रवि-बालेन सहमतिबारे के भन्छन् राजनीतिक विश्लेषक ?

पार्टीबिना राजनीति सम्भव छैन : इन्द्र अधिकारी, पार्टीबाहिरका बहुसंख्यकले पपुलिस्टहरूलाई रोज्छन् : चन्द्रदेव भट्ट

पुस १३, २०८२

न्युज एजेन्सी नेपाल

What do political analysts say about the Ravi-Balen agreement?

What you should know

काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच हालै भएको सात बुँदे समझदारीमा मुलुकलाई दीर्घकालीन निकास दिने ठोस एजेन्डा नभएको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै विश्लेषकहरू  इन्द्र अधिकारी, केशव दाहाल, चन्द्रदेव भट्ट र लेखनाथ पाण्डेलगायतले यो सहमति मुख्यतः पपुलिजममा आधारित रहेको र यसले देशलाई वास्तविक निकास दिन नसक्ने तर्क गरेका हुन् । 

विज्ञहरूले रवि र बालेनको यो सहमति देखाउनका लागि मात्र भएको दाबी गरेका छन् । यो जनताको रिस र निराशालाई प्रयोग गरेर छोटो समय लोकप्रिय बन्ने पुरानो शैलीको राजनीति हो । 

पार्टीबिना राजनीति सम्भव छैन : इन्द्र अधिकारी

विश्लेषक अधिकारीले नेपाली राजनीतिको विगत प्रायः पपुलिस्ट धारमा आधारित रहेकाले देश समस्यामा फसेको जिकिर गरिन् । उनले नेपालमा राजनीतिक पार्टीको विकल्प नरहेको कुरा बालेन्द्र शाहको रास्वपामा सहभागिताबाटै पुष्टि भएको बताइन् । नेपालमा पार्टीबिना राजनीतिको परिकल्पना सम्भव नरहेको उनको निष्कर्ष छ ।

सातबुँदे सहमतिमा समेत स्पष्ट मार्गचित्र नभएको, वैचारिक छलफल नभएको र सामाजिक न्यायको स्वामित्व लिने टिमको अनुहारबाटै थाहा हुने उनीहरूको तर्क छ । नेपालको राजनीतिमा सुशासन, न्याय र वैचारिक स्पष्टताको आवश्यकता रहेको उनको भनाइ छ । बालेन र रास्वपाको सहकार्यले युवा पुस्तालाई आकर्षित गरे पनि यसले दीर्घकालीन राजनीतिक स्थिरता दिनसक्छ कि सक्दैन भन्ने प्रश्न भने उठेको उनले बताइन् । पपुलिजमले डेमोक्रेसी झनै कमजोर पार्ने अधिकारीले बताइन् ।

‘अहिले पनि ‘पोलिटिकल पार्टी बियोन्ड’ सोचेको देखिँदैन । बालेन आफैं पार्टीबिना राजनीति सम्भव नरहेको प्रमाणित गर्दै रास्वपामा जोडिनुभएको छ । सात बुँदे सहमतिले पनि यो देखाउँछ । नेपाली राजनीति महेन्द्र पथदेखि पृथ्वीनारायण पथसम्म पपुलिज्ममा आधारित छ । चुट्कीको भरमा समस्या समाधान गर्ने दाबी गरेर आएका नेताहरूको यो सहमतिमा स्पष्ट पथ छैन । वैचारिक छलफल भएको छैन । सुशासन र न्यायको कुरा गर्दा टिमका अनुहार हेर्दा नै सामाजिक न्यायको स्वामित्व कति लिन्छन् भन्ने थाहा हुन्छ । पपुलिजम कोभिड, नाकाबन्दी, चुच्चे नक्शा वा राष्ट्र निर्माणको नाममा बारम्बार देखिएको छ । यसले लोकतन्त्रलाई कमजोर बनाउँछ,’ उनले भनिन् । 

निराशाको फाइदा उठाउँदै पपुलिस्टहरू उदाउँछन् : केशव दाहाल

विश्लेषक दाहालले मुलुकमा एजेण्डामा बहस नहुँदा पपुलिस्टहरू राजनीतिमा हाबी भएको तर्क गरे । राज्य र पार्टीहरूले जनताको निराशालाई सम्बोधन गर्न नसक्दा पपुलिस्ट राजनीतिलाई अनुकूल वातावरण बनेको उनको भनाइ छ । जनताको निराशामा टेकेर आएका पपुलिस्टहरूले मुलुकलाई झन् संकटमा धकेल्ने उनको भनाइ छ ।

२०६२/६३ को जनआन्दोलनले देखाएका सपनाहरू विस्तारै ओइलाउँदै गएको यथार्थलाई स्वीकार गर्दै उनले लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरूले जनअपेक्षा ठीक ढंगले सम्बोधन हुन नसकेको बताए । यसले जनतामा निराशा बढाएको र पपुलिस्ट नेताहरूको उदयलाई सहज बनाएको उनले बताए । मान्छेको दुःखको फाइदा उठाएर पपुलिस्टहरू आउने र यसले समाजलाई झनै संकटमा धकेल्ने उनको बुझाइ छ । जनता सहारा खोज्दै उनीहरूको पछि लाग्ने  तर यो दीर्घकालीन समाधान नहुने पनि उनको भनाइ छ । 

उनले भने,‘आज हामी भावनामा धेरै र एजेन्डामा कम बहस गरिराखेका छौँ । त्यसैले गर्दा पपुलिस्ट पोलिटिक्सचाहिँ सघन भएर गयो भन्ने लाग्छ । जब संस्थापनले मान्छेका अपेक्षाहरू पूरा गर्न सक्दैन । जब मान्छेमा निराशा आउँछ । जब मान्छेमा खटपटी आउँछ । जब मान्छे असाध्यै दु:खी भएर बस्छ । त्यो मान्छे भनेको समाज पनि हो । त्यसपछि एउटा मान्छे चाहिन्छ । तेरो दु:ख हरण गर्ने म छु भन्ने मान्छे चाहिन्छ । अनि मात्रै उसले टाउको उठाएर हेर्छ कोही न कोही मेरो मान्छे रहेछ । आँसु पुछ्ने मान्छे रहेछ भनेर भन्छ । तर त्यो आँसु कसरी पुस्छन् भनेर कुरा उसले त्यो पीडामा थाहा पाउँदैन । त्यो आँस पुछ्ने मान्छे त्यो हो कि होइन ? उसले थाहा पाउँदैन । डेमोक्रेसीले हाम्रा राजनीतिक दलहरूले जनताको अपेक्षा ठीक ढंगले पूरा गर्न सकेनन् । २०६२/०६३ मा देखाइएको सपनाहरू विस्तारै विस्तारै मर्दै गए, ओइलाउँदै गए । यो सत्य हो नि । मान्छेको दुःखको निराशा हटाउने भनेर पपुलिस्टहरू आउँछन् । यसले समाजलाई झनै संकटमा धकेल्नेछ । र सहारा ठानेर उनीहरूको पछि लाग्छन् ।’

पार्टीबाहिरका बहुसंख्यकले पपुलिस्टहरूलाई रोज्छन् : चन्द्रदेव भट्ट

विश्लेषक भट्टले नेपालमा राजनीतिक पार्टीमा आबद्ध नभएकाहरूको संख्या बढी भएकाले पपुलिस्टहरूलाई अवसर मिलेको बताउनु भयो । १ करोड ४० लाख मानिसहरू पार्टीमा आबद्ध छैनन् । कार्यकर्ता ३०–४० लाख मात्रै छन् । नेपालको राजनीतिक परिदृश्यमा पपुलिस्ट नेताहरु जस्तै रवि लामिछाने र बालेन्द्र साहको उदयको पछाडि ठूलो संख्यामा पार्टीसँग असम्बद्ध जनताको असन्तुष्टि रहेको राजनीतिक विश्लेषक भट्टको दाबी छ । भट्टका अनुसार यस्ता नेताहरूको लोकप्रियताको पछाडि पार्टीहरुको दीर्घकालीन दृष्टिकोणको अभाव र सर्टटर्म पपुलिजमको प्रभाव छ  ।

 ‘नेपालका किन पपुलिस्टहरू रवि, बालेनहरू आए भन्दा १ करोड ४० लाख मानिसहरु पार्टीमा एफिलिएटेड छैनन् नेपालमा । पार्टीमा मेम्बरसिप लिएको कार्यकर्ता ३० देखि ४० लाख होला । धेरै मान्छे बाहिर छन् । उनीहरुले परिवर्तन खोज्छन् । पपुलिष्टहरुलाई रोज्न पुग्छन् । अर्को कुनै पनि सिस्टम लामो समयसम्म जाँदैन । कार्यक्रम लिएर आउने पार्टीहरूले लङटर्म कुरा गर्दैन । यसले सर्टटम कुरा गर्ने हो ।’

संस्थाहरूको कमजोरीले पपुलिज्म फस्टाउँछ : लेखनाथ पाण्डे

नेपालमा राज्यका संस्थाहरू र मिडिया क्षेत्र दिन प्रतिदिन कमजोर बन्दै गएका छन् । विश्लेषक पाण्डेले राज्य, मिडिया र अन्य संस्थाहरू कमजोर हुँदा नेपाली राजनीतिमा पपुलिजम हाबी भएको बताए । संस्थाहरू कमजोर हुनु लोकतन्त्रका लागि घातक भएको पनि उनले बताए । मिडियाका संस्थाहरू संख्या धेरै भए पनि आर्थिक रूपमा अत्यन्त कमजोर हुनुले लोकतन्त्रका लागि गम्भीर खतरा निम्त्याएको उनको भनाइ छ

।  ‘हाम्रोमा संस्थाहरू कमजोर भए । राज्यको, मिडिया संस्थाहरू धेरै भए तर कमजोर भए । तर फिनान्सियल्ली विक भए । यसो हुनु डेमोक्रेसीको लागि सबैभन्दा ठूलो चार्ज हुन्छ । मिडियामा फिनान्सियली विक हुँदा पुपुलिज्म फस्टाएको छ । यसले गर्दा समस्या देखिएको छ,’ उनले भने । 

न्युज

Link copied successfully