीको समूहलाई पनि एकै पटक समेटेर लैजानुपर्ने भन्दै ५० प्रतिशत हिस्साको प्रस्ताव गरेको थियो । ‘कुलमानसँग पहिल्यै कुरा गरिसकेका थियौं । उहाँसँग फेरि बेग्लै कुरा हुन सक्छ,’ रास्वपाका एक नेताले भने ।
रास्वपाले विवेकशील साझा पार्टीसँग एकता गरेपछि बालेन्द्रले १४ मंसिरमा कुलमानसँग भेट गरेका थिए । कुलमाननिकट एक नेताका अनुसार त्यस भेटमा बालेन्द्रले उज्यालो नेपाल पार्टीमा सदस्य बनेर सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसपछि सहमतिमै दुई जनाको तस्बिर सामाजिक सञ्जालमा राख्दै कुलमानले ‘देश बनाउने अभियानमा सँगै छौं’ लेखेका थिए । बालेन्द्र रास्वपासँग छुट्टै समझदारी गर्नतिर लागेपछि भने कुलमान असन्तुष्ट बनेका थिए ।
अन्तिममा कुलमान पक्षबाट तीन जनाको अध्यक्ष मण्डल बनाएर अघि बढ्ने प्रस्ताव राखिएको थियो । बालेन्द्रले भेट्ने भनेपछि पोखरा जाने कार्यक्रमसमेत रद्द गरेर कुलमान शनिबार बेलुकी वार्तामा बसेका थिए । बालेन्द्रबाट सन्तोषजनक सन्देश नपाएपछि उनी बालुवाटारबाट निस्किएका थिए । त्यसपछि बालेन्द्र ९ बजे कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालय पुगेका थिए । रवि र बालेन्द्रबीच त्यहींको छलफलमा सहमति भएर बिहान ४ः१५ मा हस्ताक्षर गरिएको हो ।
रास्वपाबाट बाहिरिए पनि वैकल्पिक शक्ति एक ठाउँमा हुनुपर्छ भनी गृहकार्य गरिरहेकी सुमना श्रेष्ठले बालेन्द्र र रास्वपाको एकता प्रक्रियामा कुलमान घिसिङलाई समेत समेट्नुपर्ने उल्लेख गर्दै त्यो जिम्मेवारी बालेन्द्र र रास्वपाकै भएको बताएकी छन् । ‘यो एकताबाट अत्यन्तै खुसी भएकी छु, अब यो शक्ति जनतामा रहेको वितृष्णालाई सम्बोधन गर्दै देशलाई निकास दिन खाका बनाउने गरी अगाडि बढ्नुपर्छ ।’
आइतबार बिहान पोखरा पुगेका कुलमानले ‘एकता वा सहकार्यका क्रममा सम्मानजनक र आत्मसम्मान कायम हुनुपर्ने’ बताएका छन् । उनले भने, ‘उज्यालो नेपाल पार्टी सधैं सम्मानजनक र आत्मसम्मानयुक्त उपस्थिति राख्दै, आफ्नो सम्मानलाई नमेटाईकन सबैसँग सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अघि बढ्ने हो । यसतर्फ धेरै कुरा भइरहेका छन् ।’
रवि र बालेन्द्रले कुलमान घिसिङसँग आइतबार साँझ फेरि संवाद गरेका छन् । महानगरपालिकाको कार्यालयमा चलेको संवाद निष्कर्षमा भने पुग्न नसकेको नेताहरूले जनाएका छन् । ‘मिलनविन्दु तत्काल ननिस्किएपछि नेताहरू उठेका छन्,’ रास्वपाका एक नेताले भने, ‘संवादलाई निरन्तरता दिने कुरा भएको छ ।’
रवि र बालेन्द्रबीच सहमति हुँदा रास्वपाबाट उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले, वार्ताका लागि जिम्मेवारी तोकिएका पूर्वशिक्षामन्त्रीसमेत रहेका नेता खनाल, पूर्वसांसद असिम उपस्थित थिए । बालेन्द्रबाट उनका साथी कुमार बेन, स्वकीय सचिव भूपदेव शाह उपस्थित थिए । सुदीप ढकाल, केपी खनाल, कलाकार निश्चल बस्नेतलगायतको उपस्थिति थियो ।
रवि र बालेन्द्रबीच भएको सहमतिले जेन–जी आन्दोलनका बेला उठेका माग सम्बोधन हुने र त्यो नतिजामा देखिने आस जागेको जेन–जी प्रतिनिधि केपी खनालले बताए । उनले कान्तिपुरसँग भने, ‘बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार र रवि लामिछानेलाई सभापति बनाएर जाँदै गर्दा पार्टी मात्र होइन, देशको प्रणाली नै जगाउने ऊर्जा ल्याउँछ भन्ने लागेको छ ।’
रवि र बालेन्द्रबीच भएको सहमतिमा जेन–जी आन्दोलनको विषयसमेत समेटिएको छ । नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै घाइते र सहिद परिवारको मागको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता सहमतिमा गरिएको छ । आगामी १० वर्षभित्र नेपाललाई आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिको जगमा सम्मानजनक मध्य आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयन गर्ने पनि सहमतिमा उल्लेख छ ।
युवा पुस्ताका विश्लेषक नवीन तिवारी रवि र बालेन्द्र दुवै एकदमै महत्त्वाकांक्षी नेता भएका कारण यो सहकार्य चुनौतीपूर्ण रहेको बताउँछन् । ‘यो रणनीतिक सहकार्य हो, दुवैको आआफ्नो विशेषता र शैली भएकाले पनि सहकार्य सहज नहुन सक्छ,’ उनी भन्छन्, ‘दुवैमा आममानिसमा भएको निराशालाई सम्बोधन गर्ने विकल्प यो हो भन्ने बुझाइ छ तर विगतमा कतिपय लिखित सम्झौतासमेत कार्यान्वयन भएको पृष्ठभूमिमा लिखितभन्दा बाहिर भएका केही समझदारी कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्नेले भोलि विवाद निम्त्याउन सक्छ । यो सहकार्य लामो समय गए सबैका लागि हितकर हुन्छ ।’
रास्वपाबाट राष्ट्रिय राजनीतिमा होमिने निर्णय लिएसँगै बालेन्द्रले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिने तयारी गरेका छन् । बालेन्द्रका स्वकीय सचिव भूपदेव शाह भने त्यो विषय प्राविधिक मात्र भएको बताउँछन् । ‘महानगरमा केही काम र प्राविधिक विषय छन्, ती विषय टुंगो लाग्न केही साता लाग्ला,’ उनी भन्छन् ।
बालेन्द्रका एक सहयोगीका अनुसार संसदीय चुनावमा होमिने विषयमा विगतमा उनले तीन वटा विकल्पबारे चर्चा गरेका थिए । एउटा विकल्प काठमाडौंको कुनै पनि निर्वाचन क्षेत्र हो, उनको घर सिनामंगलमा रहेकाले काठमाडौं २ बाट उठ्न सक्छन् । दोस्रो विकल्प पुर्ख्यौली घर भएको महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ हो । त्यहाँबाट ‘मधेशको प्रतिनिधिलाई प्रधानमन्त्री बनाऔं’ भनेर अभियान चलाउन सकिनेबारे छलफल भएको छ ।
बालेन्द्रले पछिल्लो पटक भने एमाले अध्यक्ष केपी शर्मा ओली उठ्दै आएको झापा क्षेत्र नं. ५ मा निर्वाचन लड्ने विकल्पबारे चर्चा गरेको उनका साथीहरू बताउँछन् । ‘तर प्रधानमन्त्रीको उम्मेदवार बन्ने गरी अघि बढ्दै गर्दा उहाँले त्यो जोखिम लिनुहुन्छ जस्तो लाग्दैन,’ बालेन्द्रका एक साथीले भने, ‘त्यस्तोमा महोत्तरी र काठमाडौं नै उत्तम विकल्प हो ।’
००००
‘देशलाई नेतृत्व गर्ने बलियो शक्ति बनाउँदै छौं’
भूपदेव शाह, बालेन्द्रतर्फका वार्ता टोली सदस्य
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भएको सहमतिबाट कत्तिको उत्साहित हुनुहुन्छ ?
लामो समयदेखि यो देश बनाउने संस्थाहरूलाई भुंग्रोमा हालिएको थियो । त्यसबाट देशलाई निकाल्न यो एकता आवश्यक थियो । त्यसैले एकदमै उत्साहित छौं । अब देशलाई नेतृत्व गर्ने एउटा बलियो शक्ति बनाउँदै छौं । यो जनताको आशा, अपेक्षा र देशको आवश्यकता सम्बोधन गर्ने प्रयत्न हो ।
तर, यो सहमतिअघि निकै रस्साकसी देखियो नि, के कारणले एकमत हुन लामो समय लाग्यो ?
केही मूलभूत विषयमा सहमति नभएकाले ढिलो भएको हो । तर मूल उद्देश्यमा केन्द्रित भइरहँदा वार्ताको टुंगोमा आइपुग्यौं । त्यो भनेको जेन–जी आन्दोलन हो, जसका कारण देशले नयाँ मोड लियो । सुशासन तथा विकासको जुन मुद्दा थियो, त्यसका लागि नयाँ, स्वतन्त्र र वैकल्पिक दलहरू एक ठाउँमा आएर जेन–जी ‘मुभमेन्ट’ले सारेका एजेन्डा सम्बोधन गर्नुपर्छ भन्ने भयो । त्यसअनुसार अघि बढ्न पाएकोमा खुसी छौं ।
रविलाई सभापति र बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भनिएको छ, अरू बाँडफाँटको कुरा आएन नि ?
पदाधिकारी व्यवस्थापनदेखि उम्मेदवारी दिने सन्दर्भमा कसरी व्यवस्थापन गर्ने भन्ने छ । यसमा दुई/तीनवटा ‘मोडालिटी’बाट ‘वर्कआउट’ गर्न खोजेका थियौं । तर वरीयता, पदाधिकारी, संख्यामा प्रवेश गरिसकेपछि रवि र बालेन्द्र दुवैले पद र संख्या ठूलो होइन भन्नुभयो । उहाँहरूले भावनात्मक मिलन र वैचारिक मिलन मुख्य भएको बताउनुभयो । त्यो भइसकेको छ । अब आपसी समझदारीमा सहअस्तित्व र समानताको मोडलबाट कसैलाई पनि अप्ठ्यारो नहुने गरी अघि बढ्ने कुरा भयो । एकअर्काबीच विश्वासको वातावरण तयार भइसकेपछि अंक भनेको एकदम गौण रहेछ । उहाँहरूले हामी वार्ता समितिलाई त्यो महसुस गराइदिनुभयो र वार्ता टुंगोमा पुर्याउन मस्यौदाहरूमा काम गर्न सजिलो भयो ।
यो वार्तामा कुलमान घिसिङ किन छुट्नुभयो ?
निरन्तरको प्रयासपछि शनिबार मात्र बालेन्द्र र कुलमानबीच दोस्रो भेट भयो । सभापति रविलाई एक पटक भेट्नुभयो । त्यस पछाडि केही विषयमा सहमति हुन सकेको थिएन । हाम्रो प्रमुख सल्लाहकार कुमार बेनले राति संयोजन गर्दै तीनै जनालाई एक ठाउँमा ल्याउने प्रयत्न गर्नुभयो । त्यसका लागि रवि, बालेन्द्र आइपुग्नुभयो तर कुलमान आउनुभएन । पछि सम्पर्क हुन सकेन । त्यसपछि समयको माग र देशको आवश्यकतालाई प्रधान रूपमा हेर्दै हामीले पहिलो चरणमा समझदारी गर्यौं । वार्ताका अरू ढोका अझै खुलै छन् । उहाँहरूसँग सहकार्य गर्ने हिसाबले पनि सोचिरहेका छौं ।
समानुपातिकतर्फको बाँडफाँट कसरी हुन्छ ?
त्यसका लागि पहिला त दक्ष हुनुपर्यो, अर्को योग्य हुनुपर्यो । ‘क्लस्टर’ अनुसार गर्दा समाजमा भिजेको, जेन–जी आन्दोलनले अघि सारेका मुद्दा, सुशासन र विकासलाई प्रतिनिधित्व गर्न सक्ने व्यक्ति छनोट गर्ने कुरा भयो । दुवै पक्षले यही सोचेको छ र आपसी समझदारी छनोट गर्ने कुरा भएको छ ।
