बालेनजीजस्तो चर्चित व्यक्ति रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वपाका लागि सौभाग्यको कुरो हो : नेता सुमन
What you should know
काठमाडौँ — जसपा नेपालका नेता मनिष सुमनले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको सम्झौता स्वभाविक भए पनि संघीयता र धर्मनिरपेक्षता जस्ता आधारभूत विषयहरू नसमेटिएको भन्दै आशंका व्यक्त गरेका छन् ।
आइतबार जनकपुरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सुमनले जेन–जी आन्दोलनका माग र यथास्थितिबाट देश परिवर्तन गर्नुपर्ने आम जनताको चाहनाअनुसार दुई शक्तिबीचको सम्झौता स्वभाविक भएको पनि बताए ।
रास्वपा सभापति रवि लामिछाने र महानगर प्रमुख शाहले सम्झौतामा संघीयता र धर्म निरपेक्षताको विषय लेख्न लजाएको आरोप पनि सुमनको छ ।
बालेनजस्तो चर्चित व्यक्तित्व रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वपाका लागि सौभाग्यको विषय भए पनि रास्वपाको नीतिगत ठीक नभएको उनको तर्क छ । निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कार्य हास्यास्पद भएको उनको टिप्पणी छ ।
यस्तो छ सुमनको टिप्पणी
यो स्वभाविक जस्तै लाग्यो । जेन-जी आन्दोलनका मागअनुसार यथास्थितिबाट देश फेरिनुपर्छ भन्ने आम जनताको मागअनुसार नै उहाँहरूबीच भएको सम्झौता स्वभाविक नै लाग्यो । तर सम्झौता गर्दा उहाँहरूले संघीयतालाई बिर्सनुभयो । धर्मनिरपेक्षतालाई पनि बिर्सनुभयो । सम्झौतामा ती कुराहरु लेख्न लजाउनुभयो कि भन्ने जस्तो लाग्यो । यो दीगो रहोस् । नेपालमा यस्ता सम्झौताहरु धेरै हुन्छन् तर दिगो रहन्नन् ।
बालेनजीजस्तो चर्चित व्यक्ति रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वपाका लागि सौभाग्यको कुरो हो । तर रास्वपा धर्मनिरपेक्षता र प्रदेशसभा निर्वाचनमा समेत सहभागी हुने गरेको छैन अर्थात संघीयताको विरुद्धमा जाने गरेको छ । यसले हामी सबै संशकित भएका छौँ । निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार फलानोलाई बनायौँ भन्ने उनीहरूको कार्य हास्यास्पद जस्तो लाग्यो ।
