चुनाव नलड्ने विश्वप्रकाशको घोषणापछि झापा-१ मा कांग्रेसको नयाँ अनुहार को ?

शर्माको निर्णयले झापा–१ मा कांग्रेसभित्र नयाँ नेतृत्वको खोजीलाई तीव्र बनाएको छ । यो निर्णय उम्मेदवारी परिवर्तन मात्र होइन, पार्टीभित्र ‘क्षेत्र कब्जा’ र ‘सधैं आफैं उम्मेदवार’ हुने संस्कृतिलाई चुनौती दिने राजनीतिक सन्देश पनि हुने विश्लेषकहरू बताउँछन् ।

पुस १३, २०८२

पर्वत पोर्तेल

Who is the new face of the Congress in Jhapa-1 after Bishwa Prakash's announcement that he will not contest the election?

What you should know

विराटनगर — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने औपचारिक घोषणा गरेसँगै झापा-१ को राजनीतिक समीकरण फेरिने सम्भावना देखिएको छ । पछिल्ला तीन निर्वाचनमा निरन्तर यही क्षेत्रबाट प्रतिस्पर्धा गरेका शर्मा २०७९ को निर्वाचनमा विजयी भएका थिए ।

२०७० को संविधानसभामा एमाले नेता रवट्ठन कोइराला र २०७४ मा तत्कालीन नेकपाका उम्मेदवार राम कार्की (पार्थ क्षेत्री) सँग पराजित उनले तेस्रोपल्ट बाजी मारेका थिए । उनले एमालेका अग्नि खरेललाई दोब्बरभन्दा बढी मतले जितेका थिए । जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गर्न लागेको फागुन २१ को चुनावबाट भने उनी ‘नयाँलाई अवसर’ दिनुपर्ने तर्कसहित पछि हटेका छन् ।

झापामा हालै आयोजित एक सभामा शर्माले २०७० र २०७४ मा पराजय भोगेको र २०७९ मा सबैको साथले विजयी भएको स्मरण गरे । आफू लगातार तीनपटक उम्मेदवार भइसकेको उल्लेख गर्दै उनले भने, ‘अब चौथो पटक पनि म नै उम्मेदवार बन्नुपर्छ भन्ने छैन । को लड्न चाहनुहुन्छ, साथीहरू मुद्दा मामिला, विकास निर्माण, दुःख–सुखमा नागरिकबीच पुग्नुस् भनेर मैले पहिले नै आग्रह गरेको हुँ । अहिले पनि एकल सिफारिस गरिदिनु भएकोमा धन्यवाद छ ।’ उनले थपे, ‘एउटै मान्छे सधैं सांसद लडिरहनुपर्छ भन्ने हुँदैन, पालो दिनुपर्छ । त्यसैले झापा–१ मा इच्छुक साथीहरू अगाडि आउनुस्, म तपाईंहरूलाई सघाउनेछु ।’

उनको यो निर्णयसँगै झापा–१ मा शर्माको विकल्प को ? भन्ने चर्चा व्यापक भइरहेको छ, धुलाबारीको चिया पसलदेखि पार्टीको मुख्यालयसम्म । पार्टीले हालै झापा-१ बाट शर्माको नाम एकल रूपमा सिफारिस गरेको थियो । तर, शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका थिए । यसअघि पनि पुस ९ गते झापा–१ का कार्यकर्तासँग गृहनगर धुलाबारीमा उनले इच्छुक नेताहरूलाई दाबी गर्न खुला आह्वान नै गरेका थिए ।

उनले करिब एक वर्षअघि अर्थात् २०८१ पुस २१ गते धुलाबारीमा दिएको अभिव्यक्तिमा समेत ‘म २०८४ मा उम्मेदवार नबन्न सक्छु’ भन्दै संकेत गरिसकेका थिए । तर, त्यसबेला यो भनाइ रणनीतिक ‘माइन्ड गेम’ कि वास्तविक निर्णय भन्ने विषयमै बहस थियो । अब भने शर्माको निर्णयले त्यो अन्योल हटाइदिएको छ ।

कांग्रेसभित्रै सीमित प्रतिस्पर्धा

झापा-१ मा कांग्रेसका बाहिरबाट कुनै ‘आयातित’ उम्मेदवार आउने सम्भावना न्यून देखिन्छ । पार्टीभित्रै स्थापित र सक्रिय नेताहरूको व्यवस्थापन नै चुनौतीपूर्ण हुने भएकाले केन्द्रले बाहिरबाट उम्मेदवार ल्याउने अवस्था छैन । त्यसैले ध्यान पार्टीभित्रैका सम्भावित अनुहारतर्फ केन्द्रित भएको छ ।

हालसम्म चर्चामा आएका नामहरूमा चार नेता अगाडि देखिन्छन् । पहिलो नम्बरमा छन्, विमल आचार्य । आचार्य कांग्रेस महासमिति सदस्य तथा मेचीनगर नगरपालिकाका पूर्व नगरप्रमुख हुन् । स्थानीय तहमा कार्यकारी अनुभव बोकेका नेता भएकाले संगठनात्मक र स्थानीय जनसम्पर्क दुवै हिसाबले बलियो मानिएकाले उनी उम्मेदवारको दौडमा अग्रपंक्तिमा देखिएको मेचीनगरका एक काँग्रेस नेताले जनाए ।

दोस्रो, लोकराज ढकालको नाम पनि चर्चामा छ । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष ढकाल मानवीय सेवा र विपद् व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएका नेता हुन् । पूर्व पत्रकारसमेत रहेका उनको सामाजिक छवि र गैरराजनीतिक मतदातासँगको पहुँच बलियो मानिन्छ ।

त्यस्तै केशवराज पाण्डे पनि चर्चामा छन् । कांग्रेस झापाका उपसभापति पाण्डे विद्यार्थी राजनीतिदेखि नै सक्रिय छन् । संगठन निर्माणमा दक्ष र नेता कृष्णप्रसाद सिटौलानिकट मानिने पाण्डे पार्टीभित्र बलियो संगठनात्मक आधार भएका नेताका रूपमा चिनिन्छन् ।

त्यस्तै उम्मेदवारको आकांक्षीमध्येको अर्को नाम हो इन्द्रबहादुर बुढाथोकी । झापा–१ का क्षेत्रीय सभापति बुढाथोकी विद्यार्थी कालदेखि काँग्रेस राजनीतिमा सक्रिय छन् । उनी महामन्त्री शर्माका विश्वासपात्रका रूपमा चिनिन्छन् । यही कारण पछिल्ला घटनाक्रमपछि उनको सम्भावना थप बलियो बनेको विश्लेषण गरिन्छ । शर्माले पनि बुढाथोकीलाई उम्मेदवार बनाउन चाहिरहेको चर्चा कांग्रेस वृत्तमा छ ।

‘एकल सिफारिस’ ले दिएको संकेत

यस सन्दर्भमा एउटा महत्त्वपूर्ण प्रश्न उठेको छ, एक वर्षदेखि नै अन्य नेताहरूलाई तयारी गर्न प्रोत्साहन गरेका शर्माकै क्षेत्रीय समितिले किन केन्द्रमा उम्मेदवार सिफारिस गर्दा शर्माको एकल नाम मात्रै पठायो ? अन्य आकांक्षीको नाम किन समावेश गरेन ?

राजनीतिक विश्लेषकहरूका अनुसार यसले दुईवटा अर्थ दिन सक्छ । पहिलो, शर्माप्रतिको सम्मान र दबाब । दोस्रो, रणनीतिक खुलापन । एकल नाम सिफारिस भएकै कारण अब शर्मा उम्मेदवार नबन्दा पार्टी केन्द्रलाई जो–कोहीलाई पनि टिकट दिने ‘स्पेस’ खुलेको छ । बहु नाम सिफारिस भएको भए सूचीबाहिरका व्यक्तिलाई टिकट दिन कठिन हुने थियो । यही अवस्थाले शर्माका विश्वासपात्र बुढाथोकी नै समेत केन्द्रको रोजाइमा पर्न सक्ने सम्भावना बढाएको आकलन गरिएको छ ।

शर्माको निर्णयले झापा–१ मा कांग्रेसभित्र नयाँ नेतृत्वको खोजीलाई तीव्र बनाएको छ । यो निर्णय उम्मेदवारी परिवर्तन मात्र होइन, पार्टीभित्र ‘क्षेत्र कब्जा’ र ‘सधैं आफैं उम्मेदवार’ हुने संस्कृतिलाई चुनौती दिने राजनीतिक सन्देश पनि हुने विश्लेषकहरू बताउँछन् । 

अब कांग्रेसले झापा–१ मा अनुभव, संगठन, सामाजिक छवि र आन्तरिक सन्तुलनमध्ये कुन पक्षलाई प्राथमिकता दिन्छ भन्नेमा आगामी उम्मेदवार निर्भर हुनेछ । एउटा कुरा भने स्पष्ट छ, झापा–१ मा यसपटक कांग्रेस चुनावी मैदानमा नयाँ अनुहारसहित जानेचाहिँ निश्चित जस्तै देखिन्छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully